काठमाडौँ, १२ फागुन । पछिल्लो समय काठमाडौँ उपत्यकामा विभिन्न बहाना बनाई ठगी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२÷७३ मा मात्र ११९ घटना महाशाखामा दर्ता भएको छ । त्योमध्ये डर देखाई ठगी गर्ने पाँच, कन्सल्टेन्सीमार्फत ठगी गर्ने ४३, पहेँलो धातु देखाई ठगी गर्ने तीन, बैंकिङ कसुर गर्ने पाँच, विदेश पठाइदिने भनी ठगी गर्ने आठ, सहकारीमार्फत ठगी गर्ने एक, जग्गा देखाई ठगी गर्ने छ, कालोबजारी गर्ने २८, पेट्रोल पम्प मिटर जडानमा अनियमित गर्ने १३ र सरकारी कीर्ते छाप दस्तखत गर्ने एकवटा रहेको छ ।
आव २०६९/७० मा ३७, आव २०७०/७१ मा ३५ र आव २०७१/७२ मा ९८ उजुरी परेकामा यो आवको ६ महिनाभित्रै ११९ उजुरी परेको हो । पछिल्लोपटक महाशाखाले गरेको अनुसन्धानमा सभासद् बनाइदिन्छु भनी ठगी गर्ने र सांसद गीता राणाको छोरालाई गिरफ्तार गरी पैसा उठाउने गिरोहलाई पक्राउ गरेको छ ।
महाशाखाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले कारबाहीको सफलताका कारण बढी घटनाको अनुसन्धान भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय ठगीको घटना धेरै पनि भएका छन् हामी निरन्तर अनुसन्धानका लागि निरन्तर लागेका छौँ ।” ठगीसम्बन्धी कानुनमा बिगो बमोजिमको धरौती र पाँचवर्षसम्म कैद हुने प्रावधान रहेको छ ।
महाशाखाका प्रवक्ता सहकुल थापाले मानिसको चेतनामा वृद्धि भएको र ठगी भएमा तुरुन्त प्रहरीलाई खबर गर्नुपर्छ भन्ने धारणाका कारण ठगीको धेरै उजुरी महाशाखामा आएको बताए । उनले ठगीमा परेका अधिकांश उजुरीलाई कानुनी कारबाहीमा ल्याएको दाबी गरे ।