डिएसपी काफ्ले भन्छन्, ‘प्रहरीलाई घुस दिन खोज्ने माथि ठाउँको ठाउँ कारवाही हुन्छ’

Diyo post  

काठमाडौँ, माघ ५ । देशमा शान्ति सुरक्षा प्रदान गर्नको लागि राज्यले प्रहरीको परिचालन गर्दछ । राज्यभित्र खासगरि शहरी इलाकाहरुमा दिनदाहाडै लुटपाट हुने, हत्या हिंसा जस्ता जघन्य अपराधहरु भइरहेका हुन्छन् । राजधानीकै कुरा गर्दा विभिन्न किसिमका अवैधानिक कामहरु भइरहेका हुन्छन् । राजधानीको गल्लीगल्लीमा मानिसहरु आफुलाई असुरक्षित महशुस गर्र्दछन् । सुरक्षा संयन्त्रहरु सक्रिय हुँदा पनि यस्ता प्रकारका कामहरु भइरहेकै हुन्छन् । आम नागरिकसंग प्रहरीको भुमिका कस्तो हुने र शहरीकरण बढ्दै जाँदा आपराधिक गतिविधिलाई रोक्नको लागि प्रहरीले कस्तो कार्यक्रम ल्याउँदै छ ? महानगरिय प्रहरी वृत्तका प्रहरी नायब उपरिक्षक गोविन्दराज काफ्लेसँग दियोपोस्ट संवाददाताले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।

प्रहरीले नागरिकसँग जोडेर कस्तो कार्यक्रम सञ्चालन गरिरहेको छ ?

विशेषगरी हामीले नागरिकहरुको शान्ति सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिरहेका छौं । गृह मन्त्रालयले अगाडि सारेको टोलटोलमा प्रहरी अभियान तीन महिना सञ्चालन गर्यौ । स्थानीय तह, सामुदायिक केन्द्र, नागरिक समाज, विभिन्न संघ संस्थाहरुको सहकार्यमा कार्यक्रम सञ्चालन हाम्रो इकालाभित्र रहेका आम नागरिकले प्रहरीमाथि हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको छ । प्रहरी प्रधान कार्यालयले अगाडि सारेको कार्यक्रम अन्तर्गत, महिला हिंसाको घटना न्युनिकरण, सडक सुरक्षा, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने लगायतका विभिन्न अभियान सञ्चालन भइरहेको छ ।

अहिले प्रहरी प्रधान कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन गर्नको लागि हाम्रो जिम्मेवारी ईलाकाभित्र रहेका महानरपालिकाका वडाहरुसँग समन्वय गरेर काम गरिरहेका छौं । समुदाय–प्रहरी वडा समिति भनेर गठन गरेका छौं । कोटेश्वर, काडाँघारी, नयाँवानेश्वर महानगरपालिकाको १०, ३१ र ३२ वडाहरुभित्र रहेको पचास वटा भन्दा बढी विद्यालयहरुमा प्रहरी विद्यालय समिति गठन गरेका छौं ।

स्थानीय तह र विद्यालय, संघ संस्था, आमा समुह, सामुदायिक केन्द्रको समन्वयमा गठन भएको समितिले अहिले विभिन्न जनचेतनाको कार्यक्रम सञ्चालन गरिरहेका छौं । विद्यालयमा गएर विद्यार्थीहरुलाई कसरी सुरक्षित हुने, लागू औषध दुव्यसनीबाट कसरी बच्ने, सामाजिक सञ्जालको दुरुपयोग रोक्ने विषयमा जानकारी गराउदै साइबर क्राइमको बारेमा पनि सूसुचित गरेका छौं । यस अभियानले सकारात्मक धारणा बृद्धि भएको महशुस गरेका छौ । आगामी दिनमा पनि निरन्तरता दिने योजना बनाएका छौं । वृत्तले तीन लाख जनसंख्या हेर्नुपर्ने अवस्था छ । काँडाघारी र कोटेश्वरमा प्रभाग गरेको छ ।

शहरीकरण बढदै छ, जसको कारण विभिन्न अपराधिक क्रियाकलाप पनि हुने गरेका छन् । नयाँ कार्यालय थप्नु पर्ने अवस्था छ कि ?


दिन प्रतिदिन जनसंख्याको बृद्धि हुने क्रम बढ्दो छ । समाजमा वेरोजगारको बढोत्तरी भइरहेको सन्दर्भमा अपराधिक गतिविधिमा लाग्ने सम्भावना हुन्छ । स्वभाविक रुपमा जनशक्ति थप गर्नुपर्ने आवश्यकता छ । आम नागरिकहरुले प्रहरीबाट जुन सेवा खोज्नु भएको छ । हामीले सकेसम्म त सेवा दिएका छौं । अझै पनि केही स्थानहरुमा प्रहरी युनिटहरु राख्नु पर्ने देखिन्छ । यसको लगि हामीले गृहकार्य पनि गरिरहेका छौं । स्थानको पहिचान गरेर हामीले हाम्रो निकायमा जाहेर गरेका छौं ।

प्रहरीलाई प्रविधिमैत्री बनाउदै लैजाने कुरा आएको छ, वृत्तले कतिको प्रयोग गरेको छ ?


–अपराधको अनुसन्धान एवं अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रविधिको निकै ठूलो महत्व छ । सडक दुर्घटना रोक्ने सबालमा पनि सिसी क्यामेराको आवश्यकता छ । सडक दुर्घटनाको अनुसन्धान गर्न झन अपरिहार्य छ । विगतमा भएको दुर्घटनाको बारेमा पारदर्शी ढंगले न्याय दिन सफल भएका छौं । विवादमा रहेका सवारी दुर्घटनामा पनि सिसी क्यामेरोका फुटेजबाट सफल अनुसन्धान गर्न पनि सहज भएको छ । बिजुली बजारदेखि लिएर जडिबुडीसम्म र बालकुमारीसम्म अहिले मेट्रो कन्ट्रोलमा रहेका सिसी क्यामेरा मार्फत निगरानी हुन्छ । ३२ वटा भन्दा बढी सिसी क्यामेराले हाम्रो क्षेत्रमा निगरानी गरिरहेका छ । निजी क्षेत्रहरुले पनि विभिन्न स्थानहरुमा सिसी क्यामेरा जडान गरेका छन् ।

हाम्रो कन्ट्रोलसँग नजोडिएका निजी क्यामेरा पनि हाम्रो आवश्यकता अनुसार अनुसन्धानको लागि प्रयोग गर्ने गरेका छौं । कागेश्वरी मनहरा नगरपालिकाभित्र पनि विभिन्न १८ ठाउँमा सिसी क्यामेरा जडान गरेको छ । सुरक्षित नागरिक समाज भन्ने संस्थाले सिसी क्यामेरा नभएको १८ स्थानमा राख्नको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

दस नम्बर वडा कार्यालय अन्तर्गत ७० ठाउँमा सिसी क्यामेरा जडान भएको छ । त्यसको निगरानी वडा कार्यालयबाटै हुँदै आएको छ । त्यसलाई हामीले वृत्तमा ल्याउनको लागि पहल भइरहेको छौं । सिसी क्यामेरा मार्फत अनुसन्धानमा सहजता, पारदर्शीता लगायतको काममा सहयोग पुग्नेछ ।

प्रहरीले घरेलु मदिरा मात्र नष्ट गर्यो । तर लाइसेन्स विना नै पसलहरुबाट मदिरा विक्री भइरहेदा पनि वास्ता गरेन भन्ने गुनासो छ नि ?

अवधै घरेलु मदिरा उत्पादन र विक्री वितरण नियन्त्रण गर्न हामीले अभियान चलाएका छौं । जुन अभियान सफल पनि भएको छ । वानेश्वरको सुकुम्बासी वस्तीमा दुई पटक अप्रेसन सञ्चालन ग¥यौ । कागेश्वरी मनहरा नगरपालिका–७ कृष्णमन्दिर आसपासमा एरियाहरुमा पनि अवैध घरेलु मदिरा नष्ट गरेका छौं । सात महिनाको अवधिमा २५ हजार भन्दा बढी घरेलु मदिरा बरामत गरेर स्थानीय जनप्रतिनिधि र स्थानीय रोहबरमा नष्ट गर्ने काम गरेका छौं । हामीले मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने घरेलु मदिरा उत्पादन र बेचबिखन नगर्न जनचेतनाको कार्यक्रम पनि सञ्चालन गरेका छौं ।

जुवातासको नियन्त्रणको काम कसरी अगाडि बढेको छ ?


जुवातास पनि अवैध गतिविधिभित्र पर्छ । जुवातास खेल्न र खेलाउन पनि हुँदैन भन्ने कुरा जुवा ऐनमा नै उल्लेख भएको छ । विगत सात महिनाको अवधिमा जुवा ऐन अन्तर्गत सात वटा मुद्दाहरु दर्ता गरेर ४५ जना व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गरेका छौं । दस लाख बराबरको रकम बरामद गरेर कानुन बमोजिम अगाडि बढाएका छौ । संगठित रुपमा र व्यवसायिक रुपमा जुवतास खेल्ने र खेलाउने क्रम घटेको छ । हामीले सबैतिर निगरानी बढाएका छौं ।


काडाँघारीमा बालुवा व्यापारीसँग पैसा लिदालिदै प्रक्राउ परे नि ?


त्यो दुःख नै घटना भन्नुपर्छ । कानुन बमोजिम कारवाही गर्ने व्यक्तिहरु नै त्यस्तो काममा संलग्न हुनु गलत हो । उक्त घटनालाई मैले निकै गम्भीरतापूर्वक लिएको छु । गलत काम गर्ने प्रहरीमाथि सम्बन्धित निकायले अनुसन्धान अगाडि बढाइरहेको छ । प्रहरी कर्मचारीहरु भ्रष्टचारमा संलग्न हुनुहुँदैन । यदी कोही कसैले प्रभावमा पारेर हामीमाथि गतिविधि हुन सक्छ । त्यसको लागि सचेत हुनुपर्छ भन्ने निर्देशन दिएका छौं । डियुटीमा खटिएका प्रहरीहरुलाई आर्थिक प्रभावमा पारेर आफ्नो काम लिने दुष्प्रयास गर्ने दस जना व्यक्तिहरुलाई घुस दिदै गरेको पैसा सहित नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही पनि गरेका छौं । अहिले प्रहरीलाई पैसा दिने व्यक्तिलाई पक्राउ गर्ने प्रहरीलाई पुरस्कृत गर्ने काम पनि अगाडि बढेको छ ।


नागरिकहरुलाई तपाईको के आग्रह छ ?


नागरिकहरुबाट हामीले साथ सहयोग प्राप्त गरेका छौ । हामी आभारी छौ । यदी प्रहरीबाट भएका सानातिना कमजोरी छन भने पनि हामीलाई समयमा नै जानकारी गराउन आग्रह गर्दछु । हामी सबैको उदेश्य, समृद्ध र सुरक्षित समाज निर्माण गर्ने नै हो । आम नागरिकहरुलाई सुरक्षित बनाउने नै हो । प्रहरीले गरेका राम्रो काम पनि प्रशसा होस र नराम्रो कामको पनि सम्बन्धित निकायमा आएर सुझाव दिनहोस । नागरिकहरुको हक हित र सुरक्षाकै काममा हामी लागेका छौं ।


वृत्त अन्तर्गत रहेका क्षेत्रमा कुनै घटना घटयो भने कसरी सिधै सम्पर्क गर्ने ?


नागरिकहरुको लागि सबै भन्दा सजिलो त १०० नै हो । यदी १०० मा नगरी सिधै नयाँ वानेश्वर वृत्तको प्रमुखकको फोन नम्बर ९८५१२८०११६ मा २४ सै घण्टा उपलब्ध हुन्छ । हाम्रो डियुटी अफिसरको नम्बर ९८५१२८३०१८ मा पनि यहाँले सूचना दिन र सहयोग लिन सक्नुहुनेछ । मेट्रो कन्ट्रोले पनि अहिले नयाँ प्रविधि ल्याएको छ । जस्तो १०० मा फोन गरेको अवस्थामा १०० ले सिधै फिल्डमा बस्नु भएका सिआरबी,मोबाईल र डियुडी अफिसरको नम्बरमा सिधै सम्बन्धित सूचनाकर्तालाई सिधै सम्पर्क गराइदिने प्रणाली सुरु भएको छ ।

सम्बन्धित खबर