काठमाडौं, १८ पुस । विश्व प्रसिद्ध खेलाडी रिकी पोन्टिङले नेपालका लेग स्पीनर सन्दीप लामिछानेलाई भारतीय खेलाडी विराट कोहलीसँग दाँजेका छन् । अष्ट्रेलियाको बिग बासमा चार वटै खेलमा प्रभावशाली प्रदर्शन गर्दै विश्व क्रिकेटको ध्यान आफूतिर आकर्षित गरेका सन्दीपको प्रशंशामा पोन्टिङले यस्तो भनेका हुुन् । यस अघि भएका लिगका तीन खेलमा तीनवटै टिमका कप्तानलाई आउट गरेका थिए । चौथो खेलमा पनि मेलवर्न रेनेगेड्का कप्तान टम कुपरलाई आफ्नो बलिङ जादुको सिकार बनाएपछि सन्दीपको चर्चा झन् चुलिएको हो । सोही खेलको कमेन्ट्री गर्ने क्रममा पोन्टिङले मेहनत गर्ने खेलाडीका रुपमा सन्दीपलाई विराट कोहलीसंग तुलना गर्दै प्रशंसा गरेका थिए । पोन्टिङ अष्ट्रेलियाकै विश्वचर्चित खेलाडी हुन् ।
रिकी पोन्टिङले यसो भने
पहिलेको लेग स्पिनरहरु सुस्त गतिमा बलिङ्ग गर्ने गर्थे यसकारण उनीहरुलाई बुझ्न ब्याट्सम्यानलाई सहज हुन्थ्यो । तर अहिले लेग स्पिनरहरु बढी सफल हुनुमा उनीहरुको बढेको गति नै महत्वपूर्ण कारण हो । राशिद जतिको हातको गति नभएपनि सन्दिपको स्पिड एकदम राम्रो छ । आईपीएलमा सन्दिपले पछिल्को ३ वटा खेल मात्रै खेले तर पनि बाँकी खेलमा सन्दिप नखेलेपनि उनले प्रत्येक दिन ४ घण्टा बलिङ्ग गरे । म उनलाई नेपालको बिराट कोहली भन्न रुचाउछु ।
चार कप्तान नै सिकार
चार म्याचमा १६ ओभर बलिङ गर्ने क्रममा सन्दीपले चार टिमविरुद्ध ८ विकेट लिने क्रममा चारवटै टिमका कप्तानको विकेट आफ्नो नाममा लेखाए । पहिलो खेलमा सिड्नी थन्डर्सका कप्तान सेन वाट्सन, दोस्रो खेलमा होबार्ट हुरिकेन्सका कप्तान म्याथ्थु वाड, तेस्रो खेलमा सिड्नी सिक्सर्सका कप्तान मोजेज हेनरिक्सलाई आउट गरेका सन्दीपले मंगलबार मेलवर्न रेनेगेड्सका कप्तान टम कुपरलाई बोल्ड गर्दै लगातार चार खेलमा चार कप्तानलाई आउट गर्दै रेकर्ड नै राखेका हुन् ।
विश्वभ्र चर्चा र प्रसंशा
चार खेलमा ८ विकेट, चार कप्तान आउट र दुई खेल जिताउन टिममा भूमिका निभाएपछि सन्दीपको चर्चा चुलिएको छ । चार खेलपछि सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आएका छन् । किनकी बिग ब्यास अघि नै उनले बंगलादेशमा खेल्ने सम्झौता गरेका थिए । यसकारण पनि आइपिएलपछिको महत्वपूर्ण फ्रेन्चाइज लिग बिग बास बीचमै छोडेर बंगलादेश आउन लागेका हुन् । बंगलादेशको लिग नसकिंदै नेपालले युएईविरुद्ध खेल्ने एकदिवसीय र टी २० सिरिज खेल्न सन्दीप युएई जानेछन् । त्यसपछि बिग बासमा उनको िटम अगाडि बढे नकआउट चरणको खेल खेल्न पुनः अष्ट्रेलिया जानेछन् ।
सामाजिक सञ्जालमा चर्चा
सामाजिक संजाल फेसबुक र ट्वीटरमा पनि विश्वभर नेपालका १८ वर्षीय लेग स्पीनर सन्दिपको चर्चा निक्कै भइरहेको छ । केहीले सामाजिक संजालकर्ताहरुले यत्ति प्रभावशाली भए पनि उनले टेस्ट क्रिकेट खेल्न नपाउँने भन्दै चिन्ता व्यक्त गरेका छन् । किनकी नेपालले एक दिवसीय मान्यता पाए पनि टेस्ट मान्यता पाएको छैन ।
यस्तो छ विगबासमा सन्दीपको विकेटयात्रा
सन्दीपले सिड्नी थन्डर्सबिरुद्धको खेलमा २ विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट हात पारेका थिए । थन्डर्सका कप्तान शेन वाटसन र अर्का ब्याट्सम्यान कलुम फर्गुसन सन्दीपको बलिङको शीकार भए । हाबर्ट हुरिक्यानविरुद्धको दोस्रो खेलमा सन्दीपले ३ विकेट लिए । कप्तान म्याथ्यु वेड सहित एलेक्स डुलान र बेन म्याकडेरमोटलाई आउट गरे । ४ ओभर बलिङ गरेका सन्दीपले २४ रन दिएका थिए ।
सिड्नी सिक्सर्सबिरुद्ध पनि सन्दीप हावी भएका थिए । उनले सिक्सर्सका कप्तान मोजेस हेनरिक्युज सन्दीपको बलिङ अगाडी टिक्न सकेनन् । ४ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चिँदै २ विकेट लिएका थिए । दोस्रो विकेटको रुपमा सिक्सर्सका टोम कुरान थिए ।
मंगलबारको खेलमा पनि सन्दीपले आफ्नो विकेट यात्रालाई निरन्तरता दिए । उनको अगाडी कुनैपनि क्लवका कप्तान टिक्न सक्दैन भन्ने कुरालाई सन्दीपले आइतबारको खेलबाट पुन प्रमाणित गरिदिएका छन् । मेलबर्न रेनेगाड्सबिरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले ३१ रन खर्चिँदै कप्तान टोम कुपरको विकेट लिए ।