जनप्रतिनिधिकै मिलेमतोमा बुढिगण्डकी किनारमा व्यापक बालुवा तस्करी (भिडियो सहित)

दियो पोस्ट  

काठमाडौं, । बुढिगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा व्यापक रुपमा बालुवा तस्करी हुने गरेको पाईएको छ । सरकारले मुआब्जा वितरण गरिसकेका ठाउँहरुमा अहिले अबैधानिक रुपमा बालुवा तस्करी हुने गरेको हो ।

धादिङको ज्वालामूखी गाउँपालिकाका प्रभावित क्षेत्रहरु वडा नं. १ र २ मैदी, वडा नं. ५ खरी लगायत क्षेत्रमा अबैध रुपमा बालुवा तस्करी भैरहेका छन् ।

केही समयअघि धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको प्रभावित क्षेत्रमा सरकारले छापा मारेको भएपनि यी क्षेत्रमा भने कडा निगरानी भएको पाईदैन ।

बालुवा तस्करीमा जनप्रतिनिधिकै हात
बालुवा तस्करीमा जनप्रतिनिधिकै हात रहेको पार्ईएको छ । गाउँपालिकाका अयक्षदेखि वडा अध्यक्ष स्वयं तस्करमा संलग्न भएको खुलेको हो । गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सेनासँगै वडा नं. १ मैदीका अध्यक्ष रामप्रसाद सिलवाल र वडा नं. २ का वडा अध्यक्ष रणबहादुर शाही लगायतको मिलेमतोमा बालुवा तस्करी हुने गरेको हो । सरकारले प्रभावित क्षेत्रको बालुवा उत्खनन अबैधानिक रहेको बताईरहँदा गाउँपालिकाका जनप्रतिनिधिबाट नै बालुवा तस्करसँग साँठगाँठ रहेको खुलेको हो ।

देविस्थानमा काउण्टर
देविस्थानमा बालुवा तस्करहरुबाट रकम उठाउन भनेर काउण्टर नै खडा गरिएको छ । सरकारले मुआब्जा वितरण गरिसकेको ठाउँबाट बालुवा उत्खनन गैरकानुनी हुने बताईरहेको बेला स्थानीय प्रशाशनबाट नै यस्तो काम भएको हो ।

गाउँपालिकालाई केही आयस्रोत हुन्छ भनेर काउण्टर राखिएको गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सेनाले बताए । उनले गाउँपालिकाबाट व्यवसायीहरुले बालुवा बेचेको विषयमा भने आफू अनविज्ञ रहको बताए ।
एकतातिर काउण्टर नै खडा गर्ने गाउँपालिकाका अध्यक्षले व्यवायीले बालुवा अनाधिकृत रुपमा बेच्ने गरेको भन्ने विषयमा अनविज्ञता प्रकट गर्नु नै गाउँपालिकाका अध्यक्ष नै संलग्न भएको प्रमाण हो । उनले यो कामलाई अबैधानिक या भनौँ गैरकानुनी भन्न भने सकेनन् । बरु उनले यो काम रोक्ने वा नरोक्ने विषयमा निर्णय भैनसकेको र छलफल भने चलिरहेको बताए ।
डुवानमा परेपछि खेर जाने बस्तुलाई प्रयोगमा ल्याउदैमा कुनै असर नहुने आफ्नो मान्यता भएको भएपनि बालुवा बेच्ने कुरा बैधानिक या अवैधानिक के हुने भन्ने विषयमा आफू जानकार नरहेको उनले बताए ।
उनले आफूले व्यवस्थित रुपले कर लिने वातावरण बनाउने पक्षमा रहेका बताए । उनले गाउँपालिकाको नै रसिद दिएर कर उठाउने गरिएको बताए ।

छोटो बाटो हुँदै तस्करी
ज्वालामुखी गाउँपालिकामा उत्खनन भएको बालुवा धादिङको ससाह हुँदै दैनिक ४० टिप्पर भन्दा धेरै बालुवा काठमाडौंतर्फ तस्करी हुने गरेको छ । नेकपाको ज्वालामुखी गाउँपालिकाका अध्यक्षको दाबेदार भानुभक्त दुवाडी र हरी दुवाडीको मिलेमतोमा बालुवा रातारात काठमाडौं पुग्ने गरेको हो । ज्वालामूखी १ र २ बाट अबैध रुपमा उत्खनन भएको बालुवा काठमाडौंको धरहरामा पनि प्रयोगका लागि पुगेको बुझिएको छ ।

कत्ति लिन्छ एक टिपको ?
बालुवा तस्करीहरुले त्यहाँका स्थानीयबासिन्दासँग नै एक टिपको २४ हजार रुपैयाँसम्म लिने गरेका छन् । मैदी आसपासमा नै बढि बालुवा बेच्ने उनीहरुले त्यहाँका स्थानीयबासिन्दासँग नै २४ हजार रुपैयाँको हाराहारीमा १ टीप बालुवाको पैसा लिने गरेको स्थानीयबासिन्दाको भनाई छ ।
सानो टिप्परको भने १४ हजार रुपैयाँ सम्म लिने गरिएको छ । काठमाडौं पुर्यादा भने एक टीप बालुवाको ३२ हजार रुपैयाँसम्म लिने गरेका छन् ।

जिल्ला प्रशासन भन्छ, “बालुवा उत्खनन कार्य अबैधानिक हो”
केही समयअघि धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका प्रभावित क्षेत्रमा सरकारी अनुगमन टोलीले नै छापा मारेको थियो । अवैध रुपमा बालुवा उत्खनन कार्य तत्काल बन्द गर्न भन्दै पटक पटक आग्रह गर्दा समेत अटेर गरेपछि छापा मारिएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले दियोपोष्टलाई बताए ।
उनले भने, “मैदी र खरीमा पनि त्यस्तो काम भएको भन्ने सुन्नमा आएको छ । हामीले सुरक्षा टोली परिचालन गरेका छौँ । त्यस क्षेत्रमा पनि हामी छापा मार्छौँ र कारबाहीको दायरामा ल्याउछौँ” उनले सुरुमा ५० हजार रुपैयाँसम्म जरिवाना तिराउने र त्यसपछि सबै उपकरणहरु जफत गरिने बताए ।
मुआब्जा तिरिसकेको जग्गाबाट बालुवा उत्खननको काम पूर्ण रुपमा गैर कानुनी रहेको उनले बताए । अबैध बालुवा उत्खनन रोक्न जनपथ र ससस्त्र प्रहरी दुबै परिचालन गरिएको पनि उनको भनाई छ । हेर्नुहोस् भिडियमा

TATA ADD