काठमाडौं, १९ पुस । नियामक निकाय राष्ट्र बैंकको ढोकैमा रहेको बैंक हो– सांग्रिला डेभलपमेन्ट बैंक । तर, ढोकैमा रहेको बैंकको किर्तेधन्दामा भने राष्ट्र बैंक मौन छ ।
राष्ट्र बैंककै उच्च अधिकारीको मिलेमतोमा एउटा किर्ते मुल्यांकनका आधारमा भएको २० करोेडको ऋण घोटाला सेटल गरिएको तथ्य खुलेको छ ।
सर्वसाधरणको बचत तथा मौज्दातमा यो बैंकले ठूला किर्ते काण्ड मच्चाएको थियो । २०७५ साल कार्तिक १३ गते एउटा रहस्यमयी ऋण प्रबाहा भयो । बानेश्वरस्थित सांग्रिला डेभलपमेन्ट बैंककै घरबेटी रहेकी लक्ष्मि खड्काले सञ्चालन गरेको आरएन सप्लायर्सको नाममा १९ करोड ९० लाख रुपैयाँ ऋण दिइयो ।
बैंकले जुन धितोको आधारमा सप्लायर्सलाई ऋण दियो त्यो कमसल मात्रै थिएन । जग्गाको मुल्यांकन नै किर्ते गरेर ऋण दिएको पाइएको थियो । राष्ट्र बैंककै सुपरिवेक्षण टोलीले यो रहस्य पत्ता लगाएपनि हालसम्म कुनै कारबाही गरेको छैन ।
उक्त कर्जाको लागि बैंकले काठमाडौंको बत्तीसपुतलीमा रहेको २५ आना जग्गा धितो लिएको थियो । ऋणको लागि बैंक प्रतिआना जग्गाको बजार मूल्य एक करोड ६५ लाख रुपैयाँ कायम ग¥यो ।
जसअनुसार २५ आना जग्गाको मूल्य ३० करोड रुपैयाँ कायम गर्दै आरएन सप्लायर्सको नाममा १९ करोड ९० लाख रुपैयाँ कर्जा स्वीकृत गरियो । सामान्यतया बत्तिसपुतली भित्रको जग्गाको मुल्य त्यति महगो पर्दैन । प्रति आना ५५ देखि ८० लाख रुपैयाँ पर्ने उक्त जग्गाको मुल्यांकन बढाएर १ करोड ३५ लाख बनाइएको हो ।
राष्ट्र बैंकको सुपरिवेक्षण टोलीले अनुगमनका क्रममा ऋण लिने घरबेटी लक्ष्मि खड्काले नियमित किस्ता समेत नतिरेको फेला पारेको थियो ।
राष्ट्र बैंकका अधिकारी सामु सांग्रीला बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ सुयोग श्रेष्ठले झूटो बयान दिएर घटना मिलाउने प्रयास गरेका थिए । शुरुमा कारबाही अघि बढाएको राष्ट्र बैंक अहिले मिलेमतोमा सेटल गरेको छ ।
गल्ति सच्याउनुको सट्टा सिइओ श्रेष्ठले अर्को ठूलो बदमासी गरेको खुलेको थियो । उनले ऋण सल्टाउन नसकेपछि उक्त जग्गा रोक्का रहेकै अवस्थामा मालपोतसँगको सेटिङमा बेचविखन समेत गरेको खुलेको थियो ।
मालपोतमा रोक्का रहेकै अवस्थामा उक्त जग्गा लक्ष्मि खड्काको नामबाट दिलकुमार श्रेष्ठको नाममा विक्री भएको थियो ।
ऋणीले ऋण नतिरेसम्म मालपोतमा रहेको जग्गा फुकुवा नहुनेभएपनि सेटिङकै आधारमा विक्री गरेको देखिएको थियो । तर, नियामक निकाय राष्ट्र बैंकले यस्तो किर्ते धन्दामा समलग्न सिइओ श्रेष्ठलाई कारबाही गर्नुको सट्टा जोगाएको हो ।
सिइओ श्रेष्ठकै सिफारिसका आधारमा सेक्युर्ड हस्पिटालिटीलाई २०७६ साल पुस मसान्तमा बत्तिसपुतलीकै २५ आना जग्गा धितो राखेर थप २० करोड ऋण दिइएको छ । सर्वसाधरणको बचत मौज्दातमा बैंकको यो भन्दा ठूलो बदमासी केही नहुने बैंककै कर्मचारी बताउँछन् ।
त्यति मात्रै होइन बैंकले यसअघि घरबेटी खड्काको कम्पनि आरएन सप्लायर्सको नाममा १९ करोड २० लाख ऋण दिने कर्मचारीलाई भने कारबाही गरेर नाटक गरेको थियो । यद्धपी दिलकुमार श्रेष्ठलाई थप २० करोड ऋण दिन समलग्नहरुलाई भने सिईओ श्रेष्ठले जोगाएका थिए ।
कमसल धितो राखेर २० करोड ऋण लिने दिलकुमार श्रेष्ठले पनि बैंकलाई नियमित ऋण नतिरिदिएपछि बैंक झनै समस्याग्रस्त बनेको छ ।
यसरी कमसल धितोलाई बढी मूल्यांकन गरी कर्जा दिएका दर्जनौँ घटनामा नेपाल प्रहरीको सिआइबीले कारबाही गर्ने गरेको छ । किर्ते मुल्यांकन गरि ऋण प्रबाह गर्ने र बैंकलाई झण्डै ४० करोड घाटामा पुर्याउने सिइओ श्रेष्ठमाथि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले पक्राउ गरि कारबाही गर्नुपर्ने शेयर सदस्यहरुकै माग छ । हाल चुक्ता पुँजी दुई अर्ब ६० करोड ६६ लाख ४० हजार रुपैयाँ रहेको सांग्रिलाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३० अर्ब ५१ करोड ४३ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब आठ करोड ८७ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखाएको छ ।
यस अवधिमा बैंकले तीन करोड १५ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको उल्लेख गरेको छ । तर, ४० करोड रुपैयाँ घोटालापछि घाटा भएको घटना भने लुकाएको छ ।
राष्ट्र बैंकका उच्च अधिकारीकै मिलेमतोमा सांग्रीला बैंकमा भएको यो घोटालाको घटना लुकाएको स्रोतले जनाएको छ ।
सुन धितोमा किर्ते गरेको अभियोगमा सिआइबीले केही दिनअघि महालक्ष्मि विकास बैंकका कर्मचारीलाई पक्राउ गरेको थियो ।