रुषा थापा
काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ । निर्वाचनका सबै तयारी पुरा भइसकेका छन् । धमाधम निर्वाचन प्रहरी भर्ति गरिँदैछ । राजनीतिक दलहरु चुनावमा सहभागी भइसकेका छन् । योसँगै चुनाव हुन्छ भन्ने कुरा स्पष्ट भएको छ । तर, चुनावमा कुन पार्टी वा दललाई भोट दिने भनेर जनता अन्यौलमा छन् ।
त्यसो त, मतादान गर्नु हरेक नागरिकको नैसर्गिक अधिकार हो । आफूलाई मन पर्ने उम्मेदवारलाई नागरिकले मतदान गर्न पाउँछन् । तर, संविधानप्रदत्त यो अधिकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरुले खोस्न खोजेका छन् । रास्वपाका कार्यकर्ताहरु बजारमा आउँदो चुनावमा आफ्नो पार्टीको ‘बहुमत’ आउने र सरकार बनाउने दाबी गर्छन् । यतिमात्र होइन, रास्वपाबाहेक अन्य दललाई भोट दिनेहरुमाथि अपशब्द, लाञ्छना लगाउँछन् ।
उनीहरुले ‘रास्वपालाई भोट दिनेलाई ‘बुद्धिजीवी’ र अन्य दललाई भोट दिनेहरु ‘दिमाग नै नभएको भेडा हुन्’ भनिरहेको सुनिन्छ । अनि त्यसविरुद्ध बोल्नेलाई सार्वजनिक स्थलमा हातपात गर्नबाट पनि पछि हट्दैँनन् ।
उनीहरुले जनतालाई त भड्काइरहेकै छन्, सँगै अब हाम्रै सरकार बन्छ भन्दै व्यापारीहरुसँग चन्दा मागिरहेका छन् । रास्वपामा गएका नेता, कार्यकर्ताको पुष्ठभूमि केलाउने हो भने सबै काण्डैकाण्डमा मुछिएका छन् ।
कोही जग्गा दलाली हुन् त कोही भ्रष्टाचारी पूर्व कर्मचारी । कोही चाँहि राजस्व छलेका व्यापारी, व्यवसायी हुन् । काँग्रेस, एमाले, माओवादी, नेकपा एसबाट फ्याँकिएकाहरु पनि रास्वपामा लागेका छन् । पुराना दलमा ठगेर लुटेपछि, अवसर नपाएकाहरु घण्टीबाट उम्मेदवार बनेका छन् । जसको उदाहरण हुन्, काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २, का रास्वपा उम्मेदवार बदन भण्डारी ।
उनी पहिले एमालेमा थिए । एमाले फुटेपछि नेकपा एसमा लागे । त्यहाँ अवसर पाएनन् । त्यसपछि रास्वपामा लागे । तैपनि रास्वपा स्थापनाको झण्डै ६ महिनापछि । यो त एउटै उदाहरण हो । रास्वपाबाट समानुपातिक वा प्रत्यक्ष उम्मेदवार बनेका प्रायको पुष्ठभूमि केलाउने हो भने सबै विवादैविवादमा मुछिएका छन् । सबै पार्टीबाट फ्याँकिएकाहरु रास्वपामा छिरेका छन् ।
त्यसो त, रास्वपा सभापति रवि लामिछाने आफैं काण्डैकाण्डमा मुछिएका छन् । उनीमाथि अमेरिकामा दर्जनौं मुद्दा छन् । नेपालमा पनि पाँच वटा सहकारी ठगीको मुद्दा विचाराधीन छ । त्यसबाहेक नागरिकता काण्ड, पासपोर्ट काण्ड, सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्धामा उनी पटक पटक थुनामा रहेर धरौटीमा रिहा हुँदै आएका पात्र हुन् ।
यता, रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)माथि जेनजी आन्दोलनको नाममा सिंहदरबार खरानी बनाएको आरोप छ । किनकि उनले सार्वजनिक बिदाका दिन आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले दुई मिनेट रोक्न खोज्दा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए । यतिमात्र होइन, जेनजी आन्दोलनमा बालेन र रवि दुवैले समर्थन जनाएका थिए ।
उनीहरुकै कारण झण्डै ८० जना युवाले ज्यान गुमाए । खर्बौैको सरकारी र निजी सम्पत्तिको क्षति भएको छ । अनि आफ्नो स्वार्थका निम्ति यत्रो जनधनको क्षति गराउने रवि–बालेनलाई जनताले भोट दिने कि कठघरामा उभ्याउने ? तर, सुशासनको निम्ति बनेको सुशीला कार्की नेतृत्वको सरकारले सहकारी ठगीमा जेल जीवन काटिरहेका रविलाई छोड्न निर्देशन दिएपछि अदालतले छोडिदियो ।
यतिमात्र होइन, महान्यायाधिवक्ताको कार्यालयले रविमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । रविका कारण पीडित बन्ने लाखौं जनता छन् । साग बेचेर, अरुको घरमा भाडा माझेर, व्यापार व्यवसाय गरेर दुःख, सुखमा काम लाग्छ भनेर सहकारीमा पैसा राखेकाहरु रविकै कारण आज मर्नुपर्ने अवस्थामा पुगेका छन् ।
केहीले त आत्महत्या गरिसकेका छन् । अनि जनतालाई मर्न बाध्य बनाउने रविलाई भोट दिने कि बहिष्कार गर्ने ? जनताकै हातमा छ । पदमा नपुग्दै त रविले यत्रो गरिसके, पदमा पुगेपछि के के गर्छन् होला ? त्यसैले, बेलैमा सोचौं ।
पुराना दलहरु ठिक भएनन् । उनीहरुले सत्तामा पुगेर आफ्नो स्वार्थ मात्र पूरा गरे । तर, नयाँ भनिनेहरु त्योभन्दा खतरनाक छन् ।
सत्तामा पुगे भने उनीहरुले देशै विदेशीलाई बेच्न बेर लगाउँदैनन् । त्यसकारण जनताले चुनावमा सही व्यक्ति र पार्टीलाई छानौं । भाषण गर्ने होइन, देश र जनताका निम्ति ज्यानसमेत दिन सक्ने व्यक्तिलाई चुनौं । नभए, मुलुकले ठूलो संकट खेप्नुपर्ने छ । पुराना दलमाथिको आक्रोश नयाँ भनिनेहरुलाई भोट हालेर होइन, सही उम्मद्वारलाई छानेर पोखौँ ।
पुराना दलहरुले केही नगरेको फाइदा उठाउँदै नयाँ भनिनेहरुले जेनजीका नाममा भदौ २३ र २४ गते आन्दोलन गर्न लगाए ।
कलिला युवा उनीहरुकै कारण मर्न पुगे । सार्वजिनक सम्पत्ति खरानी बन्दा मुलुक सयौं वर्ष पछि धकेलिएको छ । नयाँ भनिनेहरु सत्तामा आएपनि केही हुने छैन । किनकि उनीहरु पनि पदमा पुगेपछि आफ्नै रोटी सेक्नेतिर लाग्नेछन् । अनि जनताका छोराछोरीले फेरि आन्दोलन गर्ने ? फेरि देश जल्नुपर्ने ? पटकपटक जनता र देशले क्षति खेप्न सक्ने छैन । त्यसैले, पदमा असल, इमानदार र देश, जनताका निम्ति काम गर्नसक्ने सक्षम व्यक्तिलाई पठाऔं ।
बालेनले काठमाडौं महानगरपालिकाको मेयर रहँदा महानगरमा आफ्नो लागि छुट्टै करोडौंको लिफ्ट बनाउने आरोप पनि उनीमाथि छ । रवि गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थीको फाइल दबाउन करोडौं घुस खाएको आरोप छ ।
एसएसपी बढुवामा पनि उनले राम्रालाई पन्छाएर आफ्नालाई बढुवा गरेको आरोप छ । पदमा रहँदा ठूला फाइल खोल्छु भनेर जनतालाई भ्रमित बनाएर रवि आफ्नै कर्तुत लुकाउन व्यस्त भए । अनि यस्ता व्यक्तिहरुलाई भोट दिएमा मुलुक र जनताले धेरै नै क्षति भोग्नुपर्ने छ । जेनजी आन्दोलनमा त उनीहरुले मुलुकको इतिहास र नेपालीजनको सिंहदरबारसहितका संरचना खरानी बनाइदिए ।
सत्तामा पुगेपछि देशै बेच्दैनन् ? भन्ने के ग्यारेण्टी छ । अर्कोतर्फ, रवि, बालेन, सुधन गुरुङहरु पश्चिमी शक्तिबाट परिचालित भएको पनि आरोप छ । अमेरिकाले भेनेजुएला कसरी कब्जा गर्यो ? हामी सबैले देखेका छौं । भोलि यिनीहरु सत्तामा पुगेपछि नेपाल पनि त्यसरी नै कब्जा हुँदैन भन्न सकिँदैन । त्यसकारण जनताले फागुन २१ गते मतदान गर्दा निकै सोचविचार गर्नुपर्ने छ ।
हाम्रो एक भोटले पनि गलत व्यक्ति सत्तामा पुग्न सक्छन् । यसैले, चर्चित अनुहारलाई होइन, सही व्यक्तिलाई जिताऔं । देशको माया भएका र रास्वपालाई बुझेकाहरु अहिले नै भन्छन्, ‘हामी घण्टीमा भोट दिन्नौं ।’