काठमाडौं । युक्रेनमाथि आक्रमण गरेको १० महिना भन्दा लामो समयपछि रूसले पहिलो पटक युद्ध विरामको घोषणा गरेको छ । अर्थोडक्स ईसाइहरुको क्रिसमस पर्वको अवसर पारेर रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले शुक्रबारदेखि लागू हुने गरी ३६ घण्टाका लागि क्षणिक युद्धविरामको घोषणा गरेका छन्।स्थानीय समय अनुसार शुक्रबार मध्याह्नदेखि सुरू हुने युद्धविराम ३६ घण्टासम्म रहनेछ। अर्थोडक्स ईसाइ र यहुदीहरुले जनवरी ७ मा क्रिसमस पर्व मनाउने भएका छन्। रूसी ‘अर्थोडक्स’ गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपिल अनुसार पुटिनले आफ्ना सेनालाई युद्धविराम गर्न आदेश दिएका हुन्।
युक्रेनलाई पनि सोही अनुरूप कदम चाल्न पुटिनले आग्रह गरे पनि किएभले अस्वीकार गरेको छ।
रूसले आफ्ना सैनिकलाई ब्यवस्थित गरी अगाडि बढाउन समय खोजेको भन्दै रूसी युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ।