‘र’ले निम्त्याएको पुस महिनाका चर्चित चार काण्ड : रवि, रविन्द्र, रामबहादुर र रेशम !

Diyo post  


काठमाडौँ, १ माघ । २०७५ सालको पुस महिना सोमबार हिजोबाट सकिएको छ । आज माघ महिनाको १ गते अर्थात माघे सक्रान्ति ।


अन्य महिनाको तुलनामा वितेको पुस महिना ‘चर्चा’को शिखरमा रहयो । विभिन्न प्रकरणको चर्चाले यो महिना सामाजिक सञ्जालमा ट्रेन्डिङमा रहयो । संयोग यस्तो बन्यो की सबै प्रकरणमा ‘र’ हाबी भए ।


रवि लामिछाने, रेशम चौधरी प्रकरण, रविन्द्र अधिकारी र रामबहादुर बम्जन नाम पुस महिनाभर ट्रेन्डिङ बन्यो ।

रेशम चौधरीलाई कैद अवस्थामै सपथ


टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त मानिएका रेशम चौधरीलाई पुस १९ गते प्रतिनिधि सभाको सांसदको रुपमा सपथ खुवाइयो । एक जना नावालकसहित आठ जनाको हत्याका मुख्य अभियुक्तका रुपमा चौधरीलाई पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा राखिएको थियो । पुस १९ गते चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगरे सपथ ग्रहण गराइएको थियो । चौधरीलाई सभामुख कृष्णबहादुर महराले सपथ खुवाएका थिए ।

चौधरीको समथलाई लिएर देशव्यापी रुपमा सकारात्मक र नकारात्मक दुवैथरिका टिप्पणी भएका थिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायत केही संविधान विदहरुले चौधरीको सपथका चर्को आलोचना गरे । नेपाली कांग्रेसले त सरकारले दुई तिहाईको आडमा संविधानविपरित काम गरेको समेत आरोप लगाएको थियो । चौधरीको सपथ ग्रहणलाई लिएर मधेशवादी नेताहरु खुशी थिए । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले रेशम चौधरीको सपथ कानुनसम्मत रहेको बताएका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट चौधरीले ३४ हजार तीन सय ४१ मत प्राप्त गरेका थिए । जनमतबाट स्विकृत भएका चौधरीलाई प्रमाण विना नै एकातर्फी आरोपहरु लगाइएको बताइएको छ ।

रवि लामिछानेको ‘श्रीमतीकाण्ड’ले निम्त्याएको महाभारत


न्युज २४ मार्फत सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता रवि लामिछाने पुस महिनाभरि विवादीत रहे÷छन् । उनको चरित्रमाथि पुस महिनामा लागेको दाग सम्भवतः जीन्दगिभर नजाला । अमेरिकामा रहँदा उनी आफ्नी श्रीमतीलाई छोडेर परस्त्रीसंग लिभिङ टुगेदरमा बस्ने गरेको र अवैधानिक रुपमा सन्तान जन्माएको भन्ने समाचारले हंगामा मच्चाएको थियो ।


घरमा श्रीमती हुँदा हुँदैपनि अर्की युवतीसंग अनैतिक सम्बन्ध राखेको र तीनै विदेशीसंगको सम्वन्धका कारण रविले आफ्नी श्रीमती ईशा लामिछानेलाई सम्बन्धविच्छेद गर्न दबाव दिएको कुरा संचारमाध्यमहरुमा भाइरल भयो । खराब व्यक्तिहरुको पर्दाफास गर्ने, अरुलाई आचरण र नैतिकता सिकाउने तीनै रवि लामिछानेले भने आफ्नै श्रीमतीमाथि विगत २५ बर्षदेखि शोषण गरेको पाइएको थियो । आफ्नो बचाउका लागि रविले ईशासंगको सम्बन्धमा आत्मियता नभएको, उनीसंग संगै बस्न नसकेको इत्यादी कारणहरुले आफु अर्कैसंग लिभिङ टुगेदरमा बसेको बताएका थिए ।


प्रेम विवाह गरेका रवि र इशाको दुईवटा छोरी छन् । एउटी २५ बर्ष र अर्की १५ बर्ष । छोरीहरुको हेरचाहमा आफुले कुनैपनि कमी नराखेको रवि बताउँछन तर भौतिक कुराले मात्रै मानिस सन्तुष्ट हुने भन्ने हुँदैन । जब आफ्नै परिवारमा मेल छैन भने सन्तानको मानसपटलमा त्यसले कत्तिको नकारात्मक प्रभाव पार्छ भन्ने कुरा रविलाई पनि महशुस हुन पर्ने हो ।

उनकी श्रीमती इशाले अनलाईनखबरसंग गरेको कुराकानीमा रविको चार जना परस्त्रीसंग अनैतिक सम्वन्ध रहेको खुलाएकी थिईन् । सम्वन्धविच्छेदको लागि आफुलाई धनको लोभ देखाइएको पनि उनले बताएकी थिइन् । अमेरिकाको घर रविले श्रीमतीको नाममा गरेको बताएका छन् । रवि आफ्नी पत्नीसंग सम्वन्धबिच्छेद गरि चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेलसंग सम्वन्ध जोड्न चाहन्थे । यसका लागि पौडेलले पनि बारम्बार इनबक्समार्फत आफुलाई रविसंगको सम्वन्ध त्याग्नको लागि दबाव दिने गरेको इशाले बताएकी थिइन् । उनका अनुसार रवि र निकिताले हाल इंगेजमेन्ट गरिसकेका छन् ।

आत्मिक रुपमा टाढा भएतापनि भौतिक जिम्मेवारीको सम्पुर्ण बोझ आफुले उठाएको रविले बताएका थिए । समाजमा भएका वेथिती र अन्यायका बारेमा चर्को आवाज गरेर न्याय दिलाउन हिँड्दै गर्दा आफुले कसैमाथि अन्याय गरेको छु कि भनेर सोच्नु पर्छ कि पर्दैन ? अरुलाई नैतिकता सिकाउनेले आफु नैतिकवान हुनु पर्छ कि पर्दैनन् ? रवी लामिछानेका बारेमा यी र यस्तै प्रश्नहरु पुस महिनाभरि उठिरहे ।

वाइडबडी काण्डले तर्सिएका रविन्द्र अधिकारी !


नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले गत पुस १७ गते प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदनअनुसार निगमका महाप्रवन्धक सुगतरत्न कंशाकरलाई मुख्य दोषी ठहर गर्दै पर्यटन मन्त्रालयका बहालवाला मन्त्रीदेखि पुर्वमन्त्री र खरिद प्रक्रियामा संलग्न सचिवहरुलाई कारवाही सिफारिस गरेको थियो ।


महालेखा परिक्षकको ५५ औँ बार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानुनसम्मत नदेखिएको भनि स्पष्ट उल्लेख भएको हुँदाहुँदै त्यसको छानविन नगरि संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले जानीजानी अन्तिम किस्ता भुक्तानी गर्न आदेश दिएको देखिएको थियो । तर, पटकपटक आफ्नो कार्यकालमा कुनै भुक्तानी नदिएको दाबी गर्दै सम्मानित संसदमा आन्तरिक छानविनको प्रतिवेदन पेस गर्ने प्रतिवद्धता ब्यक्त गरेकोमा केबल औपचारीकताका लागि मात्रै निगमकै कार्यदल बनाए पनि सत्य तथ्य बाहिर ल्याइएको थिइएन । मन्त्री अधिकारीले गलत विवरण दिएको भनी रेकर्ड गराइएकोमा वाइडबडी विमान प्रकरणमा उनको वदनियतपुर्वक मिलेमतो देखिएको भन्दै कारवाही सिफारिस गरेको थियो ।


यता मन्त्री अधिकारीले भने आफुलाई फसाउन लागिएको बताएका थिए । पत्रकार सम्मेलन गरि आफुले कानुनसम्मत नै किस्ताको भुक्तानी गरेको र यदि किस्ता रोकिएको भए निगम टाट पल्टिने अभिव्यक्ति दिएका थिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भ्रष्टाचार प्रकरणमा मुछिएका ब्यक्तिलाई मन्त्री पदबाट निलम्वन गर्नुपर्ने माग राखेको थियो । अन्ततः प्रधानमन्त्री केपी ओलीको छायाँको कारण उनीमाथि चर्को ताप र राप पर्न नसकेको कुरा विभिन्न संचारमाध्यमहरुले लेखेका थिए ।

आश्रमभित्र यौनशोषण र हत्या प्रकरणमा रामबहादुर बम्जन खोजी


तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बमजन सिन्धुपाल्चोकस्थित आफ्नो आश्रममा विभिन्न महिलाहरुलाई यौन शोषण गर्ने र वेपत्ता पार्ने गरेको भन्दै विवादित बने । आश्रमकै चेला भएर बसेका नुवाकोटका चिनिमाया वाइबा र हेटौँडाका संजलाल वाइबा लामालाई वेपत्ता बनाइएको संचारमाध्यमहरुले चर्चाका साथ संप्रेषण गरे ।

बमजनकै आश्रमका सदस्यहरु रहेका चिनिमाया र संजलालको हत्या गरि आश्रम वरपर गाडीएको आरोप लगाएका थिए । गंगामाया सैवुले उनै तपस्वी वमजनले आफुमाथि पटकपटक यौन शोषण गर्ने बताएकी थिइन् ।

संचारमाध्यममा यस्ता प्रकारका समाचारहरु आउन थालेपछि रामबहादुर वम्जनको आश्रममा कुनैपनि पत्रकारहरुलाई प्रवेश गर्न दिइएन । खोज अनुसन्धानमा गएका पत्रकारहरुमाथि नै आक्रमण समेत भएको थियो । जिल्ला अदालत सिन्धुपाल्चोकले गत पुस २० गते वमजनको आश्रममा छापा मार्ने अनुमति दिएपछि सिआइवी र जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकको संयुक्त टोलीले छापा मारेको थियो । छापा मारेर प्रहरीले शंकास्पद स्थानहरुको उत्खनन् समेत गरेको थियो । उत्खनन् गरेको स्थानबाट सानासाना हड्डी भेटिएपनि ठुला हड्डीहरु भेटिन सकेनन् । यस विषयमा संचारमाध्यम र प्रहरीहरुले अझै अनुसन्धान गरिरहेका छन् ।

सम्बन्धित खबर