वन मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठ र उनकी श्रीमती विरुद्ध भ्रष्टाचार मुद्धा दायर

Diyo post  

काठमाडौँ, पुष २४ । वन मन्त्रालयका सहसचिव तथा यातायात व्यवस्था विभागका पुर्व महानिर्देशक चन्द्रमान श्रेष्ठ र उनकी श्रीमती जमुना तण्डुकार विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ३४ लाख ५ सय ७६ गैरकानुनी रुपमा आम्दानी गरेको देखिएकोले भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

अख्तियारले निज श्रेष्ठले सार्वजनिक पदमा हुँदा अख्तियारको दुरुपयोग गरि गैरकानुनी सम्पत्ती आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

अख्तियारले गरेको छानविनमा उनले पद धारण गरेको मिति २०३८ माघ २८ गतेदेखि अनुसन्धान अवधिसम्म दुई करोड १० लाख ७७ हजार ४ रुपैयाँ १६ पैसा आम्दानी गरेको बताएको छ । त्यस्तै चल अचल सम्पत्ती सिर्जना एवंम् खरिद, शेयरमा लगानी, शिक्षा, विदेश भ्रमण, बैँक मौज्दात लगायतका विषयहरुमा गरि कुल तीन करोड ४४ लाख ७७ हजार ४ सय रुपैयाँ १६ पैसा खर्च तथा लगानी देखिएको छ । यसबाट १ करोड३४ लाख ५ सय ७६ रुपैयाँ ७६ पैसाको स्रोत नखुलेको पाइएको हो ।
श्रेष्ठले आफन्त तथा परिवारको नाममा विभिन्न ठाउँमा चल अचल सम्पत्तीसमेत खरिद गरेको अख्तियारले जनाएको छ । उक्त रकम उनले सार्वजनिक पद धारण गर्दासम्म कमाएका तर स्रोत खुल्न नसकेपछि भ्रष्टाचार ठहर गरिएको हो ।

भ्रष्टाचार ठहर भएका श्रेष्ट र उनकी श्रीमती तण्डुकारलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आएकोले निज चन्द्रमान श्रेष्ठ उपर एक करोड चौतीस लाख पाँच सय छयहत्तर रुपैयाँ छयहत्तर पैसा कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग), दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुन तथा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत समेत गरी पाउन मागदावी लिइ आज विशेष अदालत काठमाडौँमा आरोप(पत्र दायर गरिएको छ ।

यसका अतिरिक्त श्रोत खुल्न नसकेको सम्पत्ती उनकी श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा राखेको देखिएको हुँदा साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गर्न सिफारिस गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार श्रेष्ठसहित उनकी श्रीमती तण्डुकार र भगवती योगीलाई समेत प्रतिवादी बनाई मुद्धा दायर गरेको हो ।

सम्बन्धित खबर