‘फेक रेस्क्यु’ धन्दा : सिम्रिक एयरद्वारा एउटै उद्दारमा १ करोड २२ लाख असुली, सीआइबीलाई चुनौती !

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल भ्रमणमा आउने पदयात्री पर्यटक विरामी हुँदा गरिने उद्दारमा भइरहेको ठगीधन्दाबारे प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सीआइबीले अपरेशन थालेको छ । यो धन्दामा शक्तिशाली समुह सामेल छ । सीआइबीले आइतबार विचौलिया कम्पनिका ६ जना व्यक्तिहरुलाई पक्राउ गरेपनि ठूला गिरोहका सदस्यलाई भने पक्राउ गर्न सकेको छैन ।

पर्यटक उद्दारमा हुने ठगी धन्दामा चर्चित मिडिया उद्यमी, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष, सिम्रिक एअरलाइन्सका अध्यक्ष रामेश्वर थापाको समेत संलग्नता रहेको कागजात भेटिएको छ ।
थापाको स्वामित्वमा रहेको सिम्रिक एयरको हेलिकोप्टरले २ जना पर्यटक उद्दार गर्दा १ करोड २२ लाख भन्दा बढी बिमा दाबी गरेको बिल दियोपोस्टले फेला पारेको छ । उक्त बिलमा जनाइए अनुसार अन्य १८ जना नेपालीको उद्दार रकम समेत विदेशीबाट भराइएको छ । जसमा एक लाख ८ हजार अमेरिकी डलर दाबी गरिएको छ ।


सन् २०१६ मे १६ मा जारी भएको उक्त बिलमा दुई पर्यटकलाई लङलाइन रेस्क्यु गर्न दुई वटा हेलिकोप्टर प्रयोग गरिएको भन्दै चर्को शुल्क बिमा दाबी गरिएको बिल दियोपोस्टले फेला पारेको हो ।
मुस्ताङ र मनाङको सिमानामा पर्ने सरिबुङ हिमाल अरोहण गर्न गएका दुई जर्मनी नागरिक हिमाल अरोहण गरेर दक्षिणी आधार शिविरमा फर्कने क्रममा हावाहुरी आएपछि हराएका थिए । त्यतिबेला काठमाडौंबाट उडेको सिम्रिक एयरको हेलिकोप्टरले लङ रेन्जको रेस्क्यु गरेको दाबी गरेको थियो । तर, यसरी गरिएको रेस्क्युमा सिम्रिकले एउटै रेस्क्यु बराबर १ करोड २२ लाख रुपैयाँ दाबी गर्नु अस्वभाविक रहेको यही क्षेत्रका विज्ञहरु बताउँछन् ।

तत्कालिन पर्यटन मन्त्रालयका सहसचिव तथा हाल अर्थसचिव घनश्याम उपाध्यायको नेतृत्वमो गठित उच्चस्तरिय छानबीन समितिले पनि थापाको स्वामित्व रहेको सिम्रिक एयरलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो । तर, शक्तिको आडमा हालसम्म पनि कारबाही भएको छैन । हालै सीआइबीले छानबीन थालेपछि ठूला गिरोहका सदस्यसम्म अनुसन्धान पुग्न सक्ने अनुमान छ ।
आइतबार सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले साढे दुई महिनाको लामो अनुसन्धानपछि तीनवटा कम्पनीसँग सम्बन्धित ६ जनालाई पक्राउ गरिएको जानकारी दिएका थिए । पक्राउ पर्नेहरूमा नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे तथा सञ्चालक एवं प्रबन्धक सुभाष केसी रहेका छन् ।

पक्राउ परेकाहरुले उच्च हिमाली क्षेत्रमा सामान्य स्वास्थ्य समस्या जस्तै टाउको दुखाइ वा थकानलाई ‘एक्युट माउन्टेन सिकनेस’ भनेर झूटो प्रचार गरी हेलिकप्टरमार्फत फर्जी उद्धार गराउने, नक्कली उपचार बिल तथा कागजात तयार पार्ने र अन्तर्राष्ट्रिय बिमा कम्पनीबाट करोडौं रुपैयाँ ठगी गर्ने धन्दा गरिरहेको पुष्टि भइसकेको छ ।

सिफारिस