प्रयास पराजुली
काठमाडौ १, माघं । रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटमा निर्माणाधिन २८.१ मेगावाटका तल्लो लिखु जलविद्युत आयोजनाले स्थानीयको जीवन नै कष्टकर हुने गरी काम अगाडि बढाएको छ । आइईको रिपोर्टलाई लत्याउदै गैरआवासिय नेपाली व्यापारी उपेन्द्र महतोको लगानीमा निर्माण भइरहेको जलविद्युत आयोजनाले आतङक मच्चाएको हो ।
आयोजनाको कारण स्थानीय विस्थापित हुनुपर्ने अवस्था सृजना भएको छ भने विद्यालयमा पढने विद्यार्थी समेत त्रसित भएका छन् । बिजुलीकोटको बोक्सेमा विद्युत उत्पादन गर्ने गरी निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाले स्थानीयलाई बेवास्ता गर्दै काम आगाडि बढाएपछि स्थानीय विस्थापित हुने अवस्था आएको गुनोसो बढेको छ ।
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निर्माण गरिरहेको जलविद्युत आयोजनाले लिखुतामाकोशी गाउँपालिका–२ सैपुमा ड्यामको काम गरिहेको छ । आयोजनाले काम सुरु गर्दा आइईइ. प्रतिबेदन नै आफूहरुलाई नदेखाई स्थानीयलाई पेलेर अगाडी खोजेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेको छ ।
स्थानीयको माग वेवास्था गर्दै प्रशासन लगाउदै आयोजना
राजनीतिक दलका नेता तथा मन्त्रीलाई औँलामा नचाउने खुबी भएकाको लगानीमा सुरु भएको तल्लो लिखु जलविद्युत आयोजनामा स्थानीयको घरवास न उठाउने गरी काम भएको गुनासो प्रभावित क्षेत्रका बासिन्दाले गरेका छन् । तर आयोजनाले भने राजनीतिक पहुँच र प्रशासनको सहारा लिएर स्थानीयको जाजय माग वेवास्था गरेर अगाडि बढेको छ ।
प्रदेश–३ का अर्थमन्त्री ढुंगेल नै स्थानीयको विपक्षमा
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल नै उपेन्द्र महतोको पक्षमा खुलेर लागेका छन् । रामेछाप प्रदेश सभा २ बाट निर्वाचित सांसद समेत रहेका ढुंगेल जनताको पक्षमा भन्दा पनि आयोजनाको पक्षमा उभिएका हुन् । आयोजनाले सृजना गरेको समस्या समाधान गर्ने दायित्व आयोजनाकै भएपनि सदरमुकाम मन्थलीमा आफू नै सहभागी भएर स्थानीयको माग पुरा गर्नुको सट्टा वेवास्था गरेको आरोप प्रभावित क्षेत्रका बासिन्दाले लगाएका छन् ।
मन्त्री ढुंगेललाई गाउँपालिकाका अध्यक्ष खड्काले थर्काएपछि……
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई तीन नम्बर प्रदेशका अर्थमन्त्री ढुंगेले आयोजनामा अवरोध नगर्ने सम्झाएका थिए । जवाफमा गाउँपालिकाका अध्यक्ष खड्काले कडा रुपमा प्रस्तुत हुँदै स्थानीय सरकारको अधिकारमाथि हस्तक्षप नगर्न भन्द उल्टै थर्काएको बताइएको छ । खड्काको भनाई उदृत गर्दै गाउँपालिकाका एक वडा अध्यक्षले भने,‘गाउँपालिकाको अधिकार मलाई थाहा छ, जनताको मुद्दा उठाएर हिडेको हो, म कुनै व्यपारीको पछि लागेर हिँडेको छैन, तपाई (कैलाश ढुंगेल) मन्त्री भएपछि जनताको पक्षमा आवाज उठाउने कि व्यापारीको पछि लागेर हिड्ने, यस्तो काम गर्न सुहाउँछ ?’
झुट्टो आश्वासको खेती गर्दै जलविद्युत आयोजना
अतिप्रभावित र प्रभावित क्षेत्रको स्थानीयले पटक–पटक माग पत्र पेश गरि नियमसंगत ढंगले काम गर्न ध्यानाकर्षण गराउँदा आयोजनाले बेवास्ता गरेको स्थानीयको गुनासो छ । ‘हामीले पटक–पटक स्थानीयको समस्यालाई सुनुवाई गर्न आग्रह ग¥यौ, हुन्छ हुन्छ भन्दै आसवासन दिँदै काम अगाडी बढाइएको छ,’ स्थानीय केशव पौडेलले भने,‘गाउँका सोझसाझा स्थानीयलाई आँखामा छारो हालेर आयोजना अगाडी बढीरहेको छ, हाम्रो केही कुरा सुन्दैनन, हामीले पटक–पटक सम्बन्धित निकायको ध्यानकर्षण गर्यौँ स्थानीय तह बाहेक कसैले सुनेन् ।’
हाइड्रोपावरकै कारण विद्यालय नै जोखिममा
निर्माणाधिन हाइड्रोपावरको ड्याम निर्माणस्थलसँगै अरुणोदय माध्यमिक विद्यालय नै जोखिममा परेको छ । ड्याम निर्माणको लागि आयोजनाले विद्यालयको पछाडी पट्टीको भाग खारिरहेको र त्यसले विद्यालयलाई नै जोखिम बनाएको शिक्षक गंगाबहादुर कार्कीले बताए ।
विद्यालयलाई क्षति पुग्ने भएपछि आफूहरुले समाधानको बाटो खोज्न विद्यालय व्यवस्थापन समितिको निर्णय सहित पटक–पटक आग्रह गर्दा समेत आफूहरुको मागलाई बेवास्ता गरेको प्रधानाध्यापक सन्तोष पौडेलले बताए । त्यस्तै विद्यालय समयभित्र मनलाग्दी ढंगले ब्लाष्टिङ्ग बिस्फोट गराउँदा र क्रसर मेसिन लगायतका ठूला–ठूला मेसिन सञ्चालन गरिँदा पठनपाठनमा समेत ठूलो असर पुगेको विद्यार्थी सुवाष भुजेलले बताए । उनले भने,‘विकास निर्माणको नाममा हाम्रो त पढाई नै प्रभावित भइरहेको छ, हाम्रो गुनासो कसले सुनिदेला ।’
आयोजनाको जालसाँजीले स्थानीयको रुवाबासी
लिखुतामाकोशी गाउँपालिका–४ की डिल्लीमाया तामाङले आयोजनाको सुरक्षाको लागि नेपाली सेनाको क्याम्प स्थापना गर्न जग्गा दिइन् । तामाङले आयोजनालाई जग्गा उपलब्ध गराइदिए बापत घर बनाईदिने साथै उनको श्रीमान र छोरालाई आयोजनामै रोजगारी दिने सहमति थियो ।
आयोजनाको सुरक्षामा खटिएका नेपाली सेना बस्नको लागि निर्माण गरिएका घरहरु पनि आयोजना सम्पन्न भएपछि डिल्लीमायालाई नै छोडिदिने समेत आश्वासन दिएको थियो । तर, अहिले आयोजनाले आफूलाई जवर्जस्ती १० लाख रुपैयाँ ऋण लिन लगाएको तामाङले बताइन् । उनले रुँदै भनिन,‘ निर्ब्याजी भनेर १० लाख रुपैयाँ ऋण लिन बाँध्य बनायो, ऋण स्वीकृत गर्ने नाममा झुक्याएर नेपाली सेनाको क्याम्प राख्न दिएको खेत दृष्टिबन्धक गरिदियो, १० लाख रुपैयाँ ऋण लिन जिल्ला मालपोत कार्यालय मन्थलीमा लगेर दृष्टिबन्धक पत्रमा ल्याप्चे चिच्न लगाएछन् पछि मात्रै थाहा भयो ।’ अहिले घरमा बिहान बेलुकाको छाक टार्न समेत समस्या भएपछि आफ्नो परिवार चालाउनको लागि गाउँ छाडेर शहरतिर भाँडा माझ्ने काम खोज्ने सुरसारमा आफू भएको डिल्लीमायाले बताइन् ।
अनुमति नलिइकन काम
सुरुङ मार्ग रोल्फू सामुदायिक बनमा पर्ने भएपनि आफूहरु सँग अनुमति नलिइ काम अगाडी बढाइएका रोल्फु सामुदायिक वन उभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर महतले बताए । उनले रोल्फु सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष टिका कार्कीलाई आयोजनाले प्रभावमा परेर उपभोक्ता समितिको निर्णयविना सिफारिस लिएको पाईको र उक्त सिफारिस उपभोक्ता भेलाले रद्द गरिदिएको बताए ।
अवरुद्ध आयोजना खुलाउन ४ बुँदे सहमति
रामेछापको लिखु तामाकोसी गाउँपालिकाका स्थानीय र श्वायत गंगा हाइड्रोपावर कम्पनीबीच अवरुद्ध २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना सुचारु गर्ने चार बुँदे सहमति भएको छ । गत पुस १७ गतेबाट रोकिएको आयोजनाको निर्माण १३ दिनपछि सुरु भएको जलविद्युत आयोजनाले बताएको छ ।
स्वेतगंगा हाइड्रो पावर कम्पनीका संचालक सुवर्णदास श्रेष्ठले आयोजना प्रभावित स्थानीय वडाका जनप्रतिनिधि र स्थानीय जनताबीच ४ बुँदे सहमितपछि आयोजनाको निर्माण पूर्णरूपमा सुचारु भएको बता ए । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले प्रवद्र्धक कम्पनी समक्ष गाउँपालिकाका लागि अस्पताल निर्माण, निशुल्क सेयर र विद्युतको माग अगाडि सार्नुभएको थियो । पटक–पटक अध्यक्ष खड्काले माग दोहोर्याउदा पनि पूरा नगरेपछि गत पुस १७ गतेदेखि आयोजनाको निर्माण ठप्प पारिएको थियो ।
विद्यमान कानुनी प्रावधान अनुसार वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमा उल्लेखित स्थानीय पूर्वाधार विकासमा छुट्याइएको रकम कम्पनीले खर्च गर्ने बताउदै श्रेष्ठले भने, ‘हामीले स्थानीय पूर्वाधार विकासको क्षेत्रमा खर्च गर्ने रकमको विवरण सरोकारवालालाई पारदर्शीरुपमा बुझाएका छौ, २ गाउँपालिकाको ६ वडाका प्रतिनिधिको प्रस्ताव गर्ने पूर्वाधार विकासमा रकम खर्च हुनेछ ।’ चालु वर्षबाट निर्माण सुरु भएको आयोजना २०७८ मा सम्पन्न गरेर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।
लिखुको अवरोधमा इपानको आपत्ति
रामेछापको लिखु–तामाकोशी गाउँपालिकामा निर्माणाधीन २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजनामा भएको अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले आपत्ति जनाएको छ । इपानले पत्रकार सम्मेलन नै गरेर निःशुल्क विद्युत र निःशुल्क शेयरको माग राखेर आयोजनाको काम नै रोक्ने प्रयास गरिनु दुःखद् रहेको जनाएको छ ।
इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले राज्यका सबै निकायबाट विद्यमान कानूनी प्रबन्ध पूरा गरी निर्माणमा रहेको आयोजना रोकेर गलत संस्कारको शुरुआत गरिएको बताए । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार पूरा गर्नुपर्ने सबै मापदण्ड पूरा गरिएको, स्थानीय जनताको माग सम्बोधन गरिएको अवस्थामा आयोजना रोकिनुले सरकारले घोषणा गरेको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा हुन नसक्ने उनको दावी छ ।
आयोजनाले बलमिच्याइँ गर्योः अध्यक्ष खड्का
रामेछापको लिुख तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले सानिमा हाइड्रोले स्थानीयको माग सम्बोधन नगरी झुक्याउने काम गरेको आरोप लगाएका छन् । उनले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा आफूले स्थानीयवासीको माग सम्बोधन गर्न राखेको विषयको सुनुवाई नभएको दाबी गर्दै माग पूरा नभएसम्म आयोजना सञ्चालन हुन नदिने बताए ।
स्थानीयवासीको जायज माग पूरा गर्न छोडेर आयोजनाले राजनीतिक पहुँचको आधारमा पेल्न खोजेको बताउँदै अध्यक्ष खड्काले भने,‘मैले कुनै स्वार्थ राखेको छैन, आयोजना बन्नुपर्छ भन्ने पक्षमा छु, तर जनताको उठिवास लगाएर आयोजना अगाडि बढन सक्दैन ।’
आफूले पटक–पटक आयोजनालाई स्थानीयको माग सम्बोधन गर्न आग्रह गर्दा पनि बेवास्था गरेर अगाडि बढेको बताउँदै नागरिकहरुप्रति अत्याचार नै भएपछि आफूले बाँध्य भएर आयोजनामा अवरोध सृजना गरेको बताए । उनले आफ्नै पार्टीका नेता र सांसदहरुले आयोजनामाथि अवरोध नगर्न दबाब दिएको खुलासा गर्दै जनताको जाजय माग पूरा गराउन जनप्रतिनिधिको हैसियतमा अन्तिम अवस्थासम्म पनि दृढतापूवक लाग्ने बताए ।