काठमाडौं । पाकिस्तानका मोहम्मद सामी खान दुबईस्थित स्प्रिङ वाटर कम्पनी म्यानेजर थिए । कम्पनिबाट सोचेअनुसार सेवासुविधा नपाएपछि उनले सो काम छाडे र पाकिस्तान फर्किए । पाकिस्तान फर्किएपछि उनी स्थानीय काममा नै व्यस्त हुन थाले । तर आम्दानी थिएन । एउटा वर्गका लागि संसारको जुनसुकै कुनामा पनि समस्या छ । त्यसैले उनीहरु विदेश भासिने सोच बनाउँछन् । उनले पनि क्यानडा जान चाहनेहरुको लागि विज्ञापन देखे ।
‘सामाजिक संजाल युट्युबमा पाकिस्तानी नागरिक ईमरानले बैदेशिक रोजगारको लागी क्यानाडा जान चाहनु हुन्छ भने सम्पर्क गर्नु भनी +९२३४९६३६०४९८ नं. पोष्ट गरेको देखेँ,’ उनले प्रहरीसँगको बयानमा भनेका छन् ।
विज्ञापनमा देखिएको सोही नंबरमा समी खानले फोन गरे । सो व्यक्तिले उनलाई एक महिनाभित्र क्यानडा लैजाने आश्वासन दिए ।
सम्पर्कमा आएको सो व्यक्तिले उनलाई एकमहिनाभित्र इरान हुँदै क्यानडा जानको लागि इरानको भिजा नलागेको भन्दै अर्का व्यक्तिको नम्बर दिए । क्यानडा लैजान्छ भनेपछि सामी खानले हतार नगरी +१९६०४०२८८७९५३ नंबरमा सम्पर्क गरे । ति व्यक्ति थिए– गुरजित सिंह । आफुलाई सिंह गुर बताउने गुरजितसँग सम्पर्कमा आएपछि खानको क्यानडा जाने सपना बढ्यो ।
गुरजीत सिंहले उनलाई इरानको बाटो हुँदै क्यानडा जान सुरक्षित नभएको भन्दै नेपाल आउन आग्रह गरे । सिंहले भनेझै सामी खानले २ लाख पाकिस्तानी नगद खर्च गरी ६ जनवरी २०२३ मा पाकिस्तानबाट दुबई हुँदै नेपाल ओर्लिए । उनी ठमेलस्थित कर्मा होटलमा दुई दिनसम्म बसे र गुरजित सिंहसँग सम्पर्क गरे । ‘होटेलको खोजी गर्दा ठमेलमा रहेको कर्मा होटेलमा गई २ दिन सम्म बसी सोही होटेलबाट गुरजित सिंहलाई सम्पर्क गर्दा तपाईंलाई मानिस लिनपठाएको छु भने,’ सामी खानले प्रहरीसँगको बयानमा भनेका छन्,‘८ जनवरीको दिन एक जना व्यक्ति ट्याक्सीमा आई कर्मा होटेलबाट मलाई अनजान ठाउँमा लगियो । त्यो ठाउँ बुढानिलकण्ठ नगरपालिकामा रहेछ पछि थाहा पाएँ ।’
बुढानिलकण्ठ नगरपालिका ४ स्थित जेम्स प्रधानको घरमा पहिलेदेखि नै पाकिस्तानका ३१ वर्षीय मोहम्मद फिदा हुसेन, २९ वर्षीय मोहम्मद रसिद र ३५ वर्षीय मोहम्मद अशिफ बस्दै आएका थिए । नौलो देशमा आफ्नै मुलुकका मान्छे भेट्दा सामी खान निकै खुसी देखिन्थे । तर उनको त्यो खुसी धेरैबेर टिक्न सकेन । सोही तिन पाकिस्तानीहरुको त्यो समुहले उनको राहदानी र मोबाइलको सिमकार्ड नियन्त्रणमा लिए उनको मुख बन्द गरे । ‘मेरो मोबाइल र राहदानी नियन्त्रणमा लिएर मलाई केही बोल्न कराउन नदिई मेरो साथमा रहेको छ हजार दिराम (नेपाली दुई लाख १० हजार) खोसे,’ सामीले प्रहरीसँगको बयानमा भनका छन्,‘मेरो पैसा लुटिएपछि गुरजित सिंहले मोहम्मद अशिफलाई फोन गरे र अशिलले मलाई क्यानडाको उडान आज रहेको जानकारी दिए ।’
तिनजना पाकिस्तानीहरुले सामी खानमाथि यातना दिन सुरु गरे । क्यानडाको उडान आज छ भन्दै पाकिस्तानस्थित कराँचीमा भएको व्यक्तिलाई पैसा बुझाउन भने । पाकिस्तानमा रहेको खान परिवारसँग फिरौती माग्न थाले । सामीका भाइलाई उनकै मोबाइलबाट फोन गरेर सुरुमा प्लेन उड्न लागेको आवाज सुनाए । क्यानडाको फ्लाइट सुरु हुन लागेको र अब ३० घन्टा मोबाइल अफ हुने भन्दै सामीलाई नै भाइसँग भन्न लगाए । भनेअनुसार नबताए मारिदिने धम्की दिए ।
त्यसको ठीक ३० घण्टापछि सामीका भाइलाई म्यासेज पठाएर ‘आफू (सामी) क्यानडा पुगेको र पैसा दिएपछि मात्र त्यहाँको अध्यागमनले प्रवेश दिने भएकाले ३० लाख पाकिस्तानी रुपैयाँ (करिब १७ लाख नेपाली) र २४ हजार युएई दिराम (करिब आठ लाख नेपाली) पाकिस्तानकै एक व्यक्तिलाई दिन’ भनियो । यसरी फिरौती असुलेपछि उनीहरूले २६ पुसमा सामीलाई ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा पु¥याई पाकिस्तान फर्कनु भन्दै फरार भए । तर सामीले न त पासपोर्ट पाए नत क्यानडा उडे । यसरी क्यानडा उड्ने सपना लिएर नेपाल आएका सामी खान पाकिस्तानकै अपराधीहरुको बन्धक बने ।
…
सिनामंगलमा अलपत्र परेपछी सामीले आफू अपराधीको चंगुलमा फसेको थाहा पाए र प्रहरी कहाँ हारगुहार गर्न पुगे र मौखिक रुपमा जाहेरी दिए । उनले आफुलाई क्यानाडा पठाईदिने भनी काठमाडौं बोलाई शरीर बन्धक बनाई नेपाली रुपैया २७ लाख रुपैयाँ फिरौती रकम लिएको भन्दै जाहेरी दिए ।
घटनाको अनुसन्धानपछि दुई दिनमै काठमाडौं अपराध अनुसन्धान कार्यालयले पाकिस्तानी नागरिकहरूलाई पक्राउ समेत गरे । ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैनले सामीको अपहरण गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सजिलै क्यानडा पठाउने भन्ने आश्वासनमा काठमाडौं ल्याएर अपहरण गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो । ह्वाट्सएपमा चिनजान भएकै आधारमा विश्वासमा पर्दा सामी फसेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन पाकिस्तानी करिब एक महिनाअघि नेपाल आएका थिए । उनीहरूले अपहरणकै योजनाअनुसार बुढानीलकण्ठमा घर भाडामा लिएको थिए । प्रहरीसँगको सोधपुछमा पाकिस्तानमा गुरजित सिंह रहेको र उनकै आग्रहमा आफूहरूले उनलाई भाडाको घरमा राखेको बताएका छन् । प्रहरीले गुरजित सिंहको विषयमा अनुसन्धान जारी राखेको छ ।