फिलिपिन्सको हिरासतमा रहेका प्रकाश पाठकको धम्कीपूर्ण पत्र : ‘उग्र वामपन्थी पार्टी बनाउँछौँ’

दियोपोस्ट संवाददाता  

काठमाडौं । कथित उग्रवादी संगठन (ईजिएन)को नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईसहित १० जना व्यक्तिको हत्या गर्ने धम्की दिने प्रकाशक पाठकले पुन अर्को धम्की दिएका छन् । फिलिपिन्सको ब्युरो अफ ईमिग्रेसन (बिआई)को हिरासतमा रहेका उनले पत्र मार्फत आफ्नो अभियान नरोकीने र वामपन्थी राजनीतिक अभियान जारी राख्ने धम्की दिएका हुन् ।

पत्रमा पाठकले आफू पक्राउ परे पनि आफ्नो अभियानमा कुनै असर नपर्ने दाबी गरेका छन्। उनले पत्रमार्फत इजिएनलाई ‘शक्तिशाली उग्र वामपन्थी पार्टी’ बनाउने र त्यसका लागि हदैसम्मको आक्रमण गर्ने उल्लेख गरेका छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै पाठकले आफुहरुले अघि सारेका व्यक्तिलाई प्रधानमन्त्री नबनाए कुनै पनि हालतमा निर्वाचन हुन नदिने चेतावनी समेत दिएका छन् । पाठकले भनेका छन्, ‘दुर्गा प्रसाई, कल्याण श्रेष्ठ वा अन्य सक्षम व्यक्तित्वलाई नयाँ प्र.म.को रुपमा अगाडी सारी, प्रत्यक्ष निवाचित कार्यकारी प्र.म. र पूर्ण समानुपतिक सांसदहरुको निर्वाचन गराउने सर्त सहित आन्दोलन चर्काउने र चुनाव हुन नदिने रणनीति गरिने छ ।’

उनलाई एक महिना अघि फिलिपिन्सको ब्युरो अफ ईमिग्रेसशनले पक्राउ गरेको थियो । उनलाई लिनका लागि नेपाल प्रहरीको एसपीको नेतृत्वमा एउटा टोली फिलिपिन्स जाने तयारी भएको विषय समेत सार्वजनिक भएको थियो । तर, उनलाई हालसम्म पनि प्रहरीले ल्याउन नसकेको तथ्यले देखाउँछ ।

सिफारिस