काठमाडौं, २६ पुस । पूर्व संविधानसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उषाकला राईले आफ्नो आमाको निधनपछि आफै किरियापुत्री बसेकी छिन् ।
पूर्व कानुनमन्त्री शेर बहादुर तामाङकी पत्नि समेत रहेकी राईले समाजमा उदाहरणीय काम गरेको तामाङले सामाजिक सञ्जालमा उललेख गरेका छन् ।
राईले आफ्नी आमा लक्ष्मि राईको निधनपश्चात आफै किरिया बसेकी हुन् । नेपाली समाजमा पुरुषले मात्रै आफ्नो आमा बाबुको किरिया बस्ने परम्परा थियो ।
छोरीलाई छोरा सरह अधिकार दिनुपर्छ भन्दै निरन्तर लडिरहेकी राई यसअघि संविधान सभामा मौलिक अधिकार समितिमा रहेकी थिईन् ।
‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनी पुरुष अर्थात पुत्र बस्ने चलन) बस्ने र समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम,’ पूर्व मन्त्री तामाङले आफ्नी पत्निलाई सम्मान गर्दै लेखेका छन्,‘महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।’
निमोनियाको उपचार गर्ने क्रममा विहिबार ग्राण्डी अस्पतालमा उनकी आमा ७५ वर्षिय लक्ष्मि राईको निधन भएको थियो ।