काठमाडौं, ३० पुस । ‘आज यो हलमा मान्छेहरु देख्दा फ्लप भएको फिल्म हल जस्तो लाग्यो,’ मेगा बैंकका संस्थापक शेयर सदस्य गोविन्द कार्कीले यसो भनेपछि मञ्चमा बसेकाहरु झस्किएका थिए ।
कुनै समय निकै चर्चामा रहेको नीजि क्षेत्रको कमर्सियल बैंक मेगा बैंक नेपाल यतिबेला साँच्चै फ्लप भएको फिल्म जस्तै बनेको छ ।
३२८ जना प्रमोटर शेयर धनी रहेको मेगाको आठौँ वार्षिकोत्सव भने औपचारिकतामा मात्रै टुङ्गीएको छ ।
सहभागी साधारण शेयर सदस्यहरुले ‘आफूहरुलाई बोल्न नदिएको’ भन्दै कार्यक्रम बीचैमा छाडेर हिँडिदिएका थिए ।
‘यो एक किसिमको अघोषित बहिस्कार नै हो । बैंक सञ्चालनमा आएको ८ वर्षमा जम्मा ८ प्रतिशत लाभांक दिने घोषणा गर्नु आफैमा लाजमर्दो छ,’ एक संस्थापक सदस्यले भने,‘बैंकका सञ्चालक समिति अध्यक्ष, सदस्य र सिइओ करोडौँको गाडी चढ्ने तर लगानीकर्ताहरु भने १० हजार पाउनका लागि पनि ३ पुस्ते विवरण भर्नु पर्ने बाध्यता छ ।’
कार्यक्रम शुरुभएको केही बेरमै शेयर सदस्यहरुले ‘अघोषित बहिस्कार गरेका थिए ।
राजधानीको राष्ट्रिय सभागृहमा आयोजित आठौँ वार्षिक साधारण सभामा बोल्ने बैंकका शेयर धनीहरुले बैंकको दुर्दशाबारे खुलेर आलोचना गरेका थिए ।
‘सबै शेयर धनीले हेर्ने भनेको यसको लाभ हो । यो अत्यन्त न्युन अवस्थामा छ,’ संस्थापक शेयरधनी नारायण प्रसाद पाण्डेले भने,‘शाखाहरुमा जाँदा बैंकले राम्रो व्यबहार समेत गर्दैन । डेभिडेन्ट ६३ प्रतिशत भनेको निकै नराम्रो हो ।’
शेयरधनी रामगोपाल महर्जनले बैंकले लगानी गरेको क्षेत्र पारदर्शीता नभएको बताए ।
अर्का शेयरधनी लिलाबल्लभ दाहालले मेगा बैंक कर्णालीमा शुन्य शाखा रहेकाले राष्ट्रिय बैंक बन्न नसक्ने बताए ।
‘यो बैंकमा धेरै गुरुहरुको पैसा परेको छ । यहाँ गुरुहरुको पैसा अपारदर्शी ढंगले खर्च गर्नु भएको छ । तपाईंहरुलाई भगवानले राम्रो गर्छ भन्ने मलाई लागेको छैन,’ उनले भने,‘कर्णाली प्रदेशमा करिब शुन्य छ । म्याप हेर्नुस् । एउटा प्रदेशलाई बायोस गरेर हामी राष्ट्रिय बैंक हौँ भन्नु भनेको हलोदेखि हाइड्रोसम्म होइन गफ देखि गफाडीसम्म हो ।’
मेगा बैंकको शेयर सबैभन्दा सस्तो भएको र १०८ मा बेच्दा समेत किन्ने मान्छे नभएको बताए । बैंककै कर्मचारीले ५६ करोड ऋण लिएर गएको र त्यसको अवस्था सार्वजनिक गर्न समेत उनले माग गरे ।
अर्का शेयरधनी मेयर कुवेर श्रेष्ठले बैंकले लाभांश थोरै दिएको भन्दै अध्यक्ष भोजबहादुर शाहप्रति ब्यङ्ग्य गरे,‘भोज बहादुरजी हामी पनि भोज खाउँ तपाईं एक्लै नखानुस् ।’
उनले आफूले मेगा बैंकमा लगानी गर्दा हैरानी खेपेको भन्दै वास्तविक घटना नै सुनाए–‘मेरो एउटा साथी छ । उसले धेरै वर्षअघि ४० लाख लगानी लगाएको रहेछ । उसले भन्यो,‘लौन साप तपाईंले लिइदिनुस् । म त हैरानै भईसकेँ’ । मैले उसलाई भने,‘मै हैरान छु । म कसलाई बेचौँ ?’
शेयरधनी हरिकृष्ण तिमिल्सिनाले पनि आफूले ३८ हजार कित्ता शेयर किनेको तर ८ वर्षमा ५० लाख ८० हजार रुपैयाँ मात्रै भएको भन्दै सोही रकम आफ्नो साथीले लगानी गर्दा ६ करोड कमाएको घटना सुनाए ।
बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र सञ्चालक समिति अध्यक्ष भोज बहादुर शाहले जवाफ दिँदै गर्दा भने केही प्रहरी र बैंकका कर्मचारी मात्रै बाँकी बसेका थिए । अधिकांश शेयरसदस्य बीचैबाट उठेर हिँडेका थिए ।