काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार खेलेको आफ्नो दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको हो ।
यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।
नेपाली टोलीको जितमा ओपनर सीता रानामगरले अविजित ३२ रनको योगदान गरिन् । उनले ३७ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरिन् । रुबिना क्षेत्रीले पनि अविजित १७ रनको योगदान गरिन् । उनले २४ बलमा एक छक्का र एक चौका हिर्काइन् ।
ओपनर कविता कुँवर पाँच र कप्तान ईन्दू बर्मा एक रनमा पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । भुटानका बलर अञ्जु गुरुङ र अञ्जुली चालीले एक–एक विकेट हात पारेका थिए ।