काठमाडौं । महालेखा परिक्षकको कार्यालयले सरकारले गरेका खर्चमाथि मितव्ययीता कायम गरि आर्थिक सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निभाउने गरेको छ ।
सरकारमाथि नै प्रश्न गर्नुपर्ने भएका कारण महालेखा परिक्षक समेत नैतिकवान हुुनुपर्ने आम बुझाई छ । हाल महालेखा परिक्षक रहेका टंकमणी शर्मा दंगालबारे खासै प्रश्न उठेको छैन । तर, उनको कार्यकाल अब सकिँदैछ ।
उनको कार्यकाल नसकिँदै उक्त पदमा विभिन्न शक्तिकेन्द्रले आँखा लगाउन थालेका छन् । केही विवाद र भ्रष्ट पूर्वसचिवहरुले समेत महालेखा परिक्षकको कुर्सीमा आँखा लगाएको खुलेको छ ।
नेपाल सरकारको सचिव पदबाट अवकास पाएका शिशिर कुमार ढुंगाना यतिबेला महालेखा परिक्षक बन्न दौडधुपमा लागेको खुलाशा भएको छ ।
राजश्व अनुसन्धान विभागदेखि अर्थमन्त्रालयकै राजश्व सचिव हुँदा विभिन्न विवादमा आएका ढुंगाना यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको फेरो समातेर महालेखा परिक्षक बन्न दौडधुपमा लागेको स्रोतको भनाई छ ।
ढुंगाना तत्कालिन अर्थसचिव रहँदा तत्कालिन अर्थमन्त्री विष्णु पौडेल र ओलीका विवादित आर्थिक सल्लाहाकार मोतिलाल दुगडसँग मिलेर आर्थिक लाभ लिएर हिमालयन रि ईन्सुरेन्सलाई लाइसेन्स दिएको र अर्बौंको व्यापार सुनिश्चित गरेको आरोप लागेको थियो ।
उनी विरुद्ध सोही प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । उजुरीबारे छानबीन नटुंगिदै उनी महालेखा परिक्षक जस्तो पदमा नियुक्त हुन दौडधुपमा लागेको उनी निकट स्रोतले बताएको छ ।
महालेखामा सक्षम महालेखा उप महालेखापरिक्षक रहँदा रहँदै उनीहरुलाई अन्याय गरि ढुंगानालाई नियुक्त गर्ने चलखेल चलिरहेको एक कर्मचारीले दियोपोस्टलाई बताए । हिमालयन रि नामक पुनर्विमा कम्पनी दर्ता गर्दा तीन अर्बभन्दा बढी रकम अवैध रुपमा संकलन गरिएको र तत्कालिन अर्थमन्त्री पौडेल, दुगड र ढुंगानाले बाँडचुढ गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।