पोखराको फोहोर पृथ्वीचोकको शान्ति वनमा खोल्डो खनेर गाडिदै, मानव स्वास्थ्यमाथि खेलबाड

दियोपोस्ट संवाददाता  

काठमाडौं । पोखरा महानगरपालिकाले शहरबाट फोहोर उठाएर शहरकै वडा नम्बर ९ पृथ्वीचोक नजिकै शान्ति वन बाटिकामा खाल्डो खनेर गाड्न थालिएको छ । आइतबार साँझदेखि महानगरले धमाधम फोहोर उठाएर शान्तिवन पुर्याएको हो ।

दियोपोस्टलाई स्रोतले उपलब्ध गराएको तस्विरमा महानगरले फाहोर उठाएर ट्रकमा राख्दै शान्ति बनमा पुगेको देखिन्छ । त्यहाँ नगरप्रहरी परिचालन गरेर रातारात खाल्डो तयार पारी पुर्न थालिएको हो । फोहोर मैला व्यवस्थापन सम्बन्धी ऐन अनुसार कुनैपनि स्थानमा फोहोर राख्नुअघि वातावरणीय प्रभाव मुल्यांकन (आईई) गर्नुपर्ने हुन्छ । तर, महानगरले तत्कालिन व्यवस्थापनको नाममा मुल्यांकन नै नगरी फोहोर त्यहाँ गाढ्न थालेको हो ।

फाेहाेर ल्याएर डम्पिंग साइट बनाइएकाे स्थलकाे सुरक्षा गर्दै नगर प्रहरी

पृथ्वीचोक बजारमै फोहोर गाड्दा मिथन लगायतको ग्याँस निस्कने र त्यस्तो ग्याँसबाट मानवस्वास्थ्यमा गम्भिर असर पर्ने हुन्छ । हाल ल्याण्डफिल साइट बनाइएको वडा नम्बर ३२ स्थित लामेआहालमा पनि वातावरणीय प्रभाव मुल्यांकन बिना नै उपभोक्ता समितिलाई फोहोर गाँड्ने जिम्मा दिएका थिए । यो फोहोर व्यवस्थापनको नाममा महानगरभित्र चरम आर्थिक अनियमितता समेत देखिएको छ ।

पोखरा महानगरपालिकाका सुरक्षा बलका प्रमुख पुरुषोत्तम थापाले शान्ति वनमा फोहोर गाडिएको विषयमा आफूलाई थाहा नभएको बताए । तर, फोहोर गाड्ने क्रियाकलापमा नगर प्रहरी नै सामेल छन् । ‘यो विषयमा मलाई थाहा छैन । सरसफाई शाखालाई बुझ्नुहोला,’ उनले भने ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । हाल पोखरा ३३ झाँक्रीखोलामा फोहोर प्रशोधन केन्द्र निर्माणमा समेत व्यापक अनियमितता भएको विषय सार्वजनिक भएको थियो ।

सिफारिस