काठमाडौं । कवि तथा उद्यमी बसन्त चौधरीको स्वामित्व रहेको थापाथलीस्थित नर्भिक अस्पतालले नेपाल घुम्न आउने पदयात्री पर्यटकको फर्जी विमा दाबी र ठगीधन्दामा संलग्न रहँदै आएको छ । तर, पटक पटक यस्ता विषयहरु सार्वजनिक हुँदा पनि चौधरीमाथि कहिल्यै कारबाही भएको छैन । उनी चौधरी घरानाको व्यापारी भएको र उच्च राजनीतिक साँठगाँठ भएकै कारण उन्मुक्ति पाउँदै आएका छन् । हाल प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोमा प्रमुख परिवर्तन भई एआइजी डा. मनोज केसी आएपछि ठूला र संगठित अपराधका घटनामाथि अनुसन्धान शुरु भएको छ । आइतबार फेक रेस्क्यु र फर्जी बिमा भुक्तानीको धन्दा गरेको अभियोगमा ३ कम्पनिका ६ जना व्यापारी पक्राउ परेपछि यो प्रकरण फेरी सतहमा आएको छ । दियोपोस्टले यस विषयमा लामो समयदेखि रिपोर्टिङ गर्दै आएको छ ।
तत्कालिन पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा गठित उच्च स्तरिय समितिले नर्भिक सहितका अस्पताल र हेलिकोप्टर कम्पनिलाई समेत कारबाहीका लागि सिफारिस गरेको थियो । तर, कुनै निकायले कारबाही गरेको थिएन । हाल सीआइबीले यो मुद्दा हेर्ने भएपछि माफियाहरुमा हलचल आएको छ ।

पदयात्री पर्यटकलाई हिमाल अरोहणको क्रममा लाग्ने सामान्य हाई अल्टिच्युडको समस्यालाई माफिया व्यापारीहरुले हेलिकोप्टर मार्फत उद्दार गरी अवैध धन्दा चलाउँदै आएका छन् ।
हेलिकोप्टरबाट उद्दार गरिएका विरामी राजधानीका महँगा अस्पतालमा पुग्ने गरेका छन् । उनीहरुलाई अस्पताल पुगेपछि अस्पताल प्रशासनले पासपोर्ट समेत जफत गरेर राख्ने गरेको खुलेको थियो । नर्भिकले पनि पासपोर्ट जफत गरेर पदयात्री पर्यटकमाथि ठगीधन्दा चलाउँदै आएको छ । त्यतिमात्रै होइन विदेशी विमा कम्पनिसँग प्रत्यक्ष बिल भुक्तानीका लागि नर्भिकले दाबी गरेको विवरण खोजी गर्ने हो भने अर्बौंमा ठगीको कारोबार पोल खुल्छ ।
दियोपोस्टले मंगलबार सार्वजनिक गरेको तथ्यसहितको रिपोर्टमा नर्भिकले सरकारी ल्याबमा १ सय रुपैयाँमा हुने परिक्षणका लागि विदेशी विरामीबाट १ लाख रुपैयाँसम्म असुली गरेको छ । ५ लाख रुपैयाँसम्म हुने न्युरो ईन्प्लान्ट चार्जेजको नर्भिकले २५ लाख सम्म असुली गरेको छ ।
कालाबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अनुसार सय कडा २० प्रतिशत भन्दा बढी मुनाफा लिएको पाइए एक वर्ष कैद वा दुईलाख ५० हजार जरिवाना वा दुवै सजाय हुन्छ । तर, सयकडा २० प्रतिशत होइन ६० गुणाभन्दा बढी मुनाफा गरिरहेका नर्भिकका मालिक चौधरीमाथि भने हालसम्म कुनैपनि निकायले छानबीन समेत गर्न सकेको छैन । गत वर्ष जापानी नागरिकमाथि चार दिन अस्पताल बस्दा ४० लाख रुपैयाँ भन्दा बढीको बिल दिएर बार्गेनिङ गरेको भन्दै पीडित नै दियोपोस्टको सम्पर्कमा आएका थिए । नर्भिकले त्यहाँ उपचारमा आउने अधिकांश विदेशी नागरिकलाई यसरी नै मुर्गा बनाइरहेको छ । तर, पटक पटक यो विषय सार्वजनिक हुँदा पनि सरोकारावाला निकाय राहस्यमयी रुपमा मौन छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ सय रुपैयाँमा हुने आरएफटी परिक्षण नर्भिकले विदेशी विरामीलाई भने १७ हजार ५ सय रुपैयाँ असुल गर्छ । त्यतिमात्रै होइन अस्पतालले त्यहाँ आउने विरामीलाई विभिन्न अनावश्यक परिक्षणको शिर्षक राखेर ‘ओभरविलिङ’ गर्दै ठगी गरिरहेको छ ।
नर्भिकले नर्सिङ केयर र इन्फेक्सन कन्ट्रोलको शुल्क समेत चर्को अशुली गर्दै आएको छ । जबकी नर्भिक अस्पतालमा ईन्फेक्सन कन्ट्रोल सिस्टम नै छैन ।
कम्प्लिट ब्लड काउन्ट अर्थात सीबीसी गरेबापत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जम्मा १ सय ७५ रुपैयाँ लिन्छ । तर, त्यही परिक्षण बापत नर्भिक अस्पतालले भने ६ हजार एक सय २५ रुपैयाँ लिने गरेको छ ।
त्यस्तै जनस्वास्थ्य प्रयोगशालामा २ सय रुपैयाँमा परिक्षण हुने (एलएफटी) नर्भिकले १२ हजार १ सय २५ रुपैयाँ असुली गर्दछ । अन्य निजी अस्पतालमा समेत एबिजी परिक्षण गरेबापत १८ सय रुपैयाँ लिइन्छ । तर, नर्भिकले विदेशी नागरिकको उपचारका लागि भने सोही परिक्षणमा १८ हजार २ सय २२ रुपैयाँ दाबी गरेको छ । सामान्यतया ३ हजारमा गरिने छातीको स्क्यान नर्भिक अस्पतालले ५५ हजार ५ सय रुपैयाँ दाबी गरेको छ ।

यसअघि दियोपोस्टले तथ्यसहित रिपोर्ट प्रकाशन गरेपछि तत्कालिन केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले डिएसपी निसान्त डिएसपी निसान्त श्रीवास्तवको नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो । तर, चौधरीको दबावकैबीच त्यो अनुसन्धान तुहिएको थियो ।
‘विदेशी नागरिकहरु सामान्य विरामी भएर नर्भिक पुग्ने वित्तिकै तपाईं अभ्जरभेसनमा बस्नुपर्छ भनेर भर्ना गरिन्छ । एक दिन भर्नामात्रै गर्यो भनेपछि ५ लाख रुपैयाँ न्युनतम ठगी हुन्छ,’ एक पर्यटन व्यावसायीले दियोपोस्टसँग भने,‘तर, हामीले जति विरोध गरेपनि यो अस्पतालमाथि कसैले कारबाही गर्न सकेको छैन ।’
नर्भिक अस्पताल स्रोतका अनुसार चौधरीले विदेशी विमा कम्पनिबाट हुने करोडौँको ठगी लुकाउनका लागि दोहोरो सिस्टम समेत बनाएका छन् । ‘यहाँ सरकारलाई देखाउने हिसाब र अस्पताल भित्रै लुकाउने हिसाब फरक फरक छ,’ स्रोतले भन्यो,‘यो सबै करोडौँको विदेशी विमा ठगीको सरकारलाई कुनै राजश्व समेत तिर्ने गरिएको छैन ।’