काठमाडौँ, १५ माघ । मलेशियाको डब्लुआरपी कम्पनिमा कार्यरत करिब २ हजार कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएपछि आन्दोलित बन्नु परेको छ ।
नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिए पछि मलेशिया सरकार दमनमा उत्रिएको छ । उनीहरुले भिडियो खिच्ने नेपाली श्रमिकमाथि कुटपीट समेत गरेको पाइएको छ ।
हातमा लगाउने ग्लोब निर्माण गर्दै आएको उक्त कम्पनिले प्रहरी प्रयोग गरेर नेपाली कामदारमाथि घेराबन्दीमा राखेको छ ।
नेपाली मजदुरका अनुसार डब्लुआरपीले श्रमिकलाई तलब नदिई खानाको टोकन मात्रै दिइराखेको छ ।
श्रमिकहरुको अवस्था बुझ्नका लागि श्रम सहचारीको टोली त्यसतर्फ प्रस्थान गरेको छ । उक्त स्थानमा आन्दोलनमा उत्रिएका मजदुरमाथि मलेशिया प्रहरीले कुटपीट समेत गरेको बताइएको छ ।
स्रोतका अनुसार केही दिनअघि ३ अर्ब ठगीको मुद्दामा सफाई पाएका मलेशिया भिएलएन नेपालका अध्यक्ष राम श्रेष्ठ र ठगीका अर्का अभियुक्त जिएसजीका अध्यक्ष गोविन्द थपलियाको सेटिङमा उनीहरु मलेशिया पुगेका थिए ।