काठमाडौँ, माघ १२ । चीनका अधिकारीहरुले करिब १ सय ३९ नयाँ भाइरसहरु उत्पन्न भएको बताएका छन् । यसमध्य सबै भाइरसहर दुईदिनको अवधीमा पत्ता लागेको छ ।
कोरोना भाइरस चीनको वुहान शहर, बेइजिङ्ग र सेनजेँनमा भेटिएको थियो । भाइरसको प्रकोप फैलिँदा चीनमा करिब १३ सय जनाभन्दा बढी मानिसहरु यस भाइरसबाट संक्रमित भइसकेका छन् । हालसम्म यस भाइरसमार्फत श्वासप्रश्वास सम्बन्धीत रोग लागेर ४१ जनाले ज्यान गुमाइसकेका छन् । भाइरसका आक्रमणबाट मृत्यु हुनेमा डाक्टरसमेत रहेका छन् ।
ब्रिटेनका विशेषज्ञहरुले चीनमा त्यहाँका अधिकारीहरुले बताएभन्दा बढी संख्यामा कोरोना भाइरसबाट संक्रमित भएको बताएका छन् । त्यसैगरि विश्व स्वास्थ्य संगठनले यस भाइरसको प्रकोप निकै तिब्र गतिमा बढीरहेको बताएको छ । अत्यन्त सुक्ष्म तरिकाले परिक्षण गर्दा उक्त भाइरसबाट संक्रमित ब्यक्तिहरु दिनानुदिन बढीरहेको बताइएको छ ।
डिसेम्बर महिनामा चीनमा देखिएको उक्त भाइरस अब अन्य देशहरुमा समेत सरिसकेको छ । रिपोर्टअनुसार थाइल्याण्ड र जापानमा समेत एकएक जना संक्रमित भेटिएको बताइएको छ ।
के हो कोरोना भाइरस ?
शुरुवातमा रहस्यमय भाइरस भनिएको भएतापनी संक्रमित व्यक्तिहरुबाट नमुना संकलन गरि परिक्षण गर्दा उक्त भाइरस कोरोना भाइरस भएको पुष्टि भएको थियो । कोरोना भाइरस विभिन्न किसिमका हुन्छन्, यस भाइरसले संक्रमित व्यक्तिको ज्यान समेत लिन सक्ने खतरा रहेको छ ।

सार्स (सेभियर एक्यु रेस्पिरेटरी सिन्ड्रोम) नाम दिइएको कोरोना भाइरस निकै खतरनाक हुने अधिकारीहरुले बताएका छन् । यस भाइरसले अन्य भाइरसको तुलनामा दोस्रो व्यक्तिलाई संक्रमण गर्न सक्ने क्षमता निकै अधिक रहेको विश्लेषण गरिएको छ । सन् २००२ मा ८ हजार ९८ जना व्यक्तिमा सार्स कोरोनाभाईरस देखिएको थियो । त्यसमध्य ७ सय ७४ जनाको सोही भाइरसको कारण मृत्यु समेत भएको थियो ।
चीनको बुहान शहरका अधिकारीहरुले साताको अन्त्यमा यस भाइरसबाट थप एकजनाको निधन भएको थियो । योसहित मर्नेको संख्या तीन पुगेको हो । गत आइतबार राति वुहान शहरका १ सय ७० जना संक्रमित व्यक्तिहरुको उपचार चलिरहेको थियो जसमध्य ९ जनाको स्थिति गम्भिर रहेको बताइएको थियो ।
सोही समयमा सेनेजँनमा ६६ बर्षीय एक वृद्धमा कोरोनाभाइरसको लक्षण भेटिएको थियो । ती बृद्ध आफन्तलाई भेट्न वुहान गएको र त्यहाँबाट नै संक्रमित भएको तथ्य भेटियो । चीनको राष्ट्रिय स्वास्थ्य निर्देशनालयले यस भाइरसलाई सजिलै नियन्त्रणमा लिन सकिने बताउँदै आएको छ ।
कति खतरनाक छ कोरोनाभाइरस ?
कोरोना भाइरस संक्रमित व्यक्तिहरुमा ज्वरो र रुघाखोकीको लक्षण देखिन्छ । यसको असर गम्भिर भएमा मृत्यु सम्म हुन सक्छ । ‘नयाँ कोरोनाभाइरस देखिन थालेपछि हामीले यसको प्रभावको बारेमा अध्ययन गर्यौँ’, युनिभर्सिटी अफ एडिनबर्गका प्राध्यापक मार्क वुलहाउस भन्छन्,‘यस भाइरसलाई सामान्य रुघाखोकी र ज्वरोको रुपमा लिनु हुँदैन यसले ठुलो क्षति पुर्याउँछ ।’
कहाँबाट आयो कोरोनाभाइरस ?
हाल देखिएको कोरोनाभाइरस पहिलोपटक उत्पत्ती भएको हो । यो भाइरस एक प्रजातीबाट अर्को प्रजातीमा सजिलैसँग सर्न सक्छ । यस भाइरस जनावरहरुबाट सजिलैसँग मानिसमा सर्न सक्छ ।
संक्रमित व्यक्तिहरुलाई शुरुवातमा यस भाइरसले आक्रमण गरेको थाहै हुँदैन । परिक्षण गरिसकेपछि मात्र पत्ता लाग्ने चिकित्सकहरु बताउँछन् । सार्स नाम गरिएको भाइरस विरालो प्रजातीको एक जनावर बाट मानिसमा सरेको थियो ।

कोरोनाभाइरस जनावरबाट मानिसमा सर्ने देखिएपनि मानिसबाट मानिसमा पनि सर्न सक्ने अध्ययनले देखाएको छ । सामान्यतय, मानिसमा लाग्ने कोरोनाभाइरस संक्रमित व्यक्तिबाट अत्य व्यक्तिमा सर्ने माध्यमहरु निम्न छन् ः
–हावा (संक्रमितले खोक्दा वा हाँच्छिउ गर्दा हावामा गएका किटाणुहरुबाट)
–संक्रमितसँगको लसपस (छुँदा, हात मिलाउँदा, अंगालो मार्दा)
–कोरोनाभाइस रहेका वस्तुहरुबाट (त्यस्ता वस्तु छोएको हात नघोइएको अवस्थामा मुख, नाक, आँखाहरु छुँदा,कोट्याउँदा वा मिच्दा)
–संक्रमितका दिसाबाट ( दुर्लभ अवस्थामा)
कोरोनाभाइरसका लक्षणहरु
कोरोना भाइरस भनेको भाइरसहरुको एउटा ठूलो समूह हो, जसले रुघाखोकी लगायत श्वासप्रश्वाससम्बन्धी समस्याहरु गराउने गर्दछ । यसका लक्षणहरु सामान्यतः रुघाखोकीकै जस्तो हुने गर्छ तर कहिले काहीँ यो जटील भएर तल्लो श्वासप्रश्वास नलीमा संक्रमण गर्ने निमोनिया र बोङकाइटिस जस्ता अली जटील खालको संक्रमण पनि बन्न पुग्छ ।
यसका लक्षणहरुमा नाक बाट पानी बग्ने, खोकी लाग्ने, घाँटी खसखसाउने, टाउको दुख्ने, ज्वरो आउने रहेका छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुमा यस भाइरसको संक्रमण भएमा यस्ता यी लक्षण र विरामी धेरै दिनसम्म रहिरहने हुन्छ । रोग संग लड्ने क्षमता कम भएका ब्यक्तिहरुलाई कोरोनाभाइरस निकै घातक सावित हुन सक्छ । विशेष गरि बृद्धबृद्धा र बालबालिकाहरुलाई यसले क्षति पुर्याउन सक्छ ।

कोरोनाभाइरसबाट सुरक्षित हुने तरिका
– रुघाखोकी , निमोनिया र ज्वरो आएका व्यक्तिहरुबाट टाढा रहने
– फोहोर हातले आँखा, नाक र मुखमा नछुने
– साबुनपानीले हात धुने , हात धुँदा करिब २० सेकेण्डसम्म माडिरहने
– जनावर संग नजिक नहुने
नेपालमा असर
चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलन सुरु भएको कोरोना भाइरस अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया हुँदै अहिले नेपालसम्म आइपुगेको छ । नेपालमा भने कोराना भाइरसको परीक्षण उपलब्ध छैन। चीनको वुहानमा पीएचडी अध्ययनरत एकजनामा यसको संक्रमण देखिएको छ । नुमना परीक्षणका क्रममा उनमा कोराना भाइरस संक्रमणको भएको पुष्टि भयो। तर नमुना परिक्षण नसकिँदै बिरामीलाई डिस्चार्ज गरि घर पठाइएको थियो ।
नेपालमा देखिएको कोरोनाभाइरस खतरनाक किसिमको नभएको समेत बताइएको छ । सरकारले भने उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।
एजेन्सीहरुको सहयोगमा