‘आइजी’बन्न पोखरेलको ‘दौड’ : ‘बाबा’ मार्फत ‘रअ’ भेट्न भारत, देउवा भेट्न रामहरीको फेरो !

diyopost.com
दियो पोस्ट  सोमबार, पौष १२, २०७८ | २०:४४:११

काठमाडौं । प्रहरीको ‘चेनअफ’ कमाण्ड नै भत्काएर तत्कालिन प्रधानमन्त्री केपी ओलीको निगाहमा एआइजीमा बढुवा भएका विवादास्पद एआइजी विश्वराज पोखरेलले प्रहरी प्रमुख बन्नका लागि अस्वस्थ प्रतिष्पर्धामा उत्रिएको खुलेको छ ।

उनले आइजी बन्नकै लागि भारतीय खुफिया संस्था ‘रअ’, भारतका विवादास्पद धर्मगुरुदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासम्मको शरणमा पुगेको उच्च स्रोतले जनाएको छ ।

पोखरेल पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाको ‘किचेन’मा पुग्ने कोशिसमा छन् । गृहजिल्ला ओखलढुंगाका विवादित नेता रामहरी खतिवडाको आडमा उनले देउवासम्म पुग्ने प्रयास गरेका छन् ।

कुनै समय तारे होटलको क्लबमा घडी चोरेको अभियोगमा विवादित बनेका खतिवडाले पोखरेललाई बोकेर गृहमन्त्रीसम्म पुर्याएको स्रोतको दाबी छ ।
तत्कालिन एमाले सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्ना नातेदार समेत रहेका एआइजी पोखरेललाई निर्वाचनको बेला आफ्नो पक्षमा प्रहरी संगठन दुरुपयोग गर्नकै लागि गैरकानुनी हिसाबले बढुवा गरेको थियो ।

हाल प्रहरी महानिरिक्षक रहेका शैलेश थापाका ब्याचीहरु एसएसपीमै रहँदा पोखरेललाई २०७७ मंसिरमा एआइजीमा बढुवा गर्ने विवादास्पद निर्णय भएको थियो ।
ओली सरकारले अवैध रुपमा प्रतिनिधि सभा विघटन गरि घोषणा गरेको निर्वाचनका लागि एमाले अनुकुल प्रहरी नेतृत्व बनाउन पोखरेललाई गैरकानुनी हिसाबले बढुवा गरेको थियो । उनी डिआइजी रहँदा प्रहरी महानिरिक्षक शैलेश थापाकै ब्याचीहरु गणेश ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, किशोर दाहाल, राजेन्द्र चौधरी, नवराज भट्ट, रामकृपाल शाह, उमेश रञ्जितकार, वीरेन्द्र बस्याल, सौरभ राणा एसएसपी नै थिए ।

आगामी वैशाख अन्तिममा प्रहरी महानिरिक्षक थापाले अनिवार्य अवकास पाउँदैछन् । उनको अवकासपछि प्रहरी महानिरिक्षक बन्नका लागि पोखरेल र अर्का एआइजी सहकुल थापाबीच तिब्र प्रतिष्पर्धा छ । थापा र पोखरेल दुवै ओली सरकारको सिफारिसमा एक्लाएक्लै बढुवा भएका हुन् ।

आइजी नियुक्तीको प्रतिष्पर्धा चलिरहेको बेला पोखरेल मंसिर दोस्रो साता रहस्यमयी रुपमा भारत भ्रमणमा गएका थिए । ओलीको गृह जिल्ला झापा हुँदै भारतको बागतारा विमानस्थलबाट उनी हैदराबादमा पुगेका थिए । त्यहाँ उनले आफूलाई प्रहरी प्रमुख बनाइदिन विभिन्न शक्ति केन्द्र सामु याचना गरेको स्रोतले बतायो । पोखरेलले केही धर्मगुरु मार्फत प्रहरी प्रमुख बन्न चलखेलमा लागेको उच्च स्रोतको दाबी छ ।

पोखरेल महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको प्रमुख रहँदा एक भारतीय धर्म गुरुलाई शक्तिको दुरुपयोग गर्दै त्रिभुवन विमानस्थलको भिआइपी कक्षमा राखेर उनी आफै लिन पुगेका थिए । ती बाबाहरु मार्फत उनले भारतीय संस्थापन पक्ष र खुफिया एजेन्सीसम्मको शरणमा पुगेको उच्च स्रोतले दियोपोस्टलाई बतायो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रहरी भित्र खटाएको पात्रको रुपमा हेरिएका पोखरेलको बढुवामा जबराको समेत हस्तक्षेप रहेको थियो । एसएसपीबाट डिआइजी र एआइजीसम्म एकल बढुवामा जबराले समेत सहयोग गर्दै आएका थिए । त्यसो त सत्ता र शक्तिको पुजा गर्न माहिर खेलाडीको रुपमा चिनिएका पोखरेललाई कुनै समय देउवा सरकारले नै काठमाडौं प्रहरी प्रमुख बनाएर खटाएको थियो ।

सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ पर्ने सुचीमा रहेका पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवाललाई पक्राउ गर्नकै लागि भनेर काठमाडौं आएका पोखरेल अन्ततः त्यही मुद्दामा एमालेसँग बार्गेनिङमा लागेको खुलेको थियो । सिलवाललाई पक्राउ गर्नुको सट्टा उन्मुक्ति दिएपछि एमाले नेताहरुसँग उनको हिमचिम अझै गहिरिएको थियो ।

‘पोखरेलले त्यही मुद्दा (नवराज सिलवाल) बाट एमालेसँग मित्रता प्रगाढ बनाउँदै लानु भयो । काभ्रेमा एक जना डिआइजीका निधन भयो । पीडित परिवार शोकमै रहँदा उनको डिआइजीमा पोखरेललाई बढुवा गरियो । मानवबीय संवेदना समेत देखिएन,’ गृहमन्त्रालय उच्च स्रोतले दियोपोस्टसँग भन्यो,‘तत्कालिन उपप्रधानमन्त्री ईश्वर पोखरेलले मन्त्रिपरिषदबाट नयाँ दरबन्दै नै सृजना गरेर विश्वराजलाई फेरी टपक्कै टिपेर एआइजी बनाइयो । यसले प्रहरीभित्र चेनअफ कमाण्ड ध्वस्त भयो । ओली सरकारले गरेको यस्तो गलत काम सच्याउने दायीत्व वर्तमान सरकारलाई छ ।’

त्यसो त पोखरेलले एमाले नेताहरुसँग विशेष सम्बन्ध बनाएका छन् । दाजु नातापर्ने ईश्वर पोखरेल मार्फत उनी अहिले पनि केपी ओलीसँग नियमित सम्पर्कमा छन् ।
तत्कालिन प्रधानमन्त्री ओली २०७६ भदौमा मृगौलाको उपचारका लागि सिंगापुरमा पुगेको बेला पोखरेल समेत ओलीलाई भेट्न रहस्यमयी ढंगबाट सिंगापुर पुगेका थिए ।

सँगैका ब्याचीहरु अमेरिकाबाट तालिम सम्पन्न गरि स्वदेश फर्कदा उनी भने सिंगापुर हानिएर ओलीलाई भटेका थिए । यसले उनी र ओलीबीचको सम्बन्ध कति प्रगाढ छ भन्ने दर्शाउँछ ।

सम्बन्धित खबर