काठमाडौं । पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीअधिकारीलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ। पाकिस्तानको प्रहरी मुख्यालय नजिक रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मंगलवार उद्धारकर्ताले पुरिएका मानिसको खोजी गरेका थिए। सो क्रममा नौ जनालाई जीवितै फेला पारेका थिए। स्थानीय अधिकारीका अनुसार भग्नावशेषमा अब अरू कोही नफसेको बताएका छन्।
घटनामा परी २ सयभन्दा बढी मानिस घाइते भएका छन्।
पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले मृत्यु हुनेको संख्या सय पुगेको बताएका छन्।
त्यसैगरी २ सयभन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन्।
सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एपीलाई दिएको जानकारीअनुसार मृतकमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए। जसमध्ये ३ सयदेखि ४ सय जना मुख्यालय परिसरको मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए।
प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसो प्रार्थनाको समयमा आक्रमण भएको थियो। अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणका घटना लगातार बढिरहेको छ।