काठमाडौँ, पुष १९ । सिंहदरबारको कृषी समितिको हलमा विहीबार अपराह्न एक माहोल उत्पन्न भएको छ । एक उत्सव सम्पन्न भएजसरि मानिसहरु उपस्थित थिए । टीकापुर हत्याकाण्डका मुख्य दोषी भनिएका रेशम चौधरीलाई सांसदको रुपमा सपथ खुवाईँदै थियो ।कार्यक्रममा उपस्थित सबैजनाको अनुहारमा चमक थियो । सबैजना खुशी थिए । विशेषतः तिनै हत्याआरोपी रेशम चौधरी सांसद बन्न पाउँदा निकै खुशी देखिन्थे । उनमा आफु ८ जनाको हत्या आरोपमा जेल बसेर आएको भन्ने भान थिएन र फेरि जाँदैछु भन्ने कुनै नैराश्यता पनि देखिएन । निधारभरि रातो अबिर लगाएका थिए । गलाभरी खादा र मालाहरु थिए । सांसदको लोगो पाएका उनि सबैसंग खुशी बाँड्न र रमाउन ब्यस्त थिए । केही छिनमा नै उनलाई सदरखोर डिल्लीबजार पुर्याइयो ।
सिंहदरबार पुर्याएर सपथ खुवाईएका रेशम चौधरीलाई पुन जेल चलान गरिएको हो । विहीबार अपराह्न तीन बजे सपथका लागि सिंहदरबार लगिएको चौधरीलाई सपथ ग्रहण गर्नेबित्तिकै डिल्लीबजार स्थित सदर जेल लगिएको हो । टीकापुर हत्याकाण्डको मुख्य अभियुक्तको रुपमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरी अब निलम्वित सांसदको रुपमा रहने छन् ।
सपथ ग्रहणमा राजपा नेता राजेन्द्र महतो लगायत अन्य मधेशी दलका नेताहरु सहभागी थिए । उनिहरुले रेशम चौधरीलाई बधाईसमेत दिएका छन् । २०७४ को निर्वाचनमा प्रतिनिधिसभा तर्फको उम्मेदवार भई ३४ हजार ३४१ भोटले उनि विजयी भएका थिए । विजयी भएतापनी उनले सपथ भने लिन पाएका थिएनन् । हत्याकाण्डका प्रमुख आरोपी भएको कारणले उनलाई सांसदको रुपमा सपथ दिइएको थिएन । आपराधिक गतिविधमा संलग्न भएको ब्यक्तिलाई सांसद बनाउन नमिल्ने प्रावधान रहेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको समर्थन गरिरहेको राजपा नेपालले रेशम चौधरीलाई सपथ खुवाउनु पर्ने तथा अन्य विभिन्न मागहरु राखी सरकार समर्थन फिर्ता लिने चेतावनी दिएपछि चौधरीलाई सपथ खुवाइएको हो । उनि निलम्वित सांसदको रुपमा हुने समेत बताइएको छ । सपथ ग्रहण गरेतापनी उनले संसदमा भने भाग लिन पाउने छैनन् ।