काठमाडौं, १३ माघ । धादिङको उच्च पहाडी क्षेत्र रुभीभ्याली गाउँपालिका ४ हिल्दुङमा लगातारको हिम्पातका कारण २ जना व्यक्ति सहित २ सय ६० भन्दा धेरै भेडाभेँडी सम्पर्क विहिन भएका छन् ।
बाक्लो हिम्पातबाट जोगिन स्थानिय पहाडको ओडारमा पुगेका उनीहरुलाई ओडारको पहिरोले पुरेको थियो । पहिरोका कारण स्थानिय ४५ वर्षिय नुर्वु तामाङ र १८ वर्षिय धन बहादुर तामाङ पुरिएको आशंका गरिएको छ ।
पहिरोमा पुरिएको अवस्था अबलोकन गर्नका लागि प्रदेश सांसद जगत सिंखडा, पूर्व गृहमन्त्री बुद्धिमान तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी धोलक राज ढकाल सहित सुरक्षा निकायको टोली त्यस तर्फ पुगेको थियो ।
सांसद सिंखडाका अनुसार उद्दारका लागि गृहमन्त्री राम बहादुर थापा मार्फत नेपाली सेनाको हेलिकोप्टर समेत पठाउने तयारी भईरहेको छ ।
जिल्ला स्थित सुरक्षासमितिले निर्णय गरेर पठाएपनि मौसम खराबीको कारण सेना त्यस तर्फ प्रस्थान गर्न सकिरहेको छैन ।
सहायक प्रजिअ ढकालका अनुसार निकै ठूलो चट्टान पहिरिएका कारण उद्दारका लागि समस्या भएको छ ।