काठमाडौं, पुस २५ । सुन्दा पनि आङ जिरिंग हुन्छ विप्लव समूहले मच्चाउन खोजेको उधुम सुन्दा । सरकारी टोलीले उसँग गरेको वार्ताको उपलब्धी के भयो ? विप्लवको लाईन र सरकारको गतिविधिबारे प्रश्न उठ्न थालेको छ । प्रवक्ता खड्कबहादुर विश्वकर्मासहित हिरासतमा रहेका सबैजसो नेता कार्यकर्ता वार्तामा सहज हुने भन्दै छुटे तर प्रकाण्डको डरलाग्दो डायरी अहिले पनि काठमाडौं प्रहरी परिसरमा छ । पार्टी लाईन हो या मनका कुरा कागजमा टिपिएको हो ? उनैले जानुन्, तर लेख्नचाँही ठूलै कुरा लेखिएको छ ।
सफाया गर्नेको सूचीमा ‘केपी–असल, प्रचण्ड–यौद्धा, देउवा–प्रज्वल’ भनिएको छ । अर्थात, देशका बहालवालादेखि दुई शक्तिशाली प्रधानमन्त्रीको नामसँगै सफायमा खटिनेको जिम्मेवारी त्यसमा छ । यस्तो भएपछि सरकारद्धारा गठित वार्ता समितिका संयोजक सांसद सोमप्रसाद पाण्डे आजित छन् । ‘हामीले गर्दा विप्लवले मान्छे छुटाएर लगे, तर अन्तिममा धोका दिए । अब म बाट यो काम हुँदैन’ भन्दै असन्तुष्टी पोख्न थालेका छन् । अर्थात राजनीतिक हिसाबले विप्लव माथि भयो, सरकार तल । वार्ता भन्ने विषय हाउगुजी मात्र ।
प्रधानमन्त्रीदेखि अनेकन भिभिआईपीको सफायाका लागि जिम्मेवारी तोकिएकामध्ये केही मान्छेलाई प्रहरीले नियन्त्रणमा लियो । ती छुटेर गैसके । न वार्ताको सकारात्मक निष्कर्ष छ, न थ्रेट भएका उच्च पदस्थको सुरक्षाबारे कुनै एनलाईसिस छ ।
भैरहवाको भारतीय वेलफेयर क्याम्पमा एउटा विष्फोटनको घटनामा फोटो अपलोड गर्दागर्दै मान्छे पक्राउ परे । त्यहाँ घटना गराएर फेसबुकमा राखिएका फोटोका आधारमा अनुसन्धान गर्दा प्रकाण्डले डायरीमा लेखेका नाम असल अर्थात चन्द्रबहादुर खड्का विप्लपका अंगरक्षक हुन् । सरकारी वकिलको समस्या, त्यति कुराको भरमा मुद्दामा चलाउन पनि भएन ! तर छोड्दापनि प्रधानमन्त्रीहरुलाई नै सिध्याउने छन् ।
बरु, वार्ताका नाममा यस्ता गम्भीर योजनामा संलग्न व्यक्तिहरु सजिलै छुटेका हुन् । यसबाट सरकारलाई फाईदा के भयो ? वार्ताकै नाममा उनीहरुलाई प्रहरीले निहुँ खोज्दै थप जिल्ला पनि घुमाए ।
प्रकाण्डकै डायरीमा ‘पुलिस अफिसरलाई टार्गेट’ भनेर सफलको नाम उल्लेख गरिएको छ । भौतिक कारबाही भनेर प्रत्येक जिल्लामा एकएकवटा एनजिओलाई सेबोटेज गर्ने, एक एक ब्युरोले एक एक म्यानपावरलाई हमला गर्ने कुरा पनि छ ।
अपर कर्णाली र अरुण तेस्रोमा पुष २५ मा सेबोटेज गर्नेगरी तोकिएको छ । ५ करोडभन्दा माथिका भारतीय लगानीका परियोजनामा सेबोटेज गर्ने पनि प्रकाण्डका डायरीका पानामा उल्लेख छ ।
(पुस २५ गते बुधबारको जनआस्था साप्ताहिकबाट)