पालिकालाई समुन्नत बनाउँन कसिएका ६९ वर्षे मान बहादुर राई : प्रधानपञ्च देखि गाउँपालिका अध्यक्षसम्म

४८ वर्षदेखि गाउँकै सेवामा

- ईश्वर विश्वकर्मा  

ताप्लेजुङ । ताप्लेजुङ्ग जिल्लाको पुर्वी भू–भागमा अवस्थित २०६ वर्ग कि.मी श्रेत्रफलमा फैलिएको सिदिङ्वा गाउँपालिका सिदिङवा देवी, सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको हो । साविकको कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्बुदिन, मेहेले, र सुरुमखिम गाविसलाई समेटी बनाइएको यस गाउँपालिकामा ७ वडा रहेको छ । कुल १२०९९ जनसंख्या रहेको पालिकाको मुख्य आयश्रोत कृषि, पशुपालन तथा जडीबुटी रहेको छ । धार्मिक स्थल तिम्बङ पोखरी र सुन्दर ढ्वाङढ्वाङे झरना रहेको यो गाउँपालिकामा धेरैभन्दा धेरै पर्यटकिय, जैविक, सास्कृतिक, धार्मिक, ऐतिहासिक स्थल छन् । साव्लाखु भञ्जयाङ केन्द्र रहेको यो गाउँपालिकाको केही वडा वाहेक सबै वडाहरुमा मोटरबाटो विस्तार भैसकेको छ ।

२०३२ सालको निर्वाचनमा वडाध्यक्ष बनेका मानबहादुर राई अहिले ६९ वर्षका छन् । २०३७ सालको जनमतसंग्रह पछि गाउँपञ्चाएतको उपप्रधानपञ्च बनेका राईले २०४३ सालको चुनावमा प्रधानपञ्च जितेर २ वर्ष ६ महिना काम गरेको अनुभव छ । राईले २ वर्ष ६ महिनाकाम गरेपछि नेपालमा बहुदल आएको थियो । बहुदलपछि राई पञ्चहरुको पार्टी राप्रपामा प्रवेश गरेसँगै २०४९ सालको चुनावमा १३ मतले पछाडि परेका थिए भने २०५४ सालको चुनावमा १९० मतले विजयहासिल गरि अध्यक्ष भएका थिए ।

मानबहादुर राई २०६४ सालमा नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेशसँगै २०७४ को स्थानीय तहकको निर्वाचनमा भाग लिएका राई १२३ मतले पछाडी परेको बताउँछन् । दोस्रो पटक २०७९को स्थानीय तहको चिर्वाचनमा ७०३ मत ल्याइ नेकपा एमालेबाट कोशि प्रदेशको ताप्लेजुङ्ग जिल्लामा पर्ने सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भई कार्यभार समालिरहेका छन् ।
राईको जीवन राजनीतिमै वितिसकेको छ । जिम्मेवारी धेरै छ । ५ वर्षमा आधा त सकियो आधा समयमा जनताको मनमनमा बस्ने खालको कामगर्नु छ अध्यक्ष मान बहादुर राईसँग दियोपोस्टका ईश्वर विश्वकर्माले गर्नुभएको टेलिफोन सम्वादः

सिदिङ्वा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि जनताका लागि गर्नु भएको पहिलो काम के होला ?
धेरै सुधार गरेका छौं । प्रत्यक्ष लाभ होस भनेर पहिलो प्राथमिकतामा बृद्धाहरुलाई राखिएको छ । प्रत्यक वडामा सडक पु¥याएका छौं । साथै विद्यालय सुधारका कार्यक्रम अघि सारेका छौं । विद्यालय शिक्षकहरुसँग छलफल गरेर विद्यालय सुधारको योजना अगाढी बढाएका छौं ।

गाउँपालिकाको विकासलाई कसरी बुझ्नु हुन्छ । विकसित बनाउन सबै पूर्वाधार छन त ?
प्रयाप्त मात्रामा सबै पूर्वाधार त छैनन । तर कसरी अगाढी बढ्ने भनेर योजनाबद्धरुपमा अगाडी बढिरहेका छौं । तर यो पालिका ताप्लेजुङको अति विकटमा पर्छ । र यो पालिका भारतको सिक्किम, चीनसँग सिमाना जोडिएको छ । यस पालिकामा केही धामहरु छन् । त्यसलाई संरक्षण गर्न सकिएको छैन् । यहा प्रसिद्ध तिर्थस्थत तिम्बुङ्ग पोखरी छ । त्यहा धेरै पर्यटक आउने गरेका छन् । सिदिङवा धाम, ढोङढोङ्गे झरना, चमेरे गुफालाई पर्यटकीए दृष्टिले अगाडी बढाउने काम भएको छ । तर स्रोत साधनको अभावले भनेजस्तो भएको छैन् ।
तिर्थस्थल तिम्बुङ पोखरी जाने बाटो लुन्थले भन्ने ठाउँसम्म पु¥याउन पाए त्यहादेखि पर्यटक ४ किलोमिटर त हिडेर पनि जाने थिए । सिदिङवा धामका लागि गाडीको बाटोपनि नजिक नजिक पु¥याएका छौं । ढोङढोङ्गे झरनाको लागि पनि हाम्रो ठेक्का पट्टा भएर काम अगाढी बढेको छ । चमेरे गुफामा पुग्नको लागि डेढ किलोमिटर जतिमात्र बाँकी रहेको छ । अन्य विकासका काम हामीले पालिकाले सक्दोरुपमा अगाढी बढाएका छौं । गाउँपालिकामा विकासको स्वरुप अनुरुपनै अगाढी बढेको अवस्था हो ।

स्वास्थ्य शिक्षामा त्यहाँका जनताको जीवनस्तर कस्तो छ नि ?
यस ठाउँको जनताको जिवनस्तर स्वास्थ्यमा पहिले भन्दा धेरै सुधार भएको छ । अझै धेरै राम्रो बनाउने प्रयासमा लागि परेका छौं । प्रत्येक वडामा सेवामुखी स्वास्थ्य चौकी स्थापना गरेका छौं । कालिखोला भन्ने ठाउँमा चाही दुईवटा स्वास्थ्य चौकी छ । किनकी अलि विकट ठाउँमा छ, त्यो वडा । अब हामीले पालिका नजिकको अस्पतालमा एमबीबीएस डाक्टर राख्ने योजना बनाएका छौं । छिटैनै यो योजना पुरा गर्ने छौं ।

कृषिमा सुधारको योजना कस्तो छ नी ?
यो पालिकामा कृषिमा धेरै लगानी गरेका छौं । तर कृषिबाट उब्जनी भएका सामाग्रीहरु लाई चाहीने बजार छैन् । त्यसकारण उब्जनी नगरे जस्तो भएको छ । आलु त्यतीकै उत्पादन हुन्छ । अलैँची, आदु, साग सब्जिदेखि लिएर सबै उत्पादन हुने भएकाले । कृषिबाट उत्पादन भएका वस्तुलाई बजारको खोजिमा हामी लागि परेको अवस्था हो । बजार नपाउँदासम्म यहाँका जनतालाई केही असुविधा भएको छ ।

स्थानीय तहले विकासको नाममा जथाभावी पर्यावरण ध्वस्त बनायो भन्छन नी ? त्यहाँको अवस्था कस्तो छ ?
तपाईले भने जस्तो त छैन् । तर कही कतै केहीमात्रामा भएको हाला । असारमा क्लोजिङ्ग हुने बेलामा ठेकेदारहरुले अलि चासो राखेर काम गर्ने र त्यतीखेरै बाढी पहिरो जाने भएकोले ध्वस्त हुने भएको होला । तर हामीले यो पालिकामा जेष्ठ महिनादेखि यस्ता खाले काम नगर्न र गराउन प्रतिबन्दनै गराउने निर्णय गरेका छौं । विपतका लागि त कस्को के लाग्छ र हुने भईहाल्छ । तरपनि क्षतीलाई न्युनिकरण गर्नको लागि हाही चनाखो भएर लागि परेका छौ. ।

उपभोक्ता समितिको आडमा आफ्ना मान्छे राखेर निर्माण तथा ठेक्काको कामहरु आफै गर्ने भनेर महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । के यो सत्य हो ?
यो सत्य हो भन्ने लाग्दैन । किनकी उपभोक्ता समितीले गर्ने काम चाही धेरै राम्रो हुन्छ । यसैका लागि हामीले टोल विकास गठन गरेका छौं । त्यही टोल विकासको निर्णयले गाउँमा हुने विकासका कामहरु अगाढी बढेका छन् । यो समितीमा उपभोक्ताले रुचाएको मानिसलाइ राखेका छौं । यसरीनै टोलको संरचना संचालन भएको पाउनु हुन्छ ।

स्थानीय तहको नदिजन्य पदार्थ उत्खनन गरेको पर्यावरण नस्ट पारेको आरोप छ नी ?
यस पालिकामा पर्णवरणनै नस्ट हुने अवस्था छैन् । तर हिमालको कुरा गर्ने हो भने त्यहा धेरै जडिबुटी पाईन्छ । संरक्षण गर्न नसकेको हुँदा दिउँदको बेला त्यसठाउँको जडिबुटी धेरे चोरीनिकासी हुने गरेको पाईन्छ । यो पालिका भारतको सिक्किमसँग सिमाना जोडिएकोले हामीले यस्ता खाले निकासीलाई लाई रोक्न सकेका छैनौ । सिमानाबाट हुने जडिबुटीको चोरी निकासीलाई रोक्न ३ वर्ष पहिलो सुरक्षा क्याम्प राख्नु परो भनेको थिए । खुसीको कुरो अहिले त्यस ठाउँमा सुरक्षा क्याम्प राख्नको लागि सर्बे भएको छ । अक केही समयपछि त्यहा सुरक्षा पोस्ट पनि बस्नेमा म ढुक्क छु ।
त्यस ठाउमा सुरक्षा पोस्ट बसेपछि जडिबुटी र बन्य जन्तुको पनि सुरक्षा हुन्छ । हप्तामा एकदिन हिमालको अनुगमन गर्दापनि सुरक्षा हुन्छ । यस विषयमा बारम्बार सीडीयो र सुरक्षा प्रमुखसँग बस्ता कुरा उठाएकोले अब केही समयपछि पुर्णता पाउछ ।

स्थानीय तहमा आर्थिक अनुशासन उलंघनका घटना धेरै हुने गरेका छन् भनिन्छ । सुशासन कायम गर्न कस्ता कार्ययोजना बनाउनु भएको छ ?
स्थानीय तहमा घोटालाको कुरा मैले सुनेको छु । त्यसकारण पनि मेरो पालिकामा आर्थिक समिति बनाएका छु । आर्थिकको विषयमा पालिका उपाध्यक्षले अनुगमन गर्नु हुन्छ । घोटालाको कुरा गर्दा मैले मेरा मातहतका कर्मचारीलाई भनेको छु । राम्रोसँग काम गर्नुहोला यस्ता अनियमितता गर्नु हुँदैन । सुविधा लिने सवालमा सोचौला घोटाला गर्नु हुँदैन मैले भनेको छु । त्यसै अनुरुप काम भएको छ । पालिकाको काममा समय तोकेर नगर्नुहोला किनकी जनताको लागि २४सै घण्टा खट्नु पर्छ । पालिका भनेको जनप्रतिनिधिको संस्था र अभिभावक भएकोले निरासा बनाउँनु हुँदैन भनेको छु । त्यसै अनुरुपनि काम भएको छ । मेरो पालिकामा कुनै पनि कर्मचारीले त्यस्तो उलंघन हुने काम गरेको पाउँनु हुन्न, म ठोकुवा गरेर भन्न सक्छु ।

स्थानीय तहको परिकल्पना अनुसार जनताले सेवासुविधा पाएका छन त ?
हामीले दिनुपर्ने सेवासुविधा यस गाउँपालिकाका जनताले पाएका छन् । अहिले सम्म पाएका छैनौ भनेर कुनै गुनासो आएको छैन् ।

प्रभावकारी र जनमुखी बनाउन के गर्नु भएको छ ?
यस पालिकामा बृद्धाहरुलाई संरक्षण गर्नेकाम अगाढी बढाएर गएका छौं । युवाहरुका लागि बृद्धि विकासका लागि पहल गरेका छौं । महिला/युवातीहरुलाई उनीहरुले जानेको शिपलाई सहयोग पुग्ने योजना बनाउँदै छौं । अब हुने बर्षे अधिवेसमा युवा लक्षित कार्ययोजना ल्याउने भनेर अगाढी बढेका छौं । वडा वडामा जनताका लागि कसरी सोरोजगार बनाउने भन्ने हो । हेरौ यो अधिवेशनमा केही नयाँ योजना आउछ ।

अन्तमा, पाँच वर्षे कार्यकालमा पालिकाका जनताले के पाउछन र के गुमाउने छन् ?
पाँच वर्षेकार्यकालमा पालिकालाई देशकै विकसीत र सुन्दर बनाउँछु भन्ने त कल्पनामात्रै हो । पाँच वर्षमा केनै गर्न सकिन्छ र ? तरपनि हामी कम्मर कसेर लागि परेका छौं । मेरा लागि त यीनै जनता हुन् । २०३२ सालदेखि यसै गाउँ गोरेटोमा हिडिरहेको छु । कयौ राजनीति परिवर्तन भएका छन् । तर म यसै पालिका सेरोफेरोमा घुमिरहेका छु । मेरा लागि म भन्दापनि यस पालिकाका जनता ठूला छन् । ६९ वर्षको उमेरमा पनि सुन्दर गाउँ बनाउँने ठूलो सपना लिएर हिडीरहेको तपाईले देख्नु नै हुन्छ । किनकी, यसै गाउँको वरपर घुम्दा घुम्दै, पञ्चायत, बहुदल र अहिले गणतन्त्र आएको छ । अझै म युवा सोसरह कुदिरहेको छु । तरपनि सिदिङ्वालाई पाँच वर्षमा केही समुन्नत बनाउन सकिन्छ की भन्ने लागेर ।

अन्तर्वार्ता :

सिफारिस