कास्की । पोखरा महानगरपालिकाको संरक्षणमा फेवातालको ६५ मिटर मापदण्ड भित्रै माटो पुर्ने कार्य भइरहेको पाइएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित हलन्चोक सेदि हुँदै पञ्चासो जाने सडकखण्डको तल्लो तर्फको भागमा पोखरा महानगरपालिका र वडा प्रहरी कार्यालय बैदामको मिलेमतोमा तालक्षेत्र पुर्ने काम भइरहेको हो । ‘फेवातालको ६५ मिटर क्षेत्र भित्रै पर्ने यहाँ रातभर माटो पुर्ने काम भइरहेको छ । नगर प्रहरी र पामे चौकीको प्रहरीलाई खबर गर्दा कोही प्रहरी आउँदैन,’ भकुण्डे क्षेत्रका एक स्थानियले दियोपोस्टलाई तस्विर पठाउँदै भने,‘पामे स्थित प्रहरी चौकी माटो पुर्ने व्यापारीले दिएको मदिरामा विक्री भएको छ ।’
स्थानियबासीका अनुसार वडा नम्बर २४ स्थित ठूलाखेतमा रहेको फेवा सिल्ट्रेसन ड्यामबाट निकासी भएको माटो तथा नदिजन्य पदार्थबाट भकुण्डेको तल्लो भागमा माटो पुर्ने काम भइरहेको हो । पोखरा महानगरपालिकाले सो क्षेत्रलाई ताल घरको ६५ मिटरको मापदण्ड भित्र राखेको छ । पोखरा महानगरपालिकाको प्रहरीले वडा नम्बर २४ लौरुक स्थित लालपुर्जा भएको र आवास क्षेत्र भनेर तोकिएको स्थानमा भने स्थानिय जनतालाई यातना दिने गरेको छ ।
स्थानिय कुल प्रसाद तिमिल्सिनाले वडा नम्बर १८ का वडाध्यक्ष शिव प्रसाद तिमिल्सिनालाई ताल घरभित्रै माटो पुरिएको विषयमा जानकारी गराउँदा पनि वडाध्यक्षले सुनुवाई नगरेको बताए । ‘वडा नम्बर २४ को पामेस्थित आफ्नो गाईको गोठ नजिकै सागबारी बनाउन खोज्दा नगर प्रहरी आएर माटो लिएर गयो । मेरो जग्गा तालको मापदण्ड भित्र पनि पर्दैन । रोड भन्दामाथि त्यसमाथि पनि आवास क्षेत्र भित्रको हाम्रो जग्गामा मेयर धनराजको निर्देशनमा सागबारीमा अवरोध गर्न आउँछन्,’ उनले भने,‘तर, प्रहरीको मिलेमतोमा ताल घरमै संरचना बनिरहेका छन् । प्रहरीले सुन्दैन । मेयर धनराजलाई पैसा भए हुने रहेछ ।’
पोखरा महानगरपालिकाकाका नगरप्रहरी प्रमुख पुरुषोत्तम थापाले आफूहरुले जानकारी पाउने वित्तिकै भर्खरै रोकेर वडाध्यक्षलाई समन्वय गरेको बताए । तर, स्थानियबासी भने नगरप्रहरीको यो भनाई पत्याउन तयार छैनन् । ‘केहीबेर रोकेजस्तो गरेर रातभर माटो पुर्ने काम भइहेको हुन्छ,’ स्थानियबासीले भने,’पर्खाल लगाएर वाल बनाएर ताल पुरिरहँदा पनि पाेखरा महानगरपालिका रमिता हेरेर बसिरहेकाे छ ।’