काठमाडौं, १७ माघ । नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीले धादिङका प्रहरी प्रमुख उपरिक्षक डम्बर विकलाई ‘४ किलो नककली सुन प्रकरणमा नभाई’ नियमित प्रक्रिया अन्तर्गत सरुवा गरिएको बताएका छन् ।
‘हामीले नियमित प्रक्रियामा आधारमा सरुवा गरेका हौँ । प्रहरी आफैले आफ्नो पीर मर्का, मिसन लगायत माग रोको हुन्छ । उहाँले पनि त्यस्तै माग राख्नु भएको हुनसक्छ,’ प्रवक्ता सुवेदीले भने,‘४ किलो नक्कली सुनकै कारण उहाँलाई सरुवा गरिएको होइन । यो नियमित प्रक्रिया हो । अन्यको जस्तै उहाँको पनि नियमित सरुवा हो ।’
स्रोतका अनुसार धादिङ प्रहरी प्रमुख डम्बर विकले पुस १९ गते ४ किलो नक्कली सुन बरामद गर्नुभन्दा केही महिना अघिदेखि नै सरुवा मागेका थिए । ‘पारिवारीक कारण उहाँले पहिले देखि नै काठमाडौं आउन चाहानु भएको थियो,’ नेपाल प्रहरीको सरुवा बढुवा विभागका एक कर्मचारीले भने,‘उहाँलाई कुनै त्यस्तो छानबीन वा चार्ज लगाएर हटाइएको वा तानिएको होइन । उहाँको पारिवारिक कारणले नै काठमाडौं आउनु भएको हो । बाहिर आएका सबै हल्ला गलत हुन् ।’
गत पुस १९ गते धादिङ प्रहरीले ४ किलो नक्कली सुन बरामद गरि २० गते सार्वजनिक गरिएको थियो । सोही प्रकरणमा प्रहरीले ३ जना पुरुष सहित एक महिलालाई ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा राखेको छ ।