काठमाडौं । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले हलिउड फिल्ममा डेब्यू गर्न लागेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सिद्दीकी अमेरिकी फिल्म लक्ष्मण लोपेजमा देखिने भएका छन् । रोबर्टो जिराल्टले निर्देशन गर्ने यो फिल्ममा सिद्दीकी मुख्य भूमिकामा रहेका छन् । सिद्दीकीले आफूलाई मुख्य भूमिकाको लागि प्रस्ताव नआएसम्म विदेशी फिल्ममा काम नगर्ने वाचा गरेको बताएका थिए। आफ्नो करियरको बारेमा कुरा गर्दै, सिद्दीकीले भारतीय सञ्चार माध्यमसँगको एक अन्तर्वार्तामा उक्त कुराको खुलासा गरेका हुन् । उनले चाहे जतिसुकै पैसा किन नहोस् तर, सानो भूमिका काम नगर्ने बताएका थिए ।
करियरको बारेमा कुरा गर्दै सिद्दिकीले अन्तर्वातामा भनेका छन्, ‘अब तपाइले मलाई २५ करोड भारतीय रुपैयाँ दिनुभयो भने पनि म सानो भूमिकामा काम गर्दिन । यो उद्योगमा मेरो करियरमा मैले धेरै फिल्ममा काम गरेको छु । मैले स–साना भूमिकामा पनि काम गरेको छु । तर, अब जती नै पैसा दिए पनि म सानो भूमिका गर्दिन ।’