थाँक्रेमा प्रहरी निरिक्षककै संरक्षणमा अवैध खानीको रजाइँ : जनताको घरघरमा प्रहरी पठाएर धम्की !

- दियोपोस्ट  

धादिङ । स्थानिय बासीको पानीको मुहान र घरखेत नै जोखिममा पारेर संचालित कुमारी माता ढुंगा खानीको अवैध गतिविधिमा प्रहरीको संलग्नता खुलेको छ ।

धादिङको थाँक्रे गाउँपालिका ७ ठाडोखोलामा कुमारी माता रोडा ढुंगा उद्योगले स्थानिय चेपाङ बस्ती लगायत २ सय घर परिवारको थाँतथलो नै उठीबास लगाउने गरि उत्खनन् गरिहेको छ । गैरकानुनी उत्खनन् कार्यमा ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक डबल बहादुर बमको समेत संलग्नता रहेको स्थानियबासीले बताएका छन् ।

स्थानियबासीका अनुसार बमले खानीमा प्रहरी नै खटाएर खानी संचालकहरुको पक्षपोषण गर्ने र उत्खनन् कार्य गर्ने गरेको खुलेको छ ।

उनले प्रहरीको भ्यान नै पठाएर उत्खनन् गराइरहेको र अवरोध गर्ने स्थानीयलाई मुद्दा लगाएर थुन्ने सम्मको धम्की दिएका छन् ।

स्थानिय एक चेपाङ युवाका अनुसार खानी संचालकहरु मनोज सिग्देल, विश्व पन्त र उत्तम पन्तले प्रहरीलाई आर्थिक प्रभावमा पारेर खानी संचालन गरेका छन् ।

केहीदिन अघि प्रहरीको रोहबरमा ब्रेकर चलाएर ढुंगा उत्खनन् कार्य भइरहेपछि स्थानियबासीले प्रतिवाद गरेका थिए । त्यस क्रममा केही स्थानीयबासीलाई प्रहरीले कुटपीट समेत गरेको एक युवाले बताए ।
खानीले बस्ती नै जोखिममा पारेको र प्रशासन मौन रहेको विषयमा समाचार प्रकाशन भएपछि प्रहरी निरिक्षक बलमे स्थानिय जनताको घरघरमा प्रहरी पठाएर कसले समाचार दिएको भन्दै आतंक मच्चाएका छन् । स्थानिय उद्दव थापाको घरमै प्रहरी पुगेर समाचार किन दिएको भन्दै धम्की दिएको स्थानियको भनाई छ ।

प्रहरी निरिक्षक बमले सोधपुछका लागि प्रहरी कार्यालयमा उपस्थित गराउन खोजेको तर्क गरेर आफ्नो संलग्नता स्विकार गरे । दियोपोस्टले उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले खानी कानुनी रुपमा नै चलेको भन्दै खानी संचालकको पक्षमा समेत वकालत गरे । त्यति मात्रै होइन उनले खानी क्षेत्रमा सादा पोसाकमा प्रहरी कर्मचारी हुँ भन्दै अन्य व्यक्ति नै पुगेको भनेर सफेद झूट समेत बोलेका छन् ।

२०७७ पौष १५ गते तत्कालिन गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकले खानी बन्द गर्ने निर्णय गरेको थियो । स्थानिय जनताको कुलो, बाटो, खानेपानीको मुहान, ठाडो खोला र खेतीबारी समेत क्षति भएकाले उक्त क्षति समेत खानी संचालकले नै व्यहोर्नुपर्ने सहमतिमा उल्लेख थियो । सहमतिमा गाउँपालिका अध्यक्ष आचार्य, उपाध्यक्ष अम्बिका खतिवडा र खानी संचालकहरु समेत हस्ताक्षर गरेका थिए । विगत २ वर्षदेखि बन्द रहेको खानी गृहमन्त्रीमा रवी लामिछाने नियुक्त भएर आएपछि केही समय बन्द जस्तो गरेर फेरी खुलेको थियो ।

‘खानी संचालकहरुले माथिबाटै आदेशमा यो खुलेको भन्ने गरेका छन् । प्रहरीले पनि माथिको आदेश छ भन्दै हामीलाई नै धम्की दिइरहेका छन्,’ स्थानिय युवा भन्छन्,‘यहाँको जनतालाई उठीबास लगाउने गरि माथिको आदेश दिने कुन निकाय होला । हाम्रो जीवन भन्दा माथिको आदेश ठूलो हो ।’

प्रहरीले खानी संचालकलाई नै सहयोग गरेपछि स्थानियबासीले संगठीत रुपमै जिल्ला प्रशासन कार्यालय लगायत निकायमा गुहार मागेका छन् । तर, २ सय घर परिवारको जीवन धरापमा पार्ने खानीबारे सार्वजनिक संचार माध्यममा खबर आउँदा समेत जिल्ला प्रशासन कार्यालय थाहा नै नपाए जसरी मौन बसेको छ ।

 

एमाले नेताले चलाएको अवैध ढुंगा खानीले धादिङको थाँक्रेमा बस्ती नै जोखिममा, धान खेत भाँसियो !

दुई सय घर परिवारलाई त्रास देखाएर थाँक्रेमा अवैध ढुंगाखानीको आतंक : प्रशासन मौन !