प्रचण्डले एमालेबाट राष्ट्रपतिमा ‘बादल’ भनेपछि केपी ओलीलाई तनाव, एमाले वृत्तमा तरंग !

दियो पोस्ट  

काठमाडौं । नेकपा एमाले र माओवादीबीचको सत्ता गठबन्धन पछिल्लो समय राष्ट्रपति पदलाई लिएर विघटनको संघारमा छ ।

गत पुस १० मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग ५५ पटक भन्दा बढी भेटवार्ता भइसकेको छ ।

कहिले खुमलटारस्थित प्रचण्ड निवासको छतमा त कहिले केपी ओली निवास बालकोटस्थित घरको छतमा जति घाम तापेपनि दुई नेताबीचको सम्बन्ध झनै चिसो बन्दै गइरहेको छ ।

गत माघ ७ मा सम्पन्न सभामुख निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ वा विद्या भट्टराई मध्ये एकको नाम सभामुख पदमा आउने आँकलन गरेका थिए ।

तर, ओलीले ठूला नेतालाई पञ्छाएर आफ्नै खल्तीको उम्मेदवार देवराज घिमिरेलाई अघि सारे । ‘उहाँको त्यो कदमपछि नै प्रचण्ड ओलीसँग झस्किनु भएको हो ।

ओलीले आफू प्रधानमन्त्री भएपछि राष्ट्रपतिसमेत पाउँदा सभामुख पनि आफ्नै कोटरीको हुने र भोली एकछत्र गर्नसक्ने आंकलन उहाँले गर्नुभएको छ,’ उनी निकट स्रोतले दियोपोस्टसँग भन्यो,‘यदि सभामुख निर्वाचनमा विश्वकर्मा वा गुरुङ मध्ये कसैको नाम आएको भए परिस्थिति यस्तो नहुन पनि सक्थ्यो ।’

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले केपी ओली समक्ष राष्ट्रपति सर्वमान्य व्यक्ति हुनुपर्ने अडान राखिरहेका छन् ।

तर, ओलीले भने आफूहरुले जसलाई भन्यो त्यसलाई समर्थन गर्नुपर्ने दाबी राखिरहेका छन् ।
केहीदिन अघिको भेटमा प्रधानमन्त्री प्रचण्डले एमालेकै उम्मेदवार हुने भएपनि ठीकै छ राम बहादुर थापा बादललाई अघि सार्नुस् हाम्रो समर्थन हुन्छ भनिदिएका थिए ।

प्रचण्डले बादलको नाम लिएपछि ओली क्रुद्ध बनेको स्रोत बताउँछ । प्रचण्डले बादलको नाम लिएपनि ओलीलाई पछिल्लो समय भारतीय पक्षले राष्ट्रपतिमा महन्त ठाकुरलाई समर्थन गर्न दबाव दिइरहेको छ ।

उनले निवासमै पुगेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रालाई राष्ट्रपति निर्वाचनमा एमालेको उम्मेदवारलाई छिमेकी समर्थन हुनुपर्ने माग अघि सारेका थिए ।

तर, क्वात्राले कांग्रेस सभापतिलाई भेटेरै ठाकुरलाई समर्थन गर्न दबाव दिएका थिए । क्वात्राको दबावपछि देउवा समेत तनावमा आएका छन् ।

क्वात्राले दबाव दिनुअघि देउवाले राष्ट्रपतिमा दमननाथ ढुंगानालाई अघि सार्ने तयारी गरेका थिए ।