श्रम मन्त्री किसान श्रेष्ठको ‘पागलपन’ पत्रकार सम्मेलनमै ‘मानव तस्करसँग’ नाटकीय डिल !

दियो पोस्ट  

 

काठमाडौं । विहिबार श्रम श्रम मन्त्री किसान कुमार श्रेष्ठले भिजिट भिषामा दुबई पुगेर विचलीत भएपछि फर्किएका नेपालीलाई सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरे । उक्त पत्रकार सम्मेलन उनको फेसबुक पेजमा समेत लाइभ गरिएको थियो ।

त्रिनेत्र कन्सल्टेन्सी मार्फत दुबईमा रोजगारीका लागि भिजिट भिषामा पुगेर विचलित भएपछि फर्किएका नेपाली युवाहरु ‘दलाल’कै खर्चमा नेपाल फिर्ता भएका हुन् । तर, श्रम मन्त्री श्रेष्ठले उक्त कार्यक्रममा आफ्नो पहलमा नेपाली फिर्ता भएको भन्दै आत्म प्रशंसा गरेका थिए ।

‘त्रिनेत्र कन्सल्टेन्सी भन्नेले झूटा फेक डिमान्ड लेटर बनाएर सोझा साझा नेपाली दाजुभाईलाई ठग्ने प्रयास गरेको देखियो,’ मन्त्री श्रेष्ठले भने । जबकी नेपाली दाजु भाईहरु भिजिट भिषामा त्रिनेत्रबाट ठगिएर दुबई विचल्ली भएर पनि फर्किएका छन् । उनीहरु मन्त्रीकै सामु थिए । तर, मन्त्री श्रेष्ठले त्रिनेत्रले ठग्ने प्रयास मात्रै गरेको भनेर उन्मुक्ति दिने कोशिस गरेको स्पष्ट देखिएको छ ।

मन्त्री श्रेष्ठले बोलेपछि पीडितका तर्फबाट श्रीराम रानाभाटले आफू ठगिएको व्यथा सुनाएका थिए । उनीपछि अर्का एक पीडितले आफ्नो भनाई राख्दै थिए । त्यतिबेला नै मन्त्री श्रेष्ठको मोबाइलमा घण्टी बज्यो । ‘एक छिन है त्यसको फोन आयो,’ भन्दै मन्त्री श्रेष्ठ फोन उठाउन तिर लागे । ‘दाई नमस्ते,’ उताबाट यस्तो आवाज आउने वित्तिकै मन्त्री श्रेष्ठले भने,‘तपाईं छ नी राजन भाई १०÷१२ जना मात्रै तपाईंले पठाको छ । तपाईंको क्याम्पमा मात्रै १ सय १८ जना एकै ठाउँमा थियो । यहाँ अहिले एक सय २८ जना भन्ने भएको छ । एउटा के भन्दाखेरी तपाईंलाई मैले स्पष्ट भाई कि तपाईं गल्ति स्विकार्नुस् । कि चित्त बुझाएर काम लगाउनुस् । होइन भने छिटोभन्दा छिटो नेपाल पठाउने काम गर्नुस् । किन भने म आफै २÷४ दिन भित्रमा नेपाल प्रहरी लिएर आउँदैछु । दुबईमा छु भनेर सुरक्षित छु भनेर नसोच्नुस् है भाई । मेरो कुरा स्पष्ट छ । मेरो कुनैपनि तपाईंसँग जातिय दुष्मनी छैन । तर, नेपाली दाजुभाईलाई दुख दिनुभएको छ यो चाहीँ मैले छोड्दैन ।’

मन्त्री श्रेष्ठलाई दलाल कोमलराज उपाध्यायले क्याम्पको फोटो समेत पठाएको स्विकार गरेका छन् । मन्त्री श्रेष्ठले दलाल कोमलराज उपाध्यायका भाई दलालहरुलाई समेत चेतावनी दिन अह्राए । ‘तपाईं नबच्ने भएपछि एयरपोर्ट सेटिङवालालाई किन छोड्नु हुन्छ ? त्यो सबैकुरो पर्दाफास गर्नुपर्छ अब यहाँ,’ उनले दलाललाई फोनमै निर्देशन दिएका छन्,‘तपाईं उम्कनेवाला छैन । यो चाहीँ विचार गर्नुस् । अरु श्रम मन्त्री जस्तो होइन किसान श्रेष्ठ हो । धेरै कुरा म फिल्डमा आएपछि कसैले पनि तपाईंलाई जोगाउन सक्दैन ।’

मन्त्री श्रेष्ठले राजन भने पनि फोनमा बोल्ने व्यक्ति भने नेपालबाट भिजिट भिषामा दुबई मानव तस्करी गर्ने गिरोहका प्रमुख नाइके कोमलराज उपाध्याय थिए । ‘तपाईंले कति जना मान्छे नेपाल पठाउनु भयो भन्दै प्रश्न समेत गरेका छन् ।
‘तपाईंहरुलै पैसा कमाउनका लागि सोझा साझा नेपालाई लानु भयो त्यो ठीक छ । तर कुटपीट गर्नुभएको छ । यो त माफ गर्ने हिसाबको तपाईंको कुरा छ,’ मन्त्रीले भनेका छन्,‘य बाबा यहाँ भाईहरुले सुनाएको यीनीहरु बहुलाह हुन् ? पागल हुन् ?’

मन्त्री श्रेष्ठले नेपालीलाई ठगी गर्ने मानव तस्करलाई सहयोग समेत मागेका छन् । ‘तपाईंले सहयोग गर्नुस् । तपार्ईं इमान्दार हुनुस् । को दलाली हो । त्यसको नेमलिस्ट मलाई बेलुका मलाई पठाउनुस् बेलुका ह्वाट्स एपमा,’ प्रमुख मानव तस्करसँगै दलालको लिस्ट माग्दै मन्त्री श्रेष्ठले भनेका छन्,‘तपाईंले कति पैसा लिनु भएको छ यो गरिबहरुको पाइ पाइ पैसा फिर्ता दिनुपर्छ । कसरी फिर्ता लिनुपर्छ राम्रोसँग बुझेको छ यो किसान श्रेष्ठले ।’

मन्त्री श्रेष्ठ आफै पूर्व म्यानपावर व्यावसायी समेत हुन् ।

फोन राखेपछि मन्त्री श्रेष्ठले भनेका छन्,‘यो कोमलराज उपाध्याय हो । यो डराइराको छ । बल्ल त पाठायो मैले अलिकति प्रेसर दिएपछि..।’

भिजिट भिषामा उपाध्यायले मानव तस्करी गरेको विषयमा मन्त्री श्रेष्ठले सम्बन्धीत निकायलाई निर्देशन दिएर कारबाही अघि बढाउनुपर्ने हो । तर, श्रेष्ठले प्रत्यक्ष तस्करसँग डिल गर्नु आफैमा शंकाष्पद रहेको एक पूर्वसचिवले बताए ।

त्यसो त सरकारकै अन्य निकायले समेत छानबीन गरिरहेको विषयमा मन्त्री श्रेष्ठले आफै दलाल र मानव तस्करलाई सुचना दिएर उन्मुक्ति दिने कोशिस गरेको समेत स्पष्ट देखिन्छ ।