काठमाडौँ, पुस २६ । संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइड वडी खरिद प्रकरणमा ३८ जना व्यक्तिहरुले विदेश घुमेको रहस्यमयी तथ्य बाहिर ल्याएको थियो ।
जसलाई कारबाही समेत गर्नुपर्ने उपसमितिको ठहर थियो । उपसमितिले सार्वजनिक गरेको प्रतिवेदनमा विमान खरिद गर्दा विभिन्न निकायका ३८ जना व्यक्तिहरुले फ्रान्सको भ्रमण गरेको र उनीहरुलाई पनि भ्रष्टाचारको मुद्धा अन्तर्गत कारवाही गरिनुपर्ने माग गरेको थियो ।
यतिबेला हट टपिक बनेको वाइडबडी प्रकरणमा फ्रान्स घुम्न जाने भाग्यमानि ३८ जनाको सुची दियोपोष्टले फेला पारेको छ । दियोपोष्टलाई प्राप्त विवरणअनुसार विमान खरिदको नाममा नेपाल वायुसेवा निगम, नेपाल नागरिक उड्ययन प्राधिकरण, नागरिक लगानी कोष र कर्मचारी संचय कोषका कर्मचारीहरुले फ्रान्स घुमेको पाइएको छ ।
पटकपटक गरि ६ पटकसम्म विमान खरिदको नाममा कर्मचारीहरुले फ्रान्स भ्रमण गरेका छन् । नेपाल वायुसेवा निगमबाट मात्रै २२ जना कर्मचारीहरु फ्रान्स पुगेका थिए । निगमका महाप्रवन्धक सुगतरत्न कंसाकरलाई भ्रष्टाचारको मुख्य दोषि ठहर गरिसकेको छ ।
त्यस्तै निगमका निर्देशकहरु विक्रम केसी, कर्णबहादुर थापा, र प्रभाश कुमार कर्माचार्यले २०१८ को जुन २५ मा विमानको प्राविधिक अनुगमन तथा हस्तान्तरणका लागि भन्दै फ्रान्स भ्रमण गरेका छन् । निगमकै नायब महाप्रवन्धक गणेश बहादुर चन्द, अर्थ विभागका निवर्तमान निर्देशक उमेश पौडेल, कायम मुकायम निर्देशक राजकुमार खड्का, वरिष्ठ प्राविधिक अधिकृत सुवाश डाँगी, निर्देशक रविन्द्र श्रेष्ठ, उपनिर्देशक पारस पौडेल लगायतका कर्मचारीहरुले विमान खरिदको विभिन्न प्रयोजनका लागि भन्दै फ्रान्स भ्रमण गरेको पाइएको छ ।
२५ मे २०१८ मा निगमका संचालक सदस्यहरु सुरेश आचार्य, अशोक सिग्देल, मुक्तिराम पाण्डे, निमा नुरु शेर्पा, अत्युत राज पाहाडी, महाप्रवन्धक सुगतरत्न कंसाकर, उपनिर्देशक पारस पौडेल लगायतको टोली फ्रान्स पुगेका थिए । उनीहरु विमान कम्पनीको पुर्वाधार अवलोकन तथा नेपालले किन्न लागेको विमानको अवस्था वुझ्ने भन्दै फ्रान्स पुगेका थिए ।
वायु सेवा निगमका कर्मचारी वाहेक कर्मचारी संचय कोषका कर्मचारीहरुले पनि विमान खरिदको नाममा व्यक्तिगत भ्रमण गरेको भेटिएको छ ।
कर्मचारी संचय कोषका राजेन्द्र काफ्ले, भरतराज वस्ती र अर्जुन कुमार गौतमसहित तीन जना ऋण सम्भौता तथा लगानीकर्ताको अनुगमनको लागि भन्दै फ्रान्स पुगेका छन् । उनीहरुसंग नागरिक लगानी कोषका महाश्रम शर्मा र शुसिल कुमार अर्याल पनि फ्रान्स पुगे ।
विमान हस्तान्तरणको लागि भन्दै निगमका महाप्रवन्धक कंसाकरको दोस्रो पटक फ्रान्स पुगे । त्यतिवेला उनीसंग नागरिक उड्ययन प्राधिकरणका कर्मचारीलगायत नागरिक लगानी कोषका बसन्त कुमार श्रेष्ठ, नारायण प्रसाद घिमिरे र सुमन पौडेल समेत पुगेका थिए । सो टोलीले उद्धेश्यअनुसारको प्रतिवेदन आजसम्म पनि निगममा नबुझाइएको देखिएको छ ।
यसका अतिरिक्त नेपाल राष्ट्र बैँकका भीष्म ढुंगाना समेत वाइड बडीको पैसाले फ्रान्स घुमेर आए । प्रतिवेदनको सुचिमा कानुनी सल्लाहकार भनि उल्लेख गरिएका आभाश गान्धीले पनि सोही पैसाबाट फ्रान्स घुमे ।
प्रतिवेदनमा संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका कर्मचारी मुकेश ढुंगानाले पनि विमान खरिदको नाममा फ्रान्स भ्रमण गरेको उल्लेख गरिएको छ । उनि ऋण सम्झौता र लगानीकर्ताको अनुगमन गर्नको लागि फ्रान्स पुगेका टोलीसंगै पुगे । सो टोलीे जे प्रयोजनको लागि पुगेको हो त्यसको प्रतिवेदन भने निगमलाई नबुझाएको पाइएको छ ।