दियोपोस्ट संवाददाता
धादिङ, ११ माघ । गत पुस १९ गते जिल्ला प्रहरी कार्यालय धादिङ र प्रदेश ३ प्रहरी कार्यालयले संयुक्त रुपमा बरामद गरेको ४ किलो सुन जस्तो देखिने बस्तु बरामद गर्दाको अवस्थामा नै ‘नक्कली सुन’ भएको तथ्य खुलेको छ ।
पक्राउ परेका अभियुक्तहरुले सरकारी वकिल समक्ष दिएको बयानका क्रममा समेत आफूहरुले नक्कली सुन नै बेच्न आएको र धादिङको गजुरीमा प्रति किलो २० हजार रुपैयाँमा नक्कली सुन विक्री गर्ने तयारी गर्दै गर्दा प्रहरीले गजुरीबाटै पक्राउ गरेको बताएका छन् ।
‘हामीले काठमाडौंबाट नक्कली सुन नै ल्याएका थियौँ । प्रहरीलाई सुन जस्तो देखिने पित्तल दिएका हौँ ,’ जिल्ला प्रहरी कार्यालय धादिङमा हिरासतमा रहेका सन्जित वाईबाले दियोपोस्टसँग भने,‘प्रहरीले हामीलाई सुन होकी होइन भनेर सोधेन । कहाँबाट ल्याइस् भनेर मात्रै सोध्यो । यो पित्तल हो भन्ने हामीलाई पहिल्यै थाहा थियो ।’
वाईबाले आफूले नक्कली सुन बेच्नका लागि काठमाडौंबाट ल्याएको समेत बताए ।
‘दुई जना अन्य व्यक्तिको सहयोगमा हामीले काठमाडौंबाट पित्तललाई सुन भनेर बेच्न ल्याएका हौँ । एउटा बिस्कुटबाट २० हजार रुपैयाँ हामीलाई कमिशन आउँथ्यो,’ वाईबाले दियोपोस्टसँग भने,‘एक वर्षदेखि नै यही विषयमा कुरा भएको थियो ।
नक्कली सुन नै बेच्ने कुरा थियो । हामीले नक्कली सुन ल्याएर सक्कली भनेर बेच्ने भनेका थियौँ । किन्ने मान्छेले सक्कली नै भनेर पैसा दिने कुरा थियो ।’
वाईबाका अनुसार उनीहरुले सुन जस्तो देखिने वस्तु काठमाडौंबाट ल्याएका थिए । वाईबासँगै पक्राउ परेका दुई युवाले भने आफूहरु गोङ्गबु स्थित एक होटलमा कुकको काम गर्ने गरेको र मदिराको ‘तालमा’सँगै आएको बताए ।
सुन साटिएको हल्ला मात्रै !
केही सञ्चार माध्यममा प्रहरीले बरामद गरेको सुन राजश्व अनुसन्धान विभागमा पुर्याउँदै गर्दा साटिएको र परिक्षणका क्रममा पित्तल र तामा भेटिएको भन्दै खबर आएपनि त्यस्तो नभएको पाइएको छ ।
दियोपोस्टले प्राप्त गरेको बरामदी मुचुल्कामा सोही नम्बरको सुन जस्तो देखिने बस्तुलाई राजश्व अनुसन्धान विभागले परिक्षण गरेको भेटिएको छ । गत पुस २० गते पत्रकार सम्मेलनका क्रममा प्रहरीले सार्वजनिक गरेको सुनको चारै वटा बिस्कुटमा नम्बरहरु उल्लेख गरिएको थियो ।
प्रहरीले बरामद गर्दा चारवटा मध्ये तीन वटाको बिस्कुटमा अंग्रेजी अक्षेरमा YUPENG GOLD 1 KILO FINE GOLD 9999.9 लेखिएको थियो । तीन वटाकै नम्बर भने फरक थियो – क्रमश : Y.185479,Y.185475, Y.185266
चार मध्ये एउटाको फरक आकृति थियो ।
जसमा लेखिएको थियो– JOHNSON MATTHEY 999.9 FINE GOLD 1 KG AA 94034
प्रहरीले सोही दिन परिक्षणका लागि राजश्व विभागमा पुर्याउँदा पनि यही नम्बर टेस्ट गरिएको थियो ।
दियोपोस्टलाई प्राप्त भिडियोमा राजश्व विभागका कर्मचारीले सोही नम्बरलाई परिक्षण गरेका छन् ।
राजश्व अनुसन्धान विभागबाट नक्कली सुन प्रमाणित भएपछि फिर्ता ल्याएको सुन जस्तो देखिने
वस्तुको तस्विर र भिडियो पनि हामीले लिएका थियौँ । उक्त नम्बर पनि उस्तै छ ।
को हुन् पक्राउ परेका अभियुक्त ?
प्रहरीले गत पुस १९ गते राती ४ किलो सुन जस्तो देखिने बस्तुसहित बा. ८७ प ७७३१ र प्रदेश ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकलमा ३ जना व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्तहरु रसुवाका २७ वर्षिय अजित वाईबा, नुवोकोट तार्केश्वरीका २ का २२ वर्षिय सुरेन्द्र तामाङ र २४ वर्षिय विकास तामाङ रहेका थिए ।
पक्राउ परेका अभियुक्त मध्ये सुरेन्द्र र विकास होटलमा काम गर्थे भने अजित कोरिया जाने योजनामा थिए । कोरिया जाने सपना बोकेका उनको काँधमा बाबु, आमालाई पाल्ने जिम्मेवारी समेत थियो । तर, काठमाडौं स्थित एक दलाल उनलाई कोरिया पठाईदिन्छ भन्दै १ लाख लिएर बेपत्ता भए । सोही पैसा उठाउने चक्करमा उनले काठमाडौंमा उनले एक युवासँग चिनजान गरेका थिए । प्रहरीको खोजी सुचीमा रहेका ती युवाले उनलाई ‘नक्कली सुनको कारोबार’ को सल्लाह दिए । उनकै सल्लाहको आधारमा तामाङ ८० हजार रुपैयाँको आशामा सुरेन्द्र र विकासलाई लिएर धादिङ हिँडेका थिए । उनका अनुसार धादिङको गल्छीमै उनीहरुले नक्कली सुन बेच्ने योजना बनाएका थिए । तर, प्रहरी अपरेशनमा परेपछि उनीहरुको योजना मात्रै तुहिएन नक्कली सुनको ठूलो गिरोहको खोजीमा प्रहरी लागि परेको छ ।
प्रहरीले दुई जना फरार अभियुक्तको पहिचान गरिसकेको छ । ‘हामीले पहिचान गरिसकेका छौँ ,’ जिल्ला स्थित प्रहरी प्रवक्ता डिएसपी श्याम कुमार महतोले भने,‘हामी छिट्टै यो धन्दाको गिरोहसम्म पुग्नेछौँ ।’
ठूलो माछा तिर ध्यान दिँदा प्रहरीले चुकेको एउटा ‘प्रश्न’
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङ्गेलले पक्राउ परेका अभियुक्तलाई सोधेका थिए,–‘यो सुन सक्कली त हो ?’ तर, उनको प्रश्नमा पक्राउ परेका अभियुक्तले कुनै जवाफ दिएनन् । प्रहरीले अभियुक्तलाई ‘यो सुन कहाँबाट ल्याएयौ ?’ भन्ने प्रश्न धेरै सोध्यो । किन भने ‘ठूलो गिरोहको धन्दासम्म’ पुग्ने चाहना हरेक प्रहरी अफिसरको हुन्छ नै । प्रहरीको यही प्रश्नपछि अभियुक्तले,–‘काठमाडौंबाट एउटा दिदिले पठाएको’ भन्ने बयान दिए र लगत्तै प्रहरी टोली काठमाडौं हानियो । हालसम्म सिआइबीको टोली त्यो गिरोहको पिछा गरिरहेको छ ।
ठूलो गिरोहको खोजी गर्दा प्रहरीले यता बरामद गरेको बस्तु भने राजश्वबाट नक्कली सुन भएको पुष्टि भयो । ‘हामीसँग प्रविधि थिएन । हामीले पत्रकार सम्मेलनका क्रममा पनि सुन जस्तो देखिने बस्तु नै भनेका थियौँ,’ प्रहरी निरिक्षक ढुङ्गेल भन्छन्,‘प्रहरीले बरामद गर्ने वित्तिकै परिक्षण गर्दैन । परिक्षण गर्ने निकाय आन्तरिक राजश्व विभाग हो । बरामद गर्दा सुनकै आकृतिको विस्कुट फेला परेपछि सञ्चार माध्यममा सुन नै भनेर आयो । हामीलाई अभियुक्तहरुले पनि कुनै जवाफ दिएनन् ।’
जम्मा २ घण्टाको बाटोमा फेरी त्यही परिमाण, त्यही साइजको सुन साट्नका लागि कुनै चमत्कार हुनुपर्छ’ : (डिएसपी) श्याम कुमार महतो
पुस १९ गते सुन बरामद हुनुअघि कस्तो सुचना आएको थियो ?
हामीलाई विशेष सुत्रबाट सुचना आउँछ । सुत्र हामीले गोप्य राख्नुपर्ने हुन्छ । केही ‘व्यक्तिहरु मोटरसाइकलमा अवैध सुन ओसार पोसार गर्दै आएका छन्’ भन्ने हामीलाई सुचना आएको थियो । प्रहरीलाई ती व्यक्तिहरुको हुलिया प्राप्त भएको थियो ।
सुचना आएपछि हामी दुवै टोली संयुक्त रुपमा परिचालन भएका थियौँ । चेक जाँच गर्दा त्यही हुलियाको आधारमा मिल्दो जुल्दो व्यक्तिहरुलाई हामीले चार वटा सुनको विस्कुट जस्तो देखिने बस्तुहरु सहित तीन जनालाई पक्राउ गर्यौँ ।
बरामद गरेपछि सुन वा पित्तल भन्ने निर्क्याैल किन गर्नुभएन ?
प्रहरीले पनि नाङ्गो आँखाले हेर्ने हो । हामीसँग त्यो परिक्षण गर्ने प्रयोगशाला थिएन । त्यो सुन जस्तो देखिने बस्तु हामीसँग अहिलेपनि सुरक्षित छ । त्यतिखेर पनि पत्रकारसम्मेलन गरेर नै सञ्चार माध्यममा आएको हो । सुन हो की होइन भन्ने कुरा हामीले नाङ्गो आँखाले छुट्याउन सकेनौँ ।
यकिन नभएको वस्तुलाई पत्रकार सम्मेलनमा सुन भनेर किन सार्वजनिक भयो ?
हामीले बरामद गरेपछि यकिन नभएसम्म ‘सुन जस्तो’ भनेका थियौँ । सुन जस्तो देखिने बस्तु सुन नहुन पनि सक्छ । सुनको विस्कुटमा फाइन गोल्ड ९९९.९ लगायत लेखिएको थियो । त्यो सुन हो की होइन भन्ने विषय त ल्याब परिक्षणबाट मात्रै थाहा हुन्थ्यो । धादिङमा टेस्ट गर्ने प्रविधि नै छैन । धादिङका सुन चाँदी व्यावसायीहरुसँग ५०० ग्रामका सुन जोख्न सक्ने उपकरण मात्रै उपलब्ध थियो ।
सुन बरामद भएपछि हामीले राजश्व अनुसन्धान विभाग नै पठाउने हो । परिक्षणका क्रममा नक्कली भनेर प्रमाणीत भयो ।
बरामदका क्रममा अभियुक्तहरुलाई यो नक्कली की सक्कली भनेर सोध्नु भएन ?
त्यतिबेला हामीले सोधेका थियौँ । तर, उनीहरुले केही बोलेनन् । हामीलाई त्यतिबेला त्यतिका परिमाणको सुन कहाँबाट आयो ? त्यसको ठूलो संगठित जालो खोज्ने तिर ध्यान गयो र हामी त्यो दिशामा लाग्यौँ । तर, उनीहरुलाई नक्कली सुन भनेर थाहा थियो । उनीहरुले सरकारी वकिलसमक्ष पनि हामीले नक्कली सुन ल्याएका हौँ भनेर बयान दिएका छन् । उनीहरुले प्रतिगोटा २० हजारका दरले चारवटा विस्कुटको ८० हजारमा कबोल गरेर बेच्न ल्याएको रहेछ ।
पक्राउ परेका अभियुक्तको पृष्ठभूमि कस्तो छ ?
पक्राउ परेका अभियुक्तहरुको आपराधिक पृष्ठभूमिबारे केही खुलेको छैन । यीनीहरु विदेश जान कोशिस गरिरहेका रहेछन् । यही क्रममा पैसा पनि फसेको रहेछ । विदेश जाने पैसा नभएपछि केही हुन्छ की भनेर उनीहरुले यो कारोबार गरेका रहेछन् ।
पक्राउ गर्दा सुन, परिक्षण गर्दा तामा वा पित्तल भएको भन्ने आशंका छ नी ?
हामीले अभियुक्तसहित सुन जस्तो देखिने बस्तो बरामद गरेका हौँ । हेर्दा पनि त्यही देखिएको थियो । त्यो वस्तु अझै पनि हामीसँगै छ । सुन जस्तै देखिएपछि हामीले सुनै भनेका थियौँ । उनीहरुले पनि वास्तविक कुरा भनेनन् । हामीलाई समयको पावन्दी हुन्छ । सिमित समयभित्र हामीले राजश्व अनुसन्धानलाई बुझाउनुपर्ने हुन्छ । त्यो प्रक्रियामा हामीले पु¥यायौँ । राजश्वमा परिक्षणका क्रममा हामीले नक्कली सुन भएको पायौँ । हामीले फेरी थप अनुसन्धान पश्चात हामी ठगी मुद्दामा गयौँ । सामान्यतय आफुसँग भएको सुनको ढिक्का २० हजारमा कसैले दिँदैन । यीनीहरुको उद्देश्य ठगी नै हो । यो कुरा उनीहरुले स्विकार पनि गरेको छ । अनुसन्धान अधिकृत र सरकारी वकिलसँग बयान पनि दिएका छन् ।
यो नक्कली सुनको कारोबारमा अन्य कुनै ठूलो नेक्सस पनि छ की ?
२ जना व्यक्तिहरु अहिले फरार अवस्थामा छन् । हामी खोजतलाशकै अवस्थामा छौँ । दुई तिन महिनाअघि ती व्यक्तिसँग यीनीहरुको भेट भएको र भेटका क्रममा आफूसँग यस्ता सुन जस्तो देखिने बस्तु रहेको बताएको रहेछ । पैसाको लोभ देखाएर यीनीहरुलाई प्रयोग गरेको देखिन्छ ।
प्रहरीले नै साटेको भन्ने हल्ला पनि आयो यस विषयमा के भन्नुहुन्छ ?
यो निकै भ्रामक हल्ला हो । जतिबेला सुन बरामद भएको थियो । त्यसमा विभिन्न लेखावट हुन्छ । अंक र अक्षर हुन्छन् । प्रहरीले बरामद गर्दा जनप्रतिनिधि, प्रदेश प्रहरी, गजुरी प्रहरी स्थानिय सरोकारवाला निकायसहित मुचुल्का गरेको छ । जुन मान्छेबाट सुन बरामद भएको छ उसबाट यकिन गरेर मुचुल्का गरिएको थियो ।
पत्रकार सम्मेलनका क्रममा सार्वजनिक भएको विस्कुटको नम्बर, राजश्व अनुसन्धान विभागमा परिक्षण गर्दाको नम्बर र हामीसँग अहिले भएको बिस्कुटको नम्बर एउटै छ म अहिले पनि चेक गराउन सक्छु । कतिपय मान्छेले बाटोमा परिवर्तन गरियो भन्ने हल्ला समेत फैल्याएका छन् । त्यो त्यति सहज होला त ? किनभने चारवटा ढिक्कामा भएका मार्क, लेखाई अंक छ यहाँबाट काठमाडौं लैजाँदैगर्दा जम्मा २ घण्टामा बाटोमा फेरी त्यही परिमाण, त्यही साइजको परिवर्तन गर्नका लागि कुनै चमत्कार हुनुपर्छ । यस्ता भ्रामक विषय कसरी आइरहेको छ हामी अचम्ममा छौँ ।