उत्तर प्रदेश । उमेरले ९२ वर्ष । यो उमेरमा हिडडुल गर्न, खान बस्नसमेत अरुको सहारा चाहिन्छ । तर भारतको उत्तर–प्रदेशको बुलन्द शहरस्थित ९२ वर्षीया हजुरआमा स–साना बालबालिकासँगै विद्यालय पढ्न जान्छिन् । बाल्यकालमा इच्छा भएर पनि पढ्न नपाएकी उनलाई अहिले उमेरले छेकेन । विगत दुई वर्षदेखि बुलन्दशहरको चावली प्राइमरी स्कुलमा अध्ययन गर्दै आएकी छन् । स्थानीय र विद्यालयका विद्यार्थीबीच ‘अम्मा’ भनेर चिनिने ति बृद्धा हुन्, सलिमा खान । उनी आफ्नी ३५ वर्षीया पनातीकी श्रीमती अर्थात् पनातिनी बुहारी फिर्दौससँगै हरेक दिन स्कुल आउने जाने गर्छिन् । हजुर आमासँगै उनका दुई बुहारी पनि स्कुलमा पढ्न आउने गर्छन् । सलिमा विद्यालय जान थालेपछि अहिले पढ्न र लेख्नसमेत जानेकी छन् ।
पढाई र सिकाईप्रतिको उनको उत्साह र तिव्र चहानाले त्यहाँका युवती र विवाहित महिलालाई समेत प्रेरित गरेको छ । सामाजिक सञ्जालमा “हजुर आमाको स्कुल यात्राको कथा” भाइरल बनेसँगै उत्तर प्रदेशका अधिकांश महिलाहरु विद्यालय भर्ना हुन थालेका छन् ।
आफुलाई सुरुमा विद्यालयको निशुःल्क खानाले आकर्षित गरेको बताउँदै दि गार्जियनसँग ९२ वर्षीया हजुर आमाले भनेकी छन्,‘म स्कुल आउन थालेको दुई वर्ष पूरा भयो । धेरै–थोक त मैले पढिसके ।’
सानो छदाँ हजुरआमा शिक्षाको अवसर पाइनन् । १४ वर्षको उमेरमा उनको बिहे भइसकेको थियो । जुन बेला भारत बेलायतको उपनिवेशबाट मुक्त भएको थियो । यद्यपी खेती–किसानी र आफ्ना चार सन्तानहरु हुर्काउदैमा उनको जीवन बित्यो ।
‘उबेलामा धेरै स्कुलहरु थिएनन् । मेरा सन्तानहरुले पनि सामान्य शिक्षा पाए । तर मेरा नातिहरु स्कुल गएको देख्दा आफुलाई पनि स्कुल जाने र सिक्ने रहर जागेर आयो र स्कुल जान थाल’, उनी सुनाउछिन, ‘शिक्षकहरुले सबैथोक सिकाइदिनु भएको छ । उहाँहरुले मेरो पनि परिक्षा लिने भन्नु भएको छ । अहिले मलाई पढ्न र अलिलि लेख्न पनि आउँछ ।’
९२ वर्षीया हजुर आमाका नाति नभिनु र खानले आफ्नी ११ वर्षीया छोरी र आफ्नी हजुर आमालाई हरेक बिहान विद्यालय पुर्याउछन् । ‘बढ्दो उमेरले हुन सक्छ, अचेल उहाँलाई सुन्न र देख्नमा कमजोर हुदै जानु भएको छ’ खान सुनाउछन्, ‘तर पनि स्कुल जान छोड्नु भएको छैन । उहाँ स्कुल गएको देखेर हाम्रो समुदायका धेरै महिलाहरु उहाँसँगै स्कुल आउन ेजाने गर्छन् । हजुर आमाको सिक्ने इच्छा देख्दा खसुसी लाग्छ ।’
चावली प्राइमरी विद्यालयकी प्रधानाध्यापक प्रतिभा शर्मा हजुरआमाको उदाहरणले आफ्नो क्षेत्रमा साक्षरता दर बढ्नमा सहयोग पुग्ने विश्वास गर्छिन् । प्रधानाध्यापक शर्माले नै ति हजुरआमालाई विद्यालयमा भर्ना हुन प्रोत्साहित गरेकी थिइन् । ‘उहाँको आर्थिक अवस्था कमजोर छ । स्कुलमा निशुःल्क खाना पाक्थ्यो । सधै जसो स्कुलमा आएर के पाक्यो भनेर सोध्नु हुन्थ्यो’ प्रधानाध्यपक शर्मा भन्छिन्, ‘निशुःल्क खाना पनि पाइन्छ, पढ्न पनि पाइन्छ भनेर मैले उहाँलाई हौसला दिए । अनि उहाँ भर्ना हुनु भयो । यहाँका अन्य महिला पनि स्कुल आउन थाल्नु भएको छ ।’
ति हजुरआमाले हाल राष्ट्रिय साक्षरता परीक्षा दिएकी छन् । यदि उक्त परिक्षा उत्तीर्ण गरेमा उनले साक्षरताको प्रमाणपत्र प्राप्त गर्ने छिन् ।
गार्जियनबाट अस्मिता खड्काद्वारा अनुवाद