ओखलढुंगा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका– २ स्थित श्री गणेश माध्यामिक विद्यालय ढुस्केका प्रधानाध्यापक योजेन्द्र प्रसाद धमलाले आफ्नै विद्यार्थीमाथि यौन दुरुपयोग गर्ने गरेको खुलाशा भएको छ । उनलाई बाल यौन दुरुपयोग आरोपमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
कक्षा ९ मा अध्ययनरत दुई जना छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय रामपुरले हिरासतमा राखेको हो । उनले विद्यार्थीलाई अध्यापन गराउने क्रममा संवेदनशील अङ्गहरूमा छुने लगायतका यौनजन्य अपराध गरेको विद्यार्थीका अभिभावकहरूले प्रहरी समक्ष बयान दिएका छन् ।
केहीदिन अगाडि पिडीत बालिकाहरूका अभिभावकहरूले उजुरी दिए पश्चात् प्रधानाध्यापक धमलालाई पक्राउ गरिएको जिप्रका ओखलढुंगाले जनाएको छ ।
दोषी शिक्षकमाथि कारबाही गर्नुको सट्टा विद्यालय प्रशासन र कर्मचारीहरु उनलाई उन्मुक्ति दिन खुलमखुल्ला विज्ञप्ति निकालेरै लागेका छन् । उक्त विज्ञप्तिमा विद्यालयको आधिकारीक छाप र दस्तखत समेत छैन ।
पिडीतका अभिभावकहरूले केही दिनदेखि विद्यालय घेराउ गरिरहेका छन् । सहायक प्रधानाध्यापक चोलेन्द्र प्रसाद दाहाल र व्यवस्थापन समितिका अध्यक्ष नेत्र कार्की पिडीत छात्राका बर्खिलापमा लागेका छन् । प्रहरीको छानबीनलाई प्रभावित पार्न विद्यालयको आधिकारिक छाप र सम्बन्धित अधिकारीको नाम नराखि पक्राउ परेको शिक्षकको पक्षमा विज्ञप्ति निकालेपछि अभिभावक थप आक्रोशित बनेका छन् ।