युक्रेनलाई ३१ वटा शक्तिशाली युद्ध ट्यांक पठाउने अमेरिकाको निर्णय

दियो पोस्ट  

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप ३१ वटा शक्तिशाली युद्ध ट्याङ्क पठाउने निर्णय गरेको छ। जर्मनी र केही युरोपेली देशले अत्याधुनिक लियोपार्ड–२ नामक लडाकु ट्यांक पठाउने घोषणा गरेको केही समयपछिनै अमेरिकाले पनि एम वन अब्राम ट्यांक पठाउने निर्णय गरेको बिबिसीले जनाएको छ।

रूसी आक्रमण विरूद्ध लड्नलाई पठाउने ट्यांक जर्मनीसँग सहकार्य गरेर परिचालन गरिने अमेरिकी अधिकारीले स्पष्ट पारेका छन्।

यसअघि जर्मनीले १४ वटा लियोपार्ड–२ ट्यांक पठाउने निर्णय गरेको थियो ।

युक्रेनले महिनौंदेखि सैन्य उपकरण पठाउन पश्चिमी सहयोगीहरूलाई लबिङ गर्दै आएको छ। रूसले युक्रेनमा आक्रमण थालेको आउँदो महिना एक वर्ष पुग्दैछ। एक वर्ष पुगेको मौकामा ठूलो बदला लिन युक्रेनले शक्ति सञ्चय गर्नुका साथै ठूलो विदेशी सहयोग चाहेको छ ।

युक्रेनकै योजना अनुसार युरोपेली देश र अमेरिकाले पनि अत्याधुनिक ट्यांक पठाउने निर्णय गरेका हुन्। आउँदो वसन्त याममा युक्रेनले रुसी सेनालाई आफ्नो देशबाट फिर्ता पठाउने लक्ष्यका साथ विभिन्न योजना बनाएको छ ।