कास्की । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडा नम्बर ९ पृथ्वीचोकस्थित शान्ति वन वाटिकामा रातमा फोहोर पुरेको भिडियो खिचेर संचार माध्यमलाई दिएको भन्दै नगर प्रहरीका जवानलाई यातना दिएका छन् ।
मेयर आचार्य र नगरप्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले नगरप्रहरी कर्मचारीलाई बोलाएर भिडियो खिचेर किन मिडियामा दिएको अब तिमीहरुलाई अनुसन्धानका लागि प्रहरीमा पठाउँछु भन्दै धम्की दिएको महानगरकै एक कर्मचारीले बताए ।
महानगरपालिकाका मेयर धनराज आचार्यले वातावरणीय प्रभाव मुल्यांकन समेत नगराई गैरकानुनी रुपमा पृथ्वीचोकस्थित शान्तिबाटिका सामुदायिक वनको जग्गामा फोहोर लगेर पुर्न लगाएका थिए । महानगरका मेयर आचार्यले जिल्ला वन कार्यालयलाई भने आफूहरुले नगर विकास समितिको जग्गामा फोहोर पुरेको भन्दै झूक्याएका छन् । नगरप्रहरीले केहीदिनअघि रातमा शान्ति वन बाटिकाको वन क्षेत्र भित्र गहिरो खाल्डो खनेर माटो भने सेती नदिमा बगाइदिएका थिए । स्थानियबासीले रातको समयमा खिचेर पठाएको भिडियोलाई नगर प्रहरीले खिचेको हुनसक्ने आशंकामा मेयर आचार्यले यातना दिएका हुन् । सोमबार दिउँसो नगरपालिकामा बोलाएर ‘मेयर सापले भिडियो खिचेकोमा जागिर समेत खाइदिने भन्नु भएको छ,’ महानगर प्रहरी प्रमुख थापाको भनाई उदृत गर्दै ती पीडित कर्मचारीले भने,‘हाम्रो मोबाइल समेत नियन्त्रणमा लिएर साइबर अनुसन्धान गर्नेसम्मको धम्की दिएको छ । मैले नगरेको गल्तीको सजाय महानगरपालिकाले मलाई दिन खोजिरहेको छ ।’