काठमाडौं । आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपति को बन्ने भन्ने विषयमा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रसहितका दलहरु आन्तरिक गृहकार्यमा छन् ।
यता राष्ट्रपति निर्वाचनलाई लिएर सत्तागठबन्धनमा तिक्तता आउने र त्यसपछि नयाँ समिकरण बन्ने आंकलन समेत भइरहेको छ ।
यस्तो अवस्थामा कांग्रेस, माओवादी केन्द्रसहितका दलले साझा उम्मेदवारको रुपमा दमननाथ ढुंगानाको नाममा सहमति जुटाउने प्रयास गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साझा उम्मेदवारका रुपमा ढुंगानाको नाम सतहमा ल्याउने तयारी गरिरहेको चर्चा कांग्रेस भित्रै छ । तर, ढुंगानाको नाम चर्चामै रहेको बेला भारतीय विदेश सचिव विनय मोहन क्वात्राको नेपाल भ्रमणपछि नयाँ खेल शुरु भएको छ ।
एकैदिन विभिन्न उच्च तहका ६ जना व्यक्तिलाई भेटघाट गर्न भ्याएका विदेश सचिव क्वात्राले राष्ट्रपतिमा एक जना मधेशवादी दलका नेताको नाम लिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा तनावमा आएका छन् ।
साझा व्यक्तित्व र प्रचण्डले भने जस्तै सर्वमान्य व्यक्तित्वको रुपमा दमननाथ ढुंगानालाई अघि सारेका कांग्रेस सभापति देउवा यतिबेला निवासमै सघन छलफलमा जुटेका छन् । स्रोतका अनुसार क्वात्राले महन्त ठाकुरको नाम लिएपछि देउवालाई तनाव भएको हो ।
क्वात्राको भनाईपछि माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति समेत आएको थिया । उनले गठबन्धन लामो समयसम्म टिक्ने बताएका थिए । उनको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।