बिक्री नै नभएको लाजिम्पाटको ‘प्रचण्ड निवास’बारे कसरी फैलियो ‘फेक न्युज’, यस्तो छ तथ्य !

diyopost.com
दियो पोस्ट  आइतबार, मंसिर १९, २०७८ | २२:१६:५०

काठमाडौं । तत्कालिन नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टी अध्यक्ष प्रमण्डले विभिन्न स्थानमा डेरा गरेर बसेका छन् । शुरुमा नयाँ बजारमा डेरा गरेर बसेका प्रचण्डको निवासलाई लिएर चर्चा भएपनि विवाद हुने गरेको थिएन ।

तर, जब प्रचण्ड त्यहाँबाट लाजिम्पाटस्थित व्यापारी अजयराज सुमार्गीको स्वामित्व रहेको महलमा बसाइँ सरे तब विवाद शुरु भयो । सोही घरमा रहँदा प्रचण्डले आफ्नो जीवनमा दुई भयानक दुखान्त झेल्नु पर्यो । छोरा प्रकाश दाहालको दुखद निधन मात्रै भएन जीवन संगीनी सिता दाहालको स्वास्थ्य अवस्था नाजुक छ । हाल ललितपुरको खुमलटारस्थित व्यापारी शारदा अधिकारीको घरमा डेरा सरेका उनलाई अझै पनि सुमार्गीको स्वामित्व रहेको घरले विवादमा ल्याइरहेको छ ।

गत हप्ता प्रकाशित एक समाचारका कारण प्रचण्डको सचिवालयले विज्ञप्ति नै प्रकाशन गर्नु पर्यो । छोरी गंगा दाहालद्वारा प्रेसित विज्ञप्तीमा भनिएको छ,‘ घटना र विचार नामको मिडियाले अध्यक्ष कमरेड प्रचण्डको लाजिम्पाटस्थित पुरानो निवास (भाडाको घर÷डेरा)बारे गरेको गैरजिम्मेवार, कपोकल्पित र भ्रामक कुप्रचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता तथ्यहिन सामाचारको खेती गर्नु समाचारको नाममा अपराधकर्म हो । सम्बन्धित पक्षलाई गलत समाचार खण्डन गरी पत्रकारिताको नैतिकता प्रदर्शन गर्न ध्यानाकर्षण गर्दछौं ।’

देशको पूर्व प्रधानमन्त्री प्रचण्डले घर नै बेचेको विषयमा समाचार प्रकाशित भएपछि हामीले पनि थप समाचारका लागि फलोअप गर्यौँ । तर, तथ्यका पुग्नुअघि अहिले यो घर को बसेको छ भनेर बुझ्नु पर्ने हुन्छ । त्यसक्रममा हामीले खोजी गर्दा उक्त भवनमा यतिबेला अस्पताल सञ्चालन गर्ने तयारी रहेछ । डा. गिर्वानराज तिमिल्सिनासहितको समुहले श्रिद्धि अन्तर्राष्ट्रिय अस्पताल सञ्चालनमा ल्याएको रहेछ । उनी उक्त अस्पतालको संस्थापक अध्यक्ष समेत रहेछन् । उनै डाक्टर तिमिल्सिनालाई प्रश्न गर्यौँ,‘यो घरको भाडा कसलाई तिर्नुहुन्छ ?’

तिमिल्सिनाले ‘प्रकाशित फेक न्युज’ले आफूलाई अनावश्यक तनाव दिएको भन्दै विवरण नै सुनाए । उनका अनुसार अस्पताल सञ्चालकहरुले घर भाडा अजय सुमार्गीलाई नै बुझाउने गरेका छन् । उनीहरुबीच अस्पताल सञ्चालनका लागि १० वर्षे सम्झौता समेत भएको छ । १० वर्षसम्म आफूहरुले भाडा तिर्नु पर्ने उनले बताए ।

उनै तिमिल्सिनाले बताए अनुसार सम्झौता भने अजय सुमार्गीकी जेठी सासु अर्थात अजयकी श्रीमती सम्झना अर्याल (अस्मिता सुमार्गी)की ठूलोबुवाकी छोरी शिशु अर्यालसँग भएको छ ।

‘हामीले जसलाई भाडा बुझाउँछौँ घर उहाँकै हो । प्रचण्डले बंगला बेच्यो भनेर समाचार आयो । यो समाचार झूटो हो,’ तिमिल्सिनाले दियोपोस्टसँग भने,‘के हामीले सम्झौता गरेर अस्पताल सञ्चालन गर्न नपाउने हो र ?’

उनका अनुसार उक्त समाचार प्रचण्डको बद्नामी गर्न प्रकाशित भएको हो । ‘त्यो समाचार प्रचण्डको बद्नामी गर्न मात्रै प्रकाशित भएको हो भन्ने मलाई लाग्छ । समाचार चाहीँ विल्कुल भ्रामक हो,’ उनले भने ।

कसले फैल्यायो समाचार ?

समाचार प्रकाशन गर्ने उक्त अनलाइनका प्रधानसम्पादक हुन्,–‘देव प्रकाश त्रिपाठी’ । उनी नेपालमा हिन्दु राष्ट्र स्थापना र राजतन्त्र पुनस्थापना गर्ने अभियानमा छन् । उनी पत्रकारीतासँगै राजनीतिसमेत गर्दै आएका छन् । उनी आफै अध्यक्ष रहेर केही महिनाअघि एक राजनीतिक दलसमेत खोलेका छन् ।

उनले खोलेको नयाँ दल एकीकृत शक्ती नेपाल मुल एजेन्डा नै राजसंस्था र हिन्दुराष्ट्रको वकालत गर्ने उद्देश्य राखेको छ । सञ्चार क्षेत्रका विज्ञहरुका अनुसार एउटा दलको अध्यक्ष भएको व्यक्ति अनलाइनको समेत प्रधानसम्पादक बसेर अर्को दल विरुद्ध तथानाम गाली लेख्नु ‘पत्रकारीता होइन, गालीकारिता’ हो ।

सम्बन्धित खबर