काठमाडौं, ६ माघ । नेपाली कांग्रेस धादिङका जिल्ला सभापति तथा बाल भविष्य संगठन नेपालका संस्थापक अध्यक्ष रमेश धमलाले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् ।
उनीमाथि उनकै निर्वाचन क्षेत्र निलकण्ठ नगरपालिका ९ पाल्पा घर भएकी शोभा अर्यालले आफ्नी छोरी रजनी अर्याल बेपत्ता बनाएको आरोप लगाएकी थिइन् । ‘छोरी रजनीलाई धर्म पुत्रको रुपमा सिएफओ नेपालले नेपालको सबै प्रक्रिया पुर्याएर धर्मसन्तानको रुपमा आजभन्दा १३ वर्षअघि जर्मन पुर्याएको हो,’ उनले भने,‘उनले जर्मनको नागरिकता पाएपछि नेपाल ल्याउने प्रक्रिया चलिरहेको थियो । कोरोना महामारीको कारण ल्याउन सकिएन । तर, अब छिट्टै ल्याउनका लागि म प्रयासरत छु । मैले वा म आबद्ध रहेको संस्था बाल भविष्य बाल संगठनले उनलाई बचेको भन्ने आरोप निराधार हो । हामीले पुण्यको काम गरेका हौँ ।’
धमलाले दियोपोस्टलाई शोभाकी छोरी रजनीलाई नेपाल ल्याउन भइरहेको प्रक्रियाको इमेल समेत उपलब्ध गराएका छन् । यद्धपी उक्त ईमेल कसलाई पठाइएको भन्ने विषयमा भने अन्यौलता छ ।
गत माघ २ गते दियोपोस्ट डटकममा ‘१३ वर्षदेखि छोरी ‘बेपत्ता’ : आमाको चित्कार,‘छोरी सम्झदा संसारै अध्याँरो हुन्छ’ शिर्षकको समाचार र भिडियो प्रकाशन तथा प्रशारण भएको थियो । त्यस्तै सोहिदिन धमलामाथि लागेको आरोपको सारांश समाचार समेत प्रकाशित भएको थियो ।
धमलाले रजनी बेचिएको भन्ने आरोप निराधार भएको समेत बताए । त्यस्तै उनले छोरी रजनीको जर्मनमा रहेको तस्विर समेत उपलब्ध गराएका छन् । जसमा उनी धर्म अभिभावकसँग पुलमा सामुहिक तस्विरमा देखिएकी छिन् ।
धमलाले उपलब्ध गराएको इमेलमा शोभाकी छोरी रजनी जर्मनमै कक्षा १२ मा अध्ययन गर्दै गरेको उल्लेख गरिएको छ ।
‘म जसरी हुन्छ नेपाल ल्याउन प्रत्यत्नरत छु । पहिलो चरणमा भच्र्युअल संवाद भएपनि म गराउँछु,’ धमलाले भने,‘रजनीकी आमाले भने जस्तो हामीले बालिका बेचेको छैन ।’