काठमाडौं, २ माघ । नेपाल एयरलाईन्सले खरिद गरेको वाईडबडीमा प्राविधिक समस्या आएपछि यात्रु अलपत्र परेका छन् ।
त्रिभूवन विमानस्थलबाट थाइल्याण्डको बैंकक जान विमानस्थल पुगेका यात्रुहरु विमानमा खराबी आएपछि अलपत्र परेका हुन् ।
नेपाल एअरलाईन्सको एयरबस ‘आरए ४०१’ मा थाईल्याण्ड उड्न विमानस्थल पुगेका यात्रूहरुलाई प्राविधिक समस्या भएको भन्दै केही घण्टादेखि कुराई राखिएको छ ।
स्रोतका अनुसार जहाजमा प्राविधिक समस्या आएका कारण उडानमा ढिलो भएको छ । २ बजेका लागि उडान तालिका तय गरिएको भएतापनि जहाजमा प्राविधिक समस्या आएका कारण २ घण्टा ३० मिनेट डिले हुने सुचना दिइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार जहाजमा खराबी आएपछि क्रेनले तानेर मेन्टिनेन्सका लागि लगिएको छ ।
‘हामी अन्यौलमा परेका छौँ । जहाजमा खराबी आएपछि बनाउन लगिएको छ,’ एक विशिष्ट प्रत्यक्षदर्शीले भने,‘पार्कीङबाट बनाउन लगिएको जहाज बनाउन समय त लाग्छ । तर मेरो बैंककको कार्यक्रमलाई भने असर पर्ने भयो ।’
नेपाल एयरलाईन्सले केही महिनाअघि खरिद गरेको यो जहाजमा ४ अर्ब ३५ करोड घोटाला भएको भन्दै छानबिन अघि बढिरहेको छ ।