
काठमाडौं, ३० पुस । नेपाल वायु सेवा निगमले खरिद गरेको एयरबस वाइडबडी घोटालाका एक अभियुक्तलाई मञ्चमा राखेर मेगा बैंकले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राजधानीको राष्ट्रिय सभागृहमा सोमबार आयोजित आठौँ वार्षिक साधारण सभाको मञ्चमा थिए–मुक्तिराम पाण्डे । 
सार्वजनिक लेखा समितिको सिफारिस अनुसार ४ अर्ब ३५ करोड घोटाला भएको वाईड बडी काण्डका एक अभियुक्त हुन् पाण्डे । वाईडबडी खरिद प्रकरणमा विभिन्न उपसमितिमा बसेका पाण्डे मेगा बैंकका समेत सञ्चालक समिति सदस्य हुन् ।
मञ्चको पहिलो रोहमै बसेका पाण्डे कार्यक्रम अवधिभर बसेपनि कुनै भाषण भने गरेनन् । अर्घाखाँची स्थायी घर भएका पाण्डेलाई संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

मेगा बैंकको सञ्चालक समिति अध्यक्षमा भोज बहादुर शाह रहेका छन् । साधारण सदस्यको समुहबाट पाण्डे सञ्चालक समितिमा गत साउनमा निर्वाचित भएका हुन् ।