सिंहदरबारबाट जेल जाँदै गर्दा रेशम चौधरीको प्रश्न, ‘म कतिबेला षड्यन्त्रकारी भएँ ?’

Diyo post  

काठमाडौँ, पुष १९ । टिकापुर घटनाको मुख्य अभियुक्त भनिएको रेशम चौधरीलाई पुन जेल पुर्याइएको छ । सपथ ग्रहण गराईसकेपछि उनलाई सुरक्षाकर्मीको सुरक्षामा जेल पुर्याइएको हो ।
सपथ ग्रहण गरि कार्यक्रम हलबाट निस्कँदा पत्रकारहरुले उनलाई चारैतिरबाट घेरेका थिए । सबैजना उनलाई प्रश्न सोधिरहेका थिए , ‘अब के हुन्छ माननीय ज्यू ?’ उनी आफु कुनैपनि हालतमा त्यस्तो निर्दयी कार्यमा संलग्नता नभएको बताए । ‘मेरो ३५ हजार भोट त्यसको प्रमाण हो’, उनले भने ‘गल्ती गर्नेले सजाय अवश्य भोग्नुपर्छ र मलाई भनिदिनुपर्यो मैले के गल्ती गरेँ ’

उनले सिंहदरबार परिसरमा पत्रकारहरुसंग बोलेका कुराको सम्पादित अंश यस्तो छ

टीकापुरमा दुर्घटना भयो, राजनीतिक आन्दोलन भयो, सातसात जनाले सहादत प्राप्त गरे । तर त्यही स्थानबाट ३४ हजार सय ४१ मतले रेशम चौधरीलार्ई विजय गराए । अर्थात मलाई विजयी गराउनुभयो । टीकापुरलाई साँच्चिकै दुखेको छ । हिँजोसम्म टीकापुर जनप्रतिनिधिविहिन थियो । टिकापुरको वास्तविक धरातलमा कसैले पनि खोजपुर्ण कार्य गरेनन् , हामीलाई त्यसैमा दुख छ । टीकापुरको बजारमा तीनैवटा सुरक्षा निकाय आर्मी, शसस्त्र र जनपदका अधिकारीहरुकै अगाडी सम्पुर्ण थारुहरुको घरबार जल्यो ।

मैले २५ बर्ष मिडियामा काम गरे । म मिडियामा काम गरेदेखि मेरो कार्यक्रमको शुवातमा मैले राष्ट्रिय गीत बजाउँथे । सायद नेपाली सांगितिक इतिहासमा यतिधेरै राष्ट्रिय गितहरुमा संगित गरेको सर्जक मै हुँ । मेले नेपाल र नेपालीहरुका बिचमा विभेद देखिन । भावनालाई फरक देखिन । संकिर्ण सोचाई देखिन । आज टिकापुरलाई साँच्चिकै दुखेको छ ।

टिकापुरका ३४ हजार ३ सय ४१ जनता क्या हुन् ? लोकतन्त्रले परिभाषा दिनुपर्छ । ३४ हजार ३ सय ४१ जना जनताको मतको कदर हुन्छ कि हुँदैन ? जनताले गरेको न्यायलाई यो देशको सोसल मिडिया र ठुलाठुला पत्रकारहरुले कसरी नियाल्नुभएको छ ? जुन ठाउँमा दुर्घटना भयो हामीलाई अत्यन्त दुख लागेको छ । यससन्दर्भमा मैले पहिले नै समवेदना प्रकट गरिसकेँ । त्यस्तो अवस्थामा त्यहिँकै स्थानिय जनताले मलाई यति धेरै मतले विजयी गराउनुभयो । त्यहीँको जनमतको आधारमा के प्रमाणित हुन्छ भने रेशम निर्दोष ब्यक्ति हुन् ।

रेशम चौधरी केही गर्ने मान्छे हुन् र रेशम चौधरीले कैलालीको लागि केही गर्न सक्छन् । मैले त्यहाँ गरेका कैयौँ उदाहरणीय कामहरुबाट मैले यतिधेरै मत पाएको हुँला । मेरो केही योगदान होला । म त्यस ठाउँमा वाडीपितलाई राहत प्रदान गर्थेँ । कमैयाहरुका लागि झुल, तन्ना कम्बल लिएर हिँड्थे । कैयौँ बालबच्चालाई निशुल्क रुपमा पढाउँथे । बाटोघाटो निर्माणका लागि अहोरात्र दौडिरहन्थेँ । केवल मसंग भएको क्षमता र मैले देशप्रति गर्ने समाजसेवाप्रति केही मानिसहरुमा इष्र्या थियो होला । आह्रेस थियो होला त्यो आह्रेसको प्रतिशोध यसरी साँध्नु हुँदैन ।

मलाई लाग्छ न्यायलयले हामीलाई न्याय दिने छ र दिनुपर्दछ । अझै पनि म भन्दछु कि गहन र स्पष्ठ छानविन हुनुपर्दछ । दोषीले कारवाहीको भागिदार हुनैपर्छ । दोषी उम्कनुपर्छ भनेरे मैले कहिले भनेँ ? हामीले कहिले भन्यौँ ? दोषी उम्कनै हुँदैन । आज रेशम चौधरीमाथि डाका चोरी मुद्धा लागेको छ । मेरो देश नेपालको इतिहासमा म सबैभन्दा सानो उमेरमा गोरखा दक्षिणवाहु प्राप्त गरेको व्यक्ति हुँ र बहुमुखी प्रतिभा पुरस्कार प्राप्त गर्ने ब्यक्ति हुँ । मैले मेरो जीवनमा कहाँ र कहिले चोरी डकैती काम गरेँ ?

मलाई के लाग्छ भने राजनीतिक दुर्घटनाको निराकरण राजनीतिक रुपबाट हुनुपर्दछ । टीकापुर नेपालकै एउटा अभिन्न अंग हो । त्यसलाई बनाउने जिम्मा हाम्रै हो र प्रदेश सिमांकन पनि भइरहेको छ । र प्रदेशको सिमांकन भित्र हामी छौँ । तँतँ र म म गर्ने अवस्था छैन । टिकापुर घटनाको विषयमा सम्पुर्ण मिडियाको अगाडी म के भन्न चाहन्छु भने यो सामाजिक संजालमा जिस्काउने घटना होइन । यसलाई सहज रुपमा नलिनुस् । यो एउटा वर्गिय र जातिय समुदायमा ठेस पुर्याउने घटना हो । अझैपनि हाम्रा सैयौँ साथिहरु निर्वासित हुनुहुन्छ । दर्जनौँ साथिहरु जेलमा हुनुहुन्छ । टीकापुर घटना भैरहँदा म बर्दियामा थिएँ । मेरा मित्र लक्ष्मण थारु ज्यू दाङमा हुनुहुन्थ्यो । थारु कल्यारकारीणी सभाका जिल्ला सभापति लाहुराम चौधरी जी जिल्ला सभापति संगै हुनुहुन्थ्योे । म भाद्र तीन गते टिकापुरको दोरयापुर भन्ने ठाउँमा घटना घटिसकेपछि यहीँ काठमाडौँमा आएर राजनीतिक दलसंग छलफल गरि टिकापुर पुगेको ब्यक्ति हुँ । म सुरक्षाकर्मीकै गाडीमा धनगढी हुँदै टिकापुर पुगेँ । सुरक्षाकर्मीकै निगरानीमा रातभरि बसेँ । भोलिपल्ट टिकापुरको उक्त घटनालाई समाधान गर्नुपर्छ भनेर छलफल गर्दैगर्दै बर्दिया आइपुगेँ । म २४ घण्टा सुरक्षाकर्मीको घेरोमा बसेको मान्छ कतिबेला षड्यन्त्र गरेँ ? कतिबेला म षड्यन्त्रकारी भएँ ? त्यो टिकापुरले प्रमाणित गरिदिएको छ ।

सामाजिक संजालमा गाली गर्दा, हत्यारा भन्दा एकछिन मजा आउँछ होला तर हामी टिकापुर दुख्नेलाई थाहा छ । आज टिकापुर उजाड छ । बजारमा व्यापार छैन । मानिसहरुमा एक किसिमको सम्झौता छैन । एउटा वर्ग बजार जान डराउँछ अर्को बर्ग गाउँ जान डराउँछ । टीकापुरका सैयौँ विघा जमिनहरु आज वाँझै छन् । यसका निमित्त राज्य बोल्नु पर्छ कि पर्दैन ? हामी न्यायलयबाट न्याय चाहन्छौँ, भिख चाहन्नौँ । रेशम चौधरी भीख चाहदैन । हामीलाई न्याय दिनुस, न्यायको आँखाले हेरिदिनुस । आज साँढे तीन बर्ष भयो हामी पुर्पक्षका लागि जेलमा छौँ । हाम्रै कानुनले भन्छ कि एक बर्षभन्दा बढी पुर्पक्षका लागि थुनामा राख्न पाइँदैन त्यसैले हामीलाई न्याय दिनुुस् । हामीलाई दोषी भनेर प्रमाणीत गरिदिनुस् । होइन भने हामीले समाज मिलाउनुपर्छ । देश मिलाउन सहज होला तर समाज मिलाउनु र बर्ग मिलाउनु अत्यन्त अत्यन्त कठिन छ ।

म त्यहि समाजमा सबैलाई नमस्कार गर्दै आफुभन्दा अग्रजलाई ढोग्दै हिँडेको मान्छे हुँ । त्यही समाजमा १९ बर्षको उमेरमा छोडेर टिकापुर फर्केको मान्छे हुँ । राजनीतिमा राजधानीमा यति धेरै सम्भाव्यता हुँदाहुँदै म आफ्नो बस्तीमा फर्किए र त्यही बस्तीबाट आज माननीय सांसद हुन पाएँ । मलाई लाग्छ मेरा दाजुभाई दिदीबहिनीहरुले न्याय दिनुभएको छ । अब न्यायलयले न्याय दिनुपर्छ र मिडियाका साथिहरुले पनि न्यायका लागि पहल गरिदिनुपर्छ ।

सम्बन्धित खबर