नयाँ ‘नेतृत्व’ र ‘नीति’ परिवर्तनको सकसमा कांग्रेसको विशेष महाधिवेशन

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँस्थित भृकटीमण्डपमा जारी छ । पार्टीभित्र दीर्घकालदेखिको नेतृत्व र नीति परिवर्तनको मागलाई मध्यनजर गर्दै बोलाइएको यो महाधिवेशनमा देशभरबाट हजारौं प्रतिनिधि-कार्यकर्ताहरू सहभागी भएका छन्।

पार्टी महामन्त्री गगन थापाले महाधिवेशनको महत्वमाथि प्रकाश पार्दै भनेका छन्, ‘यो केवल शक्ति संघर्षको मञ्च होइन, पार्टीलाई नयाँ दिशामा अगाडि बढाउने अवसर हो।’ थापाले प्रतिनिधिहरूको निर्णय अनुसार नेतृत्व परिवर्तन वा नीति संशोधनमा सहमत हुने संकेत पनि दिएका छन्।

महामन्त्री थापाले नेतृत्व परिवर्तन बिना नेपाली कांग्रेस चुनाबमा जान नसकिने अडान लिदै आएका थिए । तर, पार्टी सभापति शेरबहादुर देउवा लगायत तथा संस्थापन पक्ष भने नियमित महाधिवेशन हुनु पर्ने बताउँदै आएका छन् ।

पार्टी सभापति देउवा समूहले महाधिवेशनको वैधता र नेतृत्व परिवर्तनको मागप्रति विरोध जनाएका छन्। देउवा र उनका समर्थकहरूले उद्घाटन सत्रमा भाग लिएनन् । उनीहरुले पार्टी फुट्ने जोखिमसमेत देखिएको चेतावनी दिएका छन्।

विशेष महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूको विचार भने मिश्रित देखिएको छ। केहीले नेतृत्व परिवर्तनको माग गर्दै युवा पुस्तालाई अघि ल्याउने आवाज उठाएका छन् भने, अर्का केहीले महाधिवेशनलाई नीति सुधार र पार्टी संरचनामा सुधारको प्लेटफर्मका रूपमा प्रयोग गर्नुपर्ने बताएका छन्।

विशेष महाधिवेशनको निर्णयले तत्काल नेपाली कांग्रेसको नेतृत्वमा असर पार्ने सम्भावना छ। तर, पार्टीभित्रको संस्थापन पक्ष र नयाँ प्यानलबीचको सहमति नहुँदासम्म निर्णय पूर्ण रूपमा निश्चित हुने अवस्था छैन। विश्लेषकका अनुसार, विशेष महाधिवेशनपछि पार्टीले आगामी १५औँ नियमित महाधिवेशनतर्फ केन्द्रित हुने देखिन्छ।

पार्टीभित्रको एकता, नीति र नेतृत्वसँग सम्बन्धित अन्तिम निर्णय महाधिवेशनका प्रतिनिधिहरूको मतदान र विधानअनुसार तय हुनेछ। यस महाधिवेशनको नतिजाले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

सिफारिस