काठमाडौं, २८ पुस । गृहमन्त्रालयले पूर्व भिआईपीहरुको अनावश्यक सुरक्षाकर्मी फिर्ता गरेको छ ।
प्रहरी दुरुपयोग गरिएको विषयमा चौतर्फी विरोध भएपछि गृहमन्त्री राम बहादुर थापा बादलको निर्देशनमा प्रहरी प्रधान कार्यालयले विभिन्न व्यक्तिको सुरक्षामा रहेका प्रहरीलाई फिर्ता बोलाएको छ ।
गृह स्रोतका अनुसार करिब २२ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।
भूतपूर्व भइसकेको भिआइपी मध्ये पूर्व सभामुख ओनसरी घर्ति मगरले ७ जना सुरक्षाकर्मी लिएकी थिइन् । उनीसँग रहेका ७ जना सुरक्षाकर्मीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ ।
उनको इस्कर्टमा रहेका २ जना प्रहरी हवल्दारहरु, दुर्गा बहादुर गुरुङ, शिव बहादुर आले र जवानहरु दिपेन्द्र पुन मगर, प्रकाश पुन मगर, दिपेन्द्र बुढा मगर, राजकुमार घर्ति मगर र सज्जन पुन मगरलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ ।
भूतपूर्व भइसकेका भिआईपी मध्ये पूर्व गृहमन्त्री जनार्दन शर्माले सबैन्दा धेरै सुरक्षा कर्मी दुरुपयोग गरेको पाइएको छ । उनको साथमा रहेका रहेका ९ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । शर्माको सातमा २ जना प्रहरी नायब निरिक्षक, २ जना सहायक निरिक्षक, हवल्दार ४ जना र १ जना सिपाही तथा एक जना चालक कार्यरत थिए ।
शर्माको इस्कर्टमा रहेका प्रहरी नायव निरिक्षक दिलिप थापा, चालक प्रहरी नायब निरिक्षक गंगा बहादुर पन्त, इस्कर्टमा रहेका प्रहरी सहायक निरिक्षक लिलानाथ गौतम, प्रविन कुमार भण्डारी, हवल्दारहरु ज्योति कुमार बोगटी, तेज बहादुर गुरुङ, कृष्ण प्रसाद अधिकारी, चालक चन्द्र कुमार रुम्बा र जवान नविन कुमार खड्का रहेका थिए ।
उनीहरुलाई गृहमन्त्तालयले फिर्ता बोलाएको छ ।
पूर्व गृहमन्त्री गोविन्द राज जोशीले लिएको एक जना प्रहरी सहायक निरिक्षक पनि फिर्ता भएका छन् । उनको सुरक्षामा कार्यरत प्रहरी नायब निरिक्षक प्रकाश श्रेष्ठलाई गृहले फिर्ता बोलाएको छ ।
त्यस्तै कुनै पूर्व मन्त्री नभएपनि नेपालको राजनीतिमा शक्तिमा रहेका नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले २ जना प्रहरी सहायक निरिक्षक पिएसओ लिएको पाइएको छ । उनको साथमा रहेका प्रहरी सहायक निरिक्षकहरु प्रभात प्रकाश मल्ल, पुष्पराज तिमिल्सिना र प्रहरी जवान प्रकाश बद्री सिजापतीलाई गृहले हेडक्वाटर तानेको छ । सिजापतिलाई सिंहले हेल्परको रुपमा आफ्नो घरमा राखेका थिए ।
नेपाली जनताको करबाट पालिएका नेपाल प्रहरीलाई भारतीय योग गुरुको नेपाल स्थित प्रतिनिधिले समेत वर्षौंदेखि दुरुपयोग गरेको समेत पाइएको छ । पतंजली योगपिठ नेपालका ट्रस्टि ईन्जिनियर शालिग्राम सिंहको साथमा रहेका प्रहरी जवान नृप बहादुर विष्टलाई पनि हेडक्वाटरले फिर्ता बोलाएको छ ।
पूर्व कृषि मन्त्री रामकृष्ण यादवको साथमा रहेका प्रहरी सहायक निरिक्षक नागेन्द्र कुमार, पूर्व श्रम राज्य मन्त्री रहेका टेक बहादुर गुरुङले दुरुपयोग गरेका प्रहरी नायब नरिक्षक प्रकाश श्रेष्ठलाई पनि फिर्ता बोलाइएको छ ।