बुटवलस्थित भलाई कोषको निर्वाचनमा कांग्रेस भित्रै विद्रोह : पूर्वगृहमन्त्रीका भाईमाथि अपहरणको आरोप

खुमा वली  

बुटवल । बुटवलस्थित यातयात मजुदर तथा व्यावसायी भलाई कोषको निर्वाचनमा नेपाली कांग्रेस भित्र विद्रोही समुह खडा भएको छ । संस्थापन पक्षका रुपन्देही जिल्ला सभापति तथा पूर्वगृह तथा रक्षामन्त्री बालकृष्ण खाँणका भाई रामकृष्ण खाँणले आफ्ना नजिकका आसेपासेलाई मात्रै कोषको उम्मेदवार बनाएपछि विद्रोह भएको हो ।

उनको मनोमानी विरुद्ध पार्टी भित्रैबाट अध्यक्षमा दिल बहादुर थापाले उम्मेदवारी दिएका छन् । पार्टीको जिल्ला सभापति खाँणले एकलौटी गरेको र स्वार्थअनुसार एमालेसँग सहकार्य गरेपछि आफूले विद्रोह गरेको उनले दियोपोस्टलाई बताए ।

“लुम्बिनी सेक्टर हेर्ने भनेर प्रदेशले यसको सबै जिम्मेवारी मलाई दिएको हो । पूर्वअध्यक्ष भएको हिसाबले पनि मलाई खटाइएको थियो । तर जिल्ला सभापति रामकृष्ण खाँणजीले एमालेसँग मिलेर यसमा अव्यवहारिक ढंगले हस्ताक्षप गर्नु भयो । यो बखेडा उहाँले गर्नु भएको छ,” थापाले भने, “हामीले उम्मेदवार बनाएको व्यक्तिलाई २ दिनसम्म अपहरणगरि नवलपरासी हुँदै कपिलवस्तुसम्म लगेर आफ्नो फाइदाका लागि जवरजस्ती हस्ताक्षर गर्न लगाइयो ।

यो सँगसँगै हामीले बनाएको टिमका सदस्यहरुको घर–घरमा गएर डाराएर धम्काएर हस्ताक्षर गर्न लगाई आफ्नो टिममा ल्याइयो । सभातिज्यूले व्यक्तिगत स्वार्थका लागि आफ्नो मान्छे राख्नु भएको छ । तर यसको विरुद्धमा हाम्रो उम्मेदवारी हो ।”

थापाले २०४६ देखि २०५३ सालसम्म उक्त संस्थाको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । जिल्ला सभापति खाँण पूर्व गृहमन्त्री तथा कांगे्रस नेता बालकृण खाँणका सहोदर भाई समेत हुन् । उक्त निर्वाचन भोलि हुँदै छ ।

संस्थापन पक्ष अर्थात् सभापति खाँण समुहबाट अध्यक्षमा दिनेश फुल्ले, महासचिवमा योग गुरुङ, कोषाध्यक्षमा प्रकाश नेपालको उम्मेदवारी परेको छ भने, यता विद्रोही समूहबाट तीनवटा पदका लागि उम्मेदवारी उठाइएको छ । अध्यक्षमा थापा, महासचिवमा मुक्ति खरेल र कोषाध्यक्षमा चिरन पाण्डे रहेका छन् ।

विद्रोही समूहबाट कोषाध्यक्ष उम्मेदवार पाण्डेका अनुुुसार, संस्थापन पक्षको एकलौटी र निजी स्वार्थका कारण यो परिस्थिति सिर्जना भएको हो । उनले भने, “यो केन्द्रमै नभएको कुरा एमालसँग भागभण्डा गरेर निजी स्वार्थका कारण पार्टीभित्रैबाट प्रतिस्पर्धा गर्नु पर्ने भयो ।”
यो संस्था कुनै पार्टीको राजनीतिक अखडा नभई मजदुरहरुका भलाईका लागि भएको नेपाल यातायात मजदुर संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष कुमार केसिको भनाई छ ।

केसी यसअघि प्रदेश सभा सदस्यका उम्मेदवार समेत थिए । तर, उनलाई हराउन तत्कालिन गृहमन्त्री खाँणले एमालेसँग सहकार्य गरेको स्रोतको भनाई छ । रुपन्देहीमा बालकृष्ण खाँण र एमाले उपाध्यक्ष विष्णु पौडेलको अघोषित सहकार्य हुँदै आएको छ । गत मंसिर चारमा सम्पन्न निर्वाचनमा पनि खाँणले पौडेललाई सहयोग गरेको र पौडेलले खाँणलाई सहयोग गरेको चर्चा पार्टी भित्रै व्यापक छ ।

सम्बन्धित खबर