काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंहले एसएसपीबाट डिआईजीमा बुढुवा गराएका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ । जन्ममितिमा १ वर्ष ६ महिना २४ दिन फरक परेको देखिन्छ ।
उनको सिटरोल र शैक्षिक योग्यतामा जन्ममिति २०२५प पौष १६ छ भने नागरिकतामा २०२४ जेठ २२ भएको प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखाना उल्लेख छ । जवकी उनले २०४२ जेठ २२ मा लिएको नागरिकतामा उनको उमेर १८ वर्ष लेखिएको छ ।
त्यसैगरी एआईजी दिवेश लोहनीको पनि जन्ममिति ६ महिना २६ दिन फरक भेटिएको खुलेको छ । उनको सिटरोलमा २०२४ अशोज २९ रहेको छ भने नागरिकतामा २०२५ वैशाख १५ तथा शैक्षिक योग्यतामा २०२४ अशोज १९ उल्लेख गरिएको छ ।
अर्का डिआईजी मोहन आचार्यको सिटरोल र शैक्षिक योग्यतामा २०२४ माघ १७ रहेको छ भने नागरिकतामा २०२४ साल मात्र उल्लेख गरिएको छ ।
डिआईजी मसउद आलम खाँको पनि ५ महिना १ दिन जन्ममिति फरक रहेको पाइएको छ । खाँको सिटरोलमा २०२५ मंसिर १२ रहेको छ भने नागरिकतामा २०२५ चैत १३ तथा शैक्षिक योग्यतामा २०२५ कात्तिक ११ उल्लेख गरिएको छ ।
त्यसैगरी डिआईजी श्यामलाल ज्ञवालीको पनि जन्ममिति ५ महिना ५ दिन फरक रहेको पाइएको छ । उनको सिटरोल र शैक्षिक योग्यतामा २०२५ भदौ २६ रहेको छ भने नागरिकतामा २०२४ चैत २१ उल्लेख छ ।
अर्का डिआईजी किरण बज्राचार्यको पनि जन्ममितिमा २९ दिन फरक भेटिएको छ । उनको सिटरोल र नागरिकतामा २०२५ पौष १६ उल्लेख छ भने शैक्षिक योग्यतामा २०२५ मंसिर १७ उल्लेख भएको पाइएको छ ।
उमेर झुक्याएको भन्दै डीआईजी सिंहविरुद्ध बागबजारका विश्वप्रकाश भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
डिआईजी सिंहको मात्र नभई अन्य अधिकारीहरुको पनि सेवा प्रवेश गर्दाको उमेर, नागरिकता र सिटरोलमा जन्ममिति फरक–फरक भेटिएपछि आईजीपी धिरजप्रताप सिंह कानुनी परामर्शमा जुटेको बताइएको छ ।
आधा दर्जन अधिकारीहरुको उमेर फरक देखिएपछि गृह सचिव विनोद प्रकाश सिंह पनि कानूनी परामर्शमा जुटेको बताइएको छ ।