Exclusive: डेढ खर्बको एनसेलद्वारा बिजुलीको १३ करोड ८० लाख रुपैयाँ तिर्न अटेरी ! (पत्रसहित)

दियो पोस्ट  

काठमाडौं, २३ पुस । २०७२ मा एनसेलमा रहेको ८० प्रतिशत स्वामित्व टेलियासोनेराबाट आजियटालाई विक्री गर्दा रु. १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख पुँजीगत लाभ गरेको निर्धारण थियो ।

एनसेलबाट वर्षमा अर्बौं डलर बाहिर गइरहेको छ । तर, खर्बौंको कारोबार गर्ने एनसेलले नेपाल विद्युत प्राधिकरणको पोखरास्थित लेखनाथ वितरण केन्द्रलाई १३ करोड ८० लाख रुपैयाँ भुक्तानी दिन भने अटेरी गरेको छ ।


नेपाल विद्युत प्राधिकरण, लेखनाथ वितरण केन्द्र, कास्कीको विद्युत महशुलवापत १३ करोड ८० लाख ७० हजार ७ सय ४५ रुपैयाँ नतिरेपछि प्राधिकरणले आइतबार बिहान १० बजेर ४६ मिनेट जाँदा लाइन काटिदिएको हो । तर, लाइन काटिएको ५ दिन वित्न लाग्दा समेत एनसेलले प्राधिकरणलाई भुक्तानी गर्न नआएपछि प्राधिकरण नेतृत्व आश्चर्यमा परेको छ । ‘उहाँहरुको ब्याकअप पनि सकियो होला ।

जेनेरेटर र ईन्भर्टरले मात्रै धान्ने भन्ने हुँदैन,’ प्राधिकरणका एक अधिकारीले भने,‘महिनाको अर्बौं डलर नेपालबाट लैजाने एनसेलका लागि यो रकम ठूलो होइन तर, यसलाई उहाँहरुले प्रतिष्ठाको विषय बनाउनुभएको छ ।’


प्राधिकरणको लेखनाथ वितरण केन्द्रका तर्फबाट प्रमुख परितोष कुमार चौधरीले एनसेललाई भुक्तानी गर्न नआएको भन्दै लाइट काटिएको पत्र पठाएका थिए । एनसेलका तर्फबाट भुवनेश्वर महतोले बुझेका थिए ।


एनसेलले विद्युत महशुल तिर्न अस्विकार गर्दै जिल्ला अदालत कास्र्कीमा मुद्दा दायर गरेको थियो । महशुल छुटको माग गर्दै जिल्ला अदालतमा अन्तरकालिन आदेश माग गरेपनि अदालतले अन्तरकालिन आदेश नदिएपछि वितरण केन्द्रले भुक्तानीका लागि पत्र काटेको हो ।
पुस १४ गते जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलाशले अन्तरकालिन आदेश जारी गर्नुनपर्ने आदेश दिएका थिए ।


विजुलीको बिल भुक्तानी गर्न अस्विकार गर्ने एनसेल पोखराका भुवनेश्वर महतोलाई सम्पर्क गर्दा उनले यस विषयमा आफूले कुनै जानकारी दिन नमिल्ने भन्दै हेड अफिसको नम्बरमा सम्पर्क गर्न सुझाव दिए ।


तर, एनसेलको हेडअफिसको नम्बरमा पटक पटक सम्पर्क गर्दा पनि फोन उठेन ।

TATA ADD